नेपालमा धर्मनिरपेक्षतासहितको मस्यौदा संविधान संविधानसभाबाट बाहिर निस्कनु र देशको एउटा प्रतिष्ठित संचार माध्यमबाट एक जना नेपाली हिन्दू सन्तका विषयमा समाचार शृंखला छापिनु महज संयोग नहुन सक्छ । मनमा यस्तो समाचार कहीँ हिन्दू आदोलनलाई कमजोर गर्ने दिशाको प्राथमिक कदम त होइन भन्ने द्विविधा बढेको छ । मुक्तिनाथ बाबा त केवल आरम्भ हुनसक्छन् ? नेपाली सञ्चारमाध्यमले नेपाल र नेपालीको माया गर्नेका पक्षमा समालोचनात्मक समाचार प्रेषित गर्न नसकेको लामो इतिहास छ ।
प्रसिद्ध योगी नरहरिनाथ तथा नेपाली इतिहासका अनुसन्धाता तथा लेखक पञ्चायतकालमा झन्डै जेल परेका थिए । स्वामी प्रपन्नाचार्यले देशको सेवा गर्दा गर्दै आफ्नो जिन्दगीको अन्तिम घडीहरू मृगस्थलीको चिसो छिँडीमा बिताइरहेका छन् । हाम्रो ध्यान त्यतातिर पुग्न सक्दैन, नजर पर्दैन । संविधानसभाको नाममा नेपालका ८४ प्रतिशत जनसंख्याको (हिन्दू) मानमर्दन गर्दै ल्याइएको धर्मनिरपेक्षता र धर्मपरिवर्तन गर्न सक्ने अधिकारसहितको संविधान मस्यौदाका विरुद्ध हिन्दूहरूले आन्दोलन गरिरहेको बेलामा हिन्दूत्वमा काम गरिरहेका नेपाली सन्तहरूलाई कमजोर पार्नेगरी समाचारहरू बन्नु दुःखद विषय र अचम्मको कुरा हो । समाचार त तिनको बन्नु पथ्र्याे जसले नेपालका ९४ दशमलव ५ प्रतिशत जनसंख्याको मानमर्दन गर्दै धर्मपरिवर्तन गर्न पाउन पर्ने वकालत गरिरहेका छन् ।
हामी नेपालीको दुर्भाग्य नै भन्नुपर्छ विदेशी बाबाहरू आदिका अगाडी लम्पसार परेर भजन गाउनेहरू नेपाली माटोलाई माया गरे ! बाबाजीहरूको पक्षमा कहिले देखिएनन् । नेपाली धर्मसंस्कृतिको माया गर्नेहरूको सवालमा केहीसञ्चार माध्यम अनुदार देखिए । एउटा संसार त्यागेको जोगीले जनकल्याणका लागि काम गर्दा भएको ‘मानवीय भूल’ सुधारको विषय हुन सक्छ, सुझावको विषय हुन सक्छ, आलोचनाको विषय हुन सक्छ तर चरित्रहत्याको विषय बन्न सक्दैन ।
प्रसंग उनै मुक्तिनाथ बाबाको हो । मैले व्यक्तिगत रूपमा मुक्तिनाथ बाबालाई चिनेको छैन न त उनले मलाई नै चिनेका छन् । एकपटक उनीसँग भेट भने अवश्य भएको थियो । त्यसबखत उनीसँग मैले हिन्दूत्व संरक्षणको सवालमा प्रश्न गरेको थिए । उनको सनातनधर्म र संस्कृतिप्रतिको सोचले मलाई प्रभावित परेको थियो । नेपालीपनप्रतिको उनको उद्गार र आस्थाले मलाई अभिभूत बनाएको थियो ।
उनी जोगी हुन् । जोगीको कुनै देश हुँदैन । उनले नेपाललाई आफ्नो देश ठाने । उनले जेजस्तो गरेका छन् सबै नेपालमा गरेका छन् र सबैले देख्ने र सुन्ने गरी गरेका छन् । नेपाल आमाको मूर्ति बनाउने प्रसंग होस् अथवा विश्वको सबैभन्दा ठूलो डमरु बनाउने प्रसंग नै किन नहोस्, नेपाल र नेपालीको गौरवसँग जोडिएका कुरा हुन् ।
मन्दिरहरू वैदिक संस्कृतिका संवाहक हुन् । बाबाले मन्दिर बनाएका छन् । गुरूकुलले हिन्दूआचरण सिकाउँछ, स्वामीले गुरूकुल खोलेका छन् । असलमा गुरुकुल सहरमा होइन, जंगल मै खोलिन्छन् । सरकारले बटुकहरूको जनैटुप्पी काट्ने, मन्दिर भत्काउने, संस्कृतका शिक्षकको विभत्स हत्या गर्नेलाई कानुनी दायरामा ल्याउन नसकिरहेको अवस्थामा बाबाले यसको संरक्षण गरेका छन् । विगतको सत्ताले प्रदान गरेको मौखिक वा लिखित सहमतिका आधारमा खडा गरिएका संरचनालाई अवैध वा कानुन विपरीत भन्ने हो भने धेरै धेरै कुराहरू फेर्नु पर्ने हुन्छ । यदि कसैले तत्कालीन सत्ताको सहमतिमा जंगल होस् वा सहरमा सामाजिक काम गरेको छ भने व्यक्ति विशेषलाई तारो बनाउनुको कुनै औचित्य छैन । मूलकुरा नियतिको हो यदि कसैले उपलब्ध सम्पत्तिको व्यक्तिगत प्रयोजनका लागि प्रयोग नगरी आफ्नो मौलिक धर्म र संस्कृति जोगाउने प्रयत्न गरेको भने एउटा प्रवुद्ध नेपालीले गर्व त्यसमा गर्नुपर्छ । व्यक्तिगत फाइदाको लागि सुकुम्वासीको नाम बेचेर राजनीतिक पार्टीका कार्यक्रताले कब्जा गरेको जंगलसँग यसको तुलना गर्न मिल्दैन ।
कमसेकम इसाइ मिसनरिज, मुस्लिम धर्म गुरू र आइएनजिओले मन्दिर बनाएर, गुरुकुल बनाएर, संस्कृत विद्यालय खोलेर नेपालको मौलिकता रक्षा गर्नेछन् भन्ने आशा गर्न सकिन्न । कुनै आइएनजिओले मन्दिर बनाएर, गुरुकुल बनाएर, संस्कृत विद्यालय खोलेर नेपालको मौलिकता सुरक्षित हुनेछ भन्ने हामीले परिकल्पना गर्न सक्दैनौँ । आज पनि विश्वको समस्त हिन्दू समाज मुक्तिनाथ बाबा जस्तै साधुसन्यासीबाट स्वधर्म रक्षाको आशा गर्छ, विश्वास गर्छ । केही विश्वासमा सुन भैmँ खरा निस्कन्छन् भनेकेही खोटा हुन्छन् ।
कसैको आलोचना गर्नुभन्दा पहिला निजले गरेका सकारात्मक कामहरूको लेखाजोखा गर्नु उचित हुन्छ । परम्परागत हिन्दू सामान्यतालाई चुनौति दिएर नेपाल मै पहिलो कन्यागुरुकुल खोले । कथितक्रान्तिकारीभन्दा अगाडि बढेर बालिकालाई वेद, भागवत पढाए । आध्यात्मिक क्षेत्रमा महिलालाई समानअधिकार स्थापित गर्ने प्रयत्न गरे । भागवत प्रवचनकार बनाए । यो काम कट्टरपन्थी हिन्दूपन्थीहरूका लागि स्वीकार्य हुने विषय होइन । हिन्दूसांस्कृतिक पक्षको आलोचना मात्र गर्ने नारीवादीहरू, मानवतावादीहरूले सुधारमुखी कार्यको प्रशंसा गर्नुपर्छ्र आलोचना गर्न सजिलो छ तर परम्परा, संस्कृति र धर्मको जगेर्ना गर्दै सामाजिक मान्यतामा परिवर्तन ल्याउनु सजिलो छैन । बिगार्न सजिलो हुन्छ, सपार्न गाह्रो ।
पश्चिमी नेपालको बाग्लुङ जिल्लाको एउटा विकट गाउँमा जन्मेर, बडो दुःखपूर्वक वृन्दावन, अयोध्या र बनारसमा संस्कृत अध्ययन गर्दै विद्यार्जन गर्दै आफ्नो बाल्यकाल बिताएपछि यिनले नेपाललाई आफ्नो कर्मभूमि बनाए । आपूले सिकेको आध्यात्मिक विद्याको लगानी नेपाल मै गरे । आफ्नो आध्यात्मिक शक्तिका आधारमा नेपालीको विस्वास जिते । आपूलाई आध्यात्मिक क्षेत्रमा स्थापित गरे । नेपाल मै आफ्नो आध्यात्मिक साम्राज्य खडा गरे । भारतमा अध्ययन गर्न गएका मध्ये केही भारतलाई नै आफ्नो कर्मभूमि बनाए । आचार्य बालकृष्ण, स्वामी टहल किशोर आदि त्यसका प्रतिनिधि पात्र हुन् ।
स्वामीले नेपाललाई माया गरेको देखेर डा.भोला रिजालजस्ता प्रसिद्ध व्यक्तिहरू उनीसँग जोडिएका होलान् । मिलेर स्वामीले वैदिक संस्कृतिको उत्थान गर्ने बाटो समाते । मुक्तिनाथसँग आफ्नो नाम जोडेर सरकारले अर्बां रुपैयाँ खर्च गरेर गर्न नसक्ने विज्ञापन सित्तैमा गरिदिए । भारतीय मात्र होइन, विश्वभरीका हिन्दूहरूले मुक्तिनाथको यात्री बने । मुक्तिनाथ चिनियो नेपालको गौरव बढ्यो । नेपालको गौरवभन्दा पनि गरिबीलाई समाचार बनाएर जिउनेहरूले यो मर्म बुभै कै छन् ।
यदि बाबाले सरकार वा आफ्ना निटकस्थ व्यक्तिहरूको सहयोगबाट मुक्तिनाथ जस्तो विकट ठाउँमा ‘धर्मशाला’ बनाएर गरिब तीर्थयात्रीका लागि आवास र भोजनको सुविधा दिइरहेका छन् भने त्रिवेणीको जंगलमा गुरुकुल खोलेर गरिब बटुकहरूलाई संस्कृति शिक्षा प्रदान गरिरहेका छन् । सरकारले गर्नुपर्ने काम बाबाको प्रेरणाबाट यिनका शिष्यहरूले गरे । बाग्लुङजस्तो विकट ठाउँमा आफ्नो देशको मौलिक संस्कृति र सन्दर्भ झल्किने काम गर्छु भन्नु र त्यस कार्यका लागि स्वदेशीविदेशी उद्योगीसँग सहकार्य गर्नु आलोचनाको विषय कसरी हुन सक्छ र ? हिन्दू धर्मको लागि काम गरिरहेका बालसन्त, आचार्य हरिशरण आदिले पनि यही काम गरिरहेका छन् र गरिरहनेछन् ।
अधिकांश हिन्दू सन्तहरूले आफ्नो धर्म र संस्कृति जोगाउनु पर्छ भन्ने विषयको वकालत गर्छन् । यसै अडानका कारण उनीहरू विदेशीसंस्था वा व्यक्तिहरूको लागि आँखाको कसिंगर बन्ने गर्छन् । प्रायोजित रूपमै विवादित बनाइन्छ । इसाइहरूले विदेशी इसाइसँग पैसा ल्याएर धर्मपरिवर्तन गराउने धन्दा गर्छन् । ०६३ पछि धर्मपरिवर्तन विरोधी कानुन हुँदाहुँदा पनि आठ लाख नेपालीको धर्मपरिवर्तन भयो, सम्बन्धित सञ्चारहरूको यस विषयमा ध्यान पुग्न आवश्यक देखिन्छ । भारतबाट आएका भारतीय बाबाहरू मात्र आध्यात्मका स्रोत हुँदैनन् । नेपाल आमाले पनि योगी नरहरिनाथ, प्रपन्नाचार्य (कालेराई) जस्ता विभूतिहरू जन्माएकी छन् । सञ्चार माध्यमले यो कुरा पनि बुझोस् । एउटा नेपालीको छोरोले आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न सहरबाट टाढा गएर, नेपालीहरूको विश्वास जितेर एउटा आश्रम बनाउँछ, गुरुकुल खोल्छ, जंगललाई मंगलमा परिणत गर्छ भने हामीले प्रशंसा गर्नुपर्छ ।
मैले बुझेअनुसार मुक्तिनाथ बाबा अविवाहित छन् । एउटा सन्यासीको पारिवारिक स्वार्थ हुँदैन । सन्यासीका केही स्वार्थ हुन्छन् जुन निजका कर्तव्यसँग जोडिएको हुन्छ । भगवानको भक्ति गर्ने र अर्कोलाई सिकाउने, गुरू बन्ने र गुरूहरू उत्पादन गर्ने र वैदिक संस्कृतिलाई जीवन्त उपक्रम गरे अर्थात् मन्दिर, गुरुकुल आदि बनाउने र सञ्चालन गर्ने । नेपालका अरू स्वामीहरूले पनि यही काम गरिरहेका छन् । अन्य धर्मावलम्बीहरूले पनि गरिरहेका छन् । यो अपराध होइन । अपराधी त ती हुन् जसले देशको मौलिक धर्म, संस्कृति तथा सभ्यतालाई मास्ने काम गरिरहेका छन् । सञ्चार जगतले तिनलाई नांगो बनाउन सक्नुपर्छ ।
अचम्म छ, केही स्वार्थी सञ्चारकर्मीका लागि इसाइहरूले पशुपति देवपतनमा चिहानको माग राख्नु, धरानका आसपासका जंगलहरू कब्जा गरेर चिहानहरू निर्माण गर्नु, चित्लाङमा गुम्बालाई आलु गोदाम बानाउनु, विदेशबाट अवैध रकम ल्याएर गाउँगाउँमा चर्चहरू खडा गर्ने काम गर्नु आपराधिक कार्य हुँदैन तर आफ्नो वैदिक संस्कृतिको सुरक्षा गर्न आफ्नै देशको जंगलको सानोभाग स्वीकृति लिएर आश्रम वा गुरुकुल बनाउनु अपराध हुन्छ ? यसको अर्थ अन्य धर्म र विश्वासप्रति अनुदार हुनुपर्छ भन्ने पक्कै होइन । मरेको मान्छे गाड्ने ठाउँ छैन भने सरकारले त्यसको व्यवस्था मिलाउनुपर्छ तर त्यो पशुपति मै हुनुपर्छ भन्ने पूर्वाग्रही सोचमा प्रहार गर्ने काम सञ्चारको दायित्वमा पर्छ जस्तो लाग्छ ।
हामीले के गरिरहेका छौँ, के लेखिरहेका छौँ, के बोलिरहेका छौँ भन्ने कुरा हाम्रो आफ्नो अन्तरात्माबाट लुक्न सक्दैन । आफ्नो कुराका साक्षी हुन हामी बाध्य छौँ । आफ्नो धर्म, संस्कृति र माटोलाई माया गर्ने मन भएको कारणले देशको माटोसँग जोडिएर काम गरिरहेका जोगीको आलोचनाले मन दुख्यो समालोचना भए खुसी लाग्थ्यो । काम गर्ने मान्छेबाट गल्ति हुन्छ, अल्छी वा कर्महीन मान्छेबाट असलकमसल कामको अपेक्षा गर्न सकिन्न ।
एउटा नेपाली नागरिकको रूपमा म जति धेरै सम्बन्धित नेपाली सञ्चारलाई माया गर्छु । त्योभन्दा बढी प्रेम नेपाली धर्म संस्कृति र हिन्दू धर्मको उत्थानका लागि काम गर्ने सन्तहरूमा गर्छु । तर, हालको परिस्थितिमा अमुक सञ्चारमाध्यमले म एउटा व्यक्ति विशेषलाई सञ्चारको विषय बनाउँदा आम नेपालीले प्रश्न गर्ने ठाउँ उब्जिएको छ कि आज आएर सम्वन्धित विषय (मुक्तिनाथ बाबाको काम) रिपोर्टिङको विषय कसरी बन्न पुग्यो ? मुक्तिनाथ, त्रिवेणी र छालिङमा दश वर्ष पहिले पनि आश्रम थिए, सम्बन्धित मिडिया पनि थियो, त्यस बेला किन समाचार बनेन र अहिले किन समाचार बन्यो ? प्रश्न त समाचार माध्यम सरकार दुवैसँग गर्न मिल्छ ।
नेपाली जनता हिन्दूराष्ट्रका पक्ष, धर्मनिरपेक्षताको विपक्षमा ध्रुविकृत भइरहेका बेला एउटा नेपाल र नेपालीहरूलाई माया गर्ने बाबा विरुद्ध ‘खोज रिपोर्टिङ’ प्रायोजित नै हुनुपर्छ भन्ने विषयमा शंका गर्ने ठाउँ दिएको छ । एउटा मुक्तिनाथ बाबालाई प्रतिनिधि बनाएर हिन्दूहरूको तेजोवध गर्न रचिएको प्रपञ्च हुन सक्छ भन्ने आशंकालाई बल मिल्छ ।
हरेक नागरिकले प्रचलित कानुनको पालन गर्नुपर्छ । न्यायविरुद्ध काम गर्ने र गराउनेसँग सहमत हुन सकिन्न । यदि स्वामीले साच्चिकै कानुन विपरीत काम गरेका छन् भने त्यसको छिनोफानो गर्ने निकाय सरकार र न्यायालय हो । अचानक एउटा हिन्दूसन्तका विषयमा प्रश्न उठाउँदा हिन्दूजगतमा आशंका बढेको छ । कहीँ यो प्रपोगन्डा हिन्दूहरूको तेजोवध गर्ने प्रपञ्च त होइन ?
अहिले नेपाल धर्मपरिवर्तनकारीको भुमरीमा रुल्मुलिएको छ । राजनीति छलछाममा व्यस्त छ । अस्वच्छ राजनीतिले गर्दा पुच्छरले हात्ती हल्लाउन थालेको छ । ८४ प्रतिशत हिन्दूहरू मिलेर पुच्छर हल्लाउन सकिरहेका छैनन् तर केही उग्रजातिवादी र धार्मिक समूहले (पुच्छर)ले हात्तीलाई हल्लाइरहेको छ । यस्तो अवस्थामा, सनातन धर्मका पक्षमा बस्ने एकज व्यक्ति पनि प्राणभैmँ महत्वपूर्ण हुन्छ । अहिले हामी हिन्दूहरू बहुमत भएर पनि आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेका छौँ । नकारात्मक सूचनाले हाम्रो आत्मबल घटाउने काम गरेको छ । देशका अधिकांश पढ्न जान्ने हिन्दूहरू व्यथित भएका छन्, आहत भएका छन् ।
हिन्दू संस्कृतिले कर्ममा विश्वास गर्छ । असल कर्म गर्नेहरूले असल फल प्राप्त गर्छन्, कमसल कर्म गर्नेले कमसल नै । यदि मुक्तिनाथ बाबाले गरेका कर्मको फल तिनले भोग्नैपर्छ । सत्य तीतो हुन्छ । धर्मनिरपेक्षता र सापेक्षताको प्रश्नबाट बाहिर रहेको नेपाली चेतनालाई अतिरन्जित गर्ने र त्यसका आधारमा धर्मप्रिय नेपाली नागरिकलाई अचानो बनाउनेहरू इतिहासमा अटाउने छैनन् ।
सल्लाहरू बढी भएको ठाउँलाई सल्लेरी भनिन्छ, सालहरू भएको जंगललाई सालघारी र बाँस भएको ठाउँलाई बाँसघारी । यदि ८४ प्रतिशत हिन्दू जनसंख्या भएको देशका हिन्दूहरूले नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भनिरहेका छन् भने यो नै प्राकृतिक न्यायको सिद्धान्त हो । कुनै पनि हिन्दूले साउदी अरब वा अमेरिकामा गएर हिन्दूराष्ट्र हुनुपर्यो भन्ने दाबी गर्दैन । तर, नेपालमा अचम्म छ, जो सबैभन्दा धार्मिक कट्टर छन् तिनैले धर्मनिरपेक्षताको लबी गर्दैछन् । लोकतन्त्रमा एक जना व्यक्तिको आवाज पनि सुनिनुपर्छ, सम्मान हुनुपर्छ तर अल्पमतका लागि बहुमतको तेजोवध हुनुहुँदैन ।
धर्म मान्ने वा नमान्ने सबै नेपालीको सम्मान हुनुपर्छ तर परम्परागत धर्म र संस्कृतिका सकारात्मक पक्षको विपक्षमा उभिनेहरू वा विनासको लागि उर्वरभूमि बन्नेहरूसँग संविधानले सम्झौता गर्नुहुँदैन । अहिलेको नेपाली राजनीतिक परिदृश्यले आफ्नो धर्म, संस्कृति र परम्पराका सवालमा आत्मसमर्पण गरेको छ । संविधान स्वीकृत भइहाले पनि चल्दैन भन्नका लागि उपरोक्त उदाहरण नै प्रयाप्त छ । कुरा मुक्तिनाथ बाबा अथवा समाचार विशेषको होइन, नियत र राष्ट्रिय स्वाभिमानको हो ।
अन्त्यमा, मुक्तिनाथ बाबासँग मेरो व्यक्तिगत मतभेद हुन सक्छ तर अहिलेको हिन्दूत्व विरोधी परिवेशमा जंगल(कब्जाको नाममा एउटा वैदिक धर्मका प्रवल पक्षधर र नेपाल र नेपालीलाई माया गर्ने युवासाधुको पक्षमा उभिन नसक्नु आत्मघात हुनेछ । नेपालका सबै हिन्दूहरू एकठाउँमा उभिनु जरूरी छ । सनातन हिन्दू धर्मको रक्षाका सवालमा हामी नेपालीहरू मुक्तिनाथ बाबाको पक्षमा हुनैपर्छ ।
प्रतिक्रिया