अहिले संविधानको पहिला मस्यौदा जनताको कठघरामा छ । यसमा जनताको मन्थन हुँदैछ । यो स्वाभाविक प्रक्रिया हो । अहिले जनताले आफ्ना धारणा दिन्छन् भने पछि जनताका प्रतिनिधिले हालको संविधानसभामा वा पछि व्यवस्थापिकामा आफ्नो धारणाबमोजिम संविधान संशोधनका लागि अधिकार पाएकै छन् । आ–आफ्ना विज्ञता र आवश्यकताअनुसार संविधानका बारेमा सुझाव आउँदैछन् र आउलान् ।
अहिले यो प्रसंगमा नेपाली नागरिकताका बारेमा केही लेख्नु जरुरी भएको छ । नेपाल भन्ने एउटा सार्वभौम सम्पन्न र ऐतिहासिक रूपमा कहिल्यै कसैको दासता स्वीकार नगरेको देशको रूपमा संसारभर प्रसिद्ध छ । तीन करोड पनि जनसंख्या नभएको तर दरिद्रतम मुलुकका रूपमा चित्रित छ ।
भौतिक विकासका लागि आफ्नो कारणले पछि परेको भए पनि संस्कृति र सभ्यताका लागि भने वैदिक परम्पराअनुसार भएकाले आफैँमा धनी छ, समृद्ध छ र अरू देशलार्ई सिकाउँदै आएको छ । बुद्ध धर्मको प्रणेता भगवान् सिद्धार्थ गौतम नै नेपालमा जन्मनुभएकाले यसबारेमा खासै भन्न जरुरी छैन । तर, नेपालमा नेपालीभन्दा बाहिरका मानिसलार्ई थुपार्ने प्रवृत्तिलार्ई अहिलेको नागरिकतासम्बन्धी प्रावधानले केही नियन्त्रण गर्नसक्ने भएकाले कोकोहोलो सुरु भएको छ ।
प्रस्तावित प्रावधान यस्तो छ, नयाँ संविधानको मस्यौदाको भाग २ मा नागरिकता सम्बन्धमा–
धारा १०. नागरिकताबाट वञ्चित नगरिने : (१) कुनै पनि नेपाली नागरिकलार्ई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन । (२) नेपालमा प्रादेशिक पहिचानसहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ ।
धारा ११. नेपालको नागरिक ठहर्ने : नेपालमा स्थायी बसोबास भएको देहायबमोजिमको व्यक्ति यस संविधानबमोजिम नेपालको नागरिक ठहर्नेछ :– (क) यो संविधान प्रारम्भ हुनुभन्दा अघि नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति, (ख) यो संविधान प्रारम्भ भएपछि नेपालको नागरिकता प्राप्त गर्ने व्यक्ति, (ग) धारा १२ बमोजिम नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्ति ।
धारा १२. वंशजको आधारमा नागरिकता : (१) नेपालमा स्थायी बसोबास भएको देहायबमोजिमको व्यक्तिलार्ई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ :– (क) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको आमा र बाबु नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति, (ख) कुनै व्यक्तिको नेपालमा जन्म हुँदाका बखत निजको आमा वा बाबुमध्ये एक नेपाली नागरिक रहेकोमा नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने त्यस्तो व्यक्ति, (२) उपधारा (१) बमोजिम वंशजको आधारमा नेपालको नागरिक ठहर्ने व्यक्ति र यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले निज बालिग भएपछि आमा वा बाबुको नामबाट वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ । (३) आमाबाबुको ठेगान नभएको नेपालभित्र फेला परेको प्रत्येक नाबालिग निजको आमा वा बाबु पत्ता नलागेसम्म वंशजको आधारमा नेपाली नागरिक मानिनेछ । (४) नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान नभएको व्यक्तिलार्ई वंशजको आधारमा नागरिकता प्रदान गरिनेछ । तर, बाबु विदेशी नागरिक भएको प्रमाणित भएमा त्यस्तो व्यक्तिको नागरिकता कानुनबमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ ।
धारा १३. अंगीकृत नागरिकतासम्बन्धी व्यवस्था : (१) यो संविधान प्रारम्भ भएपछि नेपाली नागरिकसँग बिहे गर्ने विदेशी पुरुषले वैवाहिक अंगीकृत नागरिकता लिन चाहेमा नेपालमा पन्ध्र वर्ष स्थायी बसोबास गरी विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाएमा कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।
(२) नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले नेपालको नागरिकता लिन चाहेमा निजले विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाएपछि कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ । (३) विदेशी नागरिकसँग बिहे भएको नेपाली नागरिकबाट नेपालमा जन्म भई नेपालमै स्थायी बसोबास गरेको र विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको स्वयं घोषणा गर्ने व्यक्तिले कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्नेछ ।
(४) यो संविधान प्रारम्भ भएपछि नेपालको आर्थिक वा सामाजिक उन्नतिमा विशेष योगदान पुर्याएको विदेशीलार्ई अन्य कुराका अतिरिक्त देहायका शर्त र अवस्था पूरा गरेको आधारमा प्रचलित कानुनबमोजिम नेपाल सरकारले नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सक्नेछ–
(क) नेपालको कुनै राष्ट्रभाषा बोल्न र लेख्न जानेको, (ख) नेपालमा कुनै व्यवसाय गरी बसेको, (ग) अन्य मुलुकको नागरिकता त्यागेको, (घ) कम्तीमा पन्ध्र वर्षसम्म नेपालमा कानुनी रूपमा बसोबास गरेको, (ङ) नेपाली नागरिकलार्ई अंगीकृत नागरिकता दिने कानुनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको र (च) असल चालचलन भएको । (५) उपधारा (४) बमोजिम प्रदान गरिएको अंगीकृत नागरिकतासम्बन्धी विवरण संघीय संसद्समक्ष प्रस्तुत गर्नुपर्नेछ ।
धारा १४. क्षेत्र गाभिदाको नागरिकता : नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा सो क्षेत्रभित्र बसोबास भएको व्यक्ति कानुनको अधीनमा रही नेपालको नागरिक हुनेछ ।
धारा १५. वंशीय आधार तथा लैंगिक पहिचानसहितको नागरिकता : प्रत्येक नागरिकलार्ई निजको आमा वा बाबुको वंशको आधारमा लैंगिक पहिचानसहितको नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिनेछ ।
धारा १६. नागरिकताको पुनः प्राप्ति ः नेपाली नागरिकता त्याग गरी विदेशी मुलुकको नागरिकता लिएको व्यक्तिले पुनः नेपालमा आई पाँच वर्ष बसोबास गरी विदेशी मुलुकको नागरिकता त्याग गरेमा पहिले जुन किसिमको नेपालको नागरिकता प्रदान गरिएको थियो निजलार्ई सोही किसिमको नागरिकता प्रदान गर्न सकिनेछ । तर, यो व्यवस्था धारा १३ को उपधारा (४) बमोजिम प्रदान गरिएको अंगीकृत नागरिकको हकमा लागू हुने छैन ।
धारा १७. सम्मानार्थ नागरिकता : नेपाल सरकारले नेपालप्रति सद्भाव राख्ने अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलार्ई नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सक्नेछ ।
धारा १८. नागरिकता समाप्त हुने : (१) देहायका अवस्थामा कुनै पनि व्यक्तिको नेपाली नागरिकता समाप्त हुनेछ :– (क) स्वेच्छाले नेपालको नागरिकता परित्याग गरेमा, (ख) अन्य मुलुकको नागरिकता प्राप्त गरेमा, (ग) यस भागमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै गैरनेपालीले नेपालको नागरिकता लिएको प्रमाणित भएमा ।
(२) नेपाली नागरिकता प्राप्त गर्न योग्यता पुगेको कुनै व्यक्ति अन्य मुलुकको पनि नागरिकता प्राप्त गर्न योग्य रहेछ भने त्यस्तो व्यक्तिले नागरिकता प्रमाणपत्र लिन योग्यता पुगेको दुई वर्षभित्र तथा नाबालिगको हकमा बालिग भएको मितिले पाँच वर्षभित्र नेपालको नागरिकता नरोजेमा त्यस्तो व्यक्ति नेपालको नागरिक कायम रहने छैन ।
१९. गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने : विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रभन्दा बाहिरका देशमा बसोबास गरेको नेपाली मूलको व्यक्तिलार्ई कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेछ ।
२०. नेपालको नागरिकतासम्बन्धी अन्य व्यवस्था : (१) झुटो विवरण वा बयान दिई वा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिने दिने वा सोको लागि सिफारिस गर्ने कार्य कानुनबमोजिम दण्डनीय हुनेछ । (२) प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकतासम्बन्धी अन्य व्यवस्था कानुनबमोजिम हुनेछ ।
उपर्युक्त व्यवस्थामा आवश्यक फेरबदल पछि पनि गर्न सकिन्छ । यसमा पनि सुधार गर्ने सुझाव आउन सक्छन् तर, अहिलेलार्ई यो नै प्रगतिशील सोचाइका रूपमा देखिन्छ । कुनै पनि देशको नागरिकले आफू त्यस देशको नागरिक भएकोमा गर्व गर्न सक्नुपर्दछ । तर, नेपालका यो एक दशकको अभ्यासमा नेपालप्रति नै घृणा फैलाउनेहरू निर्णायक ठाउँमा ढसमस्स बसेको देख्न पाइन्छ ।
संविधानसभामा सभासद् छन्, सभामा संविधान प्रस्तुत छ, जनताका घर–घरमा गएर संशोधनका लागि दबाब दिन सकिन्छ तर विदेशी राजदुतावासमा गएर नेपालका प्रस्तावित संविधामा फेरबदल गर्नका लागि गुहार्नु लाजमर्दो कुरा हो । यसलार्ई नेपाल र नेपालीप्रति घृणा फैलाउने दुस्प्रयास मान्नुपर्छ । संविधानको खेस्रा जलाउने अधिकार भएको देशमा संशोधन सभाबाट हुनसक्ने अवस्थामा किन अर्को देशको राजदुतावास चाहार्ने ? अनि राजदुतको हप्काइ खाएर लुरुक्क आउनुपर्दाको स्वाभिमान के भयो होला ?
नेपालको राष्ट्रियता भनेको नेपाली हुँ भन्नेले जोगाउने हो । नेपाली हुँ भन्नेमा पनि दिक्क मान्नेहरूले र नेपालको मौलिक पहिचानलार्ई स्वीकार गर्न नसक्नेले नेपालको अस्मिता जोगाउन सक्लान् ? प्रश्न गम्भीर छ ।
नागरिकता भनेको किनबेचको विषय होइन । यो भौतिक रूपमा आवश्यक र संवेदनशील सामग्री हो भने मानसिक रूपमा राष्ट्रियता हो । देशलार्ई अस्थिरतातर्फ धकेल्नका लागि कुनै पनि नागरिकले देशलार्ई नै बन्धक राख्ने कुरा सोच्न पनि सक्दैन । तर, अहिले नेपालको परिप्रेक्ष्यमा यस्तै भएको छ । वास्तविक नेपालीले नागरिकता नपाएको तर कृत्रिम व्यक्तिले सहजताका साथ नागरिकता र पासपोर्ट लिएको सुन्न र देख्न पाइन्छ । यो संवेदनशील कुरामा किन हेलचेक्र्याइँ हुँदैछ । बरु त्यस्तो कुरामा खासै दण्डनीय हिसाबले कडा कानुनी प्रावधान छैन ।
हाम्रो जस्तो संवेदनशील जनसंख्या गतिशीलता भएको विकट भौगोलिक राजनीतिक परिस्थितिलार्ई बेलैमा नियन्त्रणका उपाय सोचिएन भने र संविधानमै कडा र व्यावहारिक व्यवस्था गरिएन भने यही खुकुलो संवैधानिक प्रावधानले एक दिन नेपालीभन्दा गैरनेपालीको बाहुल्य भएर मुलुक झनै अस्थिरतातर्फ धकेलिनेछ । त्यसैले भएका प्रावधानलार्ई कडाइका साथ पालना गरी मुलुकमा अब कहिल्यै पनि कुनै नेपाली नागरिक नागरिकताको प्रमाणपत्रबाट वञ्चित पनि हुनु नपरोस् र गैरनेपाली संवैधानिक प्रावधानबाहेक कुनै प्रकारले पनि नेपाली हुन नपाओस् भन्ने कुरामा सचेत हुन जरुरी छ । नेपाली हामी रहुँला कहाँ नेपालै नरहे ।
प्रतिक्रिया