टहरामा बसेनन् भूकम्पपीडित

okhaldhungaओखलढुंगा, १६ असार । पहिरोको जोखिममा रहेका ओखलढुंगाको प्राप्चाका स्थानीय अस्थायी टहराको चाबी बुझेर पनि टहरामा बसेका छैनन् । प्राप्चा –८ र ९ केउरेनीका स्थानीय २० परिवारका एक सय नौ जनाका लागि निर्माण गरिएको टहराको चाबी ७ असारमा प्रमुख जिल्ला अधिकारी यादव सुवेदी र सभासद् यज्ञराज सुनुवारले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए ।

बस्तीबाट विस्थापित सबै परिवार अहिलेसम्म अस्थायी टहरामा बस्न नसकेको पाइएको छ । प्राप्चा– ३ देउरालीस्थित स्वास्थ्यचौकीअगाडिको सार्वजनिक स्थानमा निर्मित सामूहिक अस्थायी टहरामा छ दिनपछि चार परिवार बस्न आए पनि अन्य आएका छैनन् ।
मानिसका लागि सरकारले टहरा बनाइदिए पनि गाईवस्तु बाध्ने गोठ नभएकाले टहरामा बस्न आउनै गाह्रो भएको मेखबहादुर विकले बताए । ‘११ जनाको परिवार छ । सरकारले दिएको एककोठे टहरोमा अटाउनै मुस्किल पर्छ, वस्तुभाउ कहाँ बाँध्नु ?’ मेखबहादुर समस्या बताउँछन् ।
टहराका लागि दैवीप्रकोप उद्धार समितिबाट सात बन्डल जस्तापाता प्राप्त भएको, गाविसले तीन लाख खर्चेको र राजनीतिक दलका स्वयंसेवक तथा स्थानीयको श्रमदानबाट टहरा निर्माण गरिएको हो । प्राप्चा केउरेनीको मात्रै ४८ परिवार पहिराको जोखिममा छन् । अधिकांशले गाउ“देखि पारिपट्टी चित्राको बार लगाएर अस्थायी बसोबास गर्दै आएका गाविस सचिव गीता नेपालले बताए । शिविरमा राख्ने भनिएका सबै २० परिवार केही दिनभित्र बसिसक्ने उनले बताउँछन् ।
जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पपछि जिल्लाको विभिन्न गाविसका पहिराको जोखिममा परेका २९ स्थानका स्थानीयलाई स्थानान्तरण गर्नुपर्ने जनाएको छ । तर, अधिकांश स्थानमा स्थानान्तरण गर्ने काम गाह्रो भएको बताइएको छ ।
स्थानियस्तरकै सुरक्षित स्थानमा जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न गाविस सचिवमार्फत स्थानीय संयन्त्रलाई निर्देशन दिएको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
स्थानीयहरूका अनुसार जिल्लाका विभिन्न गाविसका बस्तीमा यतिबेला पहिरो गइरहेको छ । भूकम्पले धाँजा फाटेको जमिन वर्षासँगै भासिने, सर्ने र पहिरो झर्ने गरेपछि जोखिमयुक्त क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

प्रतिक्रिया