काठमाडौं, १० असार । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष तथा सभासद् गणेश थापाले स्व.ललितकृष्ण श्रेष्ठको परिवारलाई एन्फाले जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको भन्दै श्रेष्ठको स्मृतिमा हरेक वर्ष ललितकृष्ण श्रेष्ठ स्मृति युवा फुटबल प्रतियोगिता सञ्चालन गर्ने बताएका छन् ।
स्व.ललितकृष्ण श्रेष्ठको १३औँ दिनको पुण्यतिथिमा एन्फाले बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना गरेको कार्यक्रममा थापाले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । श्रेष्ठको परिवारमा जस्तोसुकै समस्या आए पनि एन्फा सहयोगमा सधैँ तत्पर रहने पनि प्रतिबद्धता व्यक्त गरे ललितकृष्ण श्रेष्ठले नेपाली फुटबलमा पु¥याएको योगदानलाई भुल्न नसकिने भन्दै उनकै सम्झनामा प्रतियोगिताहरू आयोजना गरेर उनलाई सधैँ सम्झन सकिनेछ । यो हरेक वर्ष आयोजना गर्नका लागि गृहकार्य थालिसकेका छौँ । उनले भने, ‘भूकम्पका कारण खेल्ने मैदानहरूको पुरै पुनर्निर्माण भएपछि ६÷७ महिनाभित्र प्रतियोगिताको आयोजना गरिनेछ । अझै पनि मलाई श्रेष्ठको निधन भएको हो भन्ने विश्वास लागेको छैन तर यो सत्य हो । ललितसँग २५÷३० वर्ष सहकार्य स्मरण गर्दाको उनको कार्यको प्रशंसा गर्दै उनको निधनले नेपाली फुटबलमा अपूरणीय क्षति भएको बताए । ‘ललितजस्ता मान्छे नेपाली फुटबलमा आउन सक्ने भए पनि तर त्यो क्षमता कसैमा मैले देखेको छैन,’ थापाले भने, ‘म आँफै निलम्बन वा स्वेच्छाले फुटबलको गतिविधिबाट अलग भएको अवस्थामा उनैले धोका दिएर गए । मेरो अबको अवस्था जे जस्तो आए पनि मैले श्रेष्ठलाई नेतृत्व हस्तान्तरण गर्ने तयारी गरिरहेको थिएँ तर त्यो पूरा हुन पाएन ।’ थापाले विधिविधान र कानुनभन्दा माथि कोही पनि रहन नसक्ने भन्दै जोकसैले पनि गलत क्रियाकलाप गर्छ भने त्यसलाई संरक्षण गरेर राख्न नहुने पनि बताए । म आँफैलाई पनि त्यस्तो किसिमको आरोपहरू लगिरहेको छ । यदि मैले कुनै गल्ती गरेको भए म पत्रकार सम्मेलन गरेरै ‘मैले यस्तो गल्ती गरेको रै’छु’ भन्ने बताउने थापाले बताए ।
यस्तै एन्फाका सदस्य नरेन्द्र श्रेष्ठले १५ वर्षसम्म उनीसँग कार्य गरेको अनुभव सुनाउँदै मिलनसार र कसैसँग नरिसाउने मिजासिला स्वभावका श्रेष्ठ सधँै नेपाली फुटबलको बारेमा चिन्तित हुने र जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि काम गर्न सकने व्यक्ति भएकोे बताए । यस्तै श्रेष्ठका धर्मपत्नी निलु श्रेष्ठले भनिन्, ‘मैले श्रीमान् गुमाए । छोरा–छोरीले मायालु बुबा गुमाए । आमाले छोरा गुमाए । यस्तो गह्रौँ परिस्थितिमा विभिन्न व्यक्तित्वहरूको उपस्थिति देख्दा नेपाली फुटबलले पनि ठुलै मान्छे गुमाएको अनुभव गरेको छु । यस्तो परिस्थतिमा पनि एन्फाले सहयोग गरेकोमा धेरै धेरै धन्यवाद दिन चहान्छु ।’
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै फिफाका विकास निर्देशक सजी प्रभाकरनले ललितसँग दिल्लीमा भएको प्रतियोगिता दौरान पहिलो भेट भएको बताए । नेपाली फुटबल र थ्रीस्टार क्लबलाई छुट्टै पहिचान दिन सफल नेतृत्वको निधनले नेपाली फुटबललाई ठूलो क्षति भएको बताए ।
कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त निमित्त सदस्यसचिव शकुन्तला नगरकोटी, पूर्वसदस्य–सचिव युवराज लामा, राखेपका पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, उपाध्यक्ष लामा टेन्डी शेर्पा, मेघा बैंकका अनिल शाह, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा ओलम्पियन दीपक विष्ट र जिल्ला फुटबल संघको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष वीरबहादुर खड्काले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
पछिल्लो समय एन्फाका अध्यक्ष गणेश थापाविरुद्ध भ्रष्टाचारको मुद्दा लागेपछि श्रेष्ठले गत वर्षको कात्तिकबाट एन्फाको कार्यवाहक अध्यक्षको रूपमा कार्यभार सम्हालेका थिए । समय कार्यवाहकको रूपमा रहे पनि श्रेष्ठले नेपाली फुटबल व्यवस्थापनमा थुप्रै कार्यहरू गरेका थिए । राष्ट्रिय टोलीको खेलाडी छनोट, एन्फा एकेडेमी, एन्फामा सिस्टम र एन्फाको भवन निर्माणलगायत सबै श्रेष्ठले नै हेर्दै आएका थिए । वि.सं. २०२२ मा जन्मिएका श्रेष्ठ युवा अवस्थामा पनि उत्कृष्ट खेलाडी थिए । तर, श्रेष्ठले घुँडाको चोटका कारण लामो समय खेल्न सकेनन् । फुटबल खेल्न छाडे लगत्तै श्रेष्ठ फुटबल व्यवस्थापनमा लागे । श्रेष्ठले ३० वर्ष फुटबलको विभिन्न क्षेत्रमा श्रेष्ठ सक्रियपूर्वक बिताए । आधुनिक नेपाली फुटबलमा क्लब फुटबल उकास्नु र यसमा व्यावसायिकता प्रवेश गराउनुको श्रेय श्रेष्ठलाई नै जान्छ । उनी रुस्लान थ्रीस्टारका अध्यक्ष पनि हुन् । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।
४९ वर्षीय श्रेष्ठको निधन गत जेठ २९ गते राति भैँसेपाटीस्थित पूर्णरूपमा तयार नभएको नयाँ घरमा करेन्ट लागेर भएको थियो ।
ललितको श्रद्धाञ्जली ताप्लेजुङमा
ताप्लेजुङ । ताप्लेजुङ–अखिल नेपाल फुटबल संघ (एन्फा) ताप्लेजुङले एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा बुधबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । श्रेष्ठको निधन भएको तेह्रौँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको एन्फा ताप्लेजुङले जनाएको छ ।
श्रेष्ठको निधनले सिंगो फुटबलजगत्मा अपुरणीय क्षति पुगेको भन्दै अखिल नेपाल फुटबल संघका (एन्फा) तप्लेजुङका अध्यक्ष मोतीकुमार पतंवाले श्रेष्ठको आत्माको चिरशान्तिको कामना गरेका छन् । स्व. श्रेष्ठले फुटबल खेलको विकाशमा अतुलनीय योगदान गरेको भन्दै उनलाई खेलप्रेमीहरूले बिर्सन नसकिने पनि उनले बताए ।
श्रद्धाञ्जली सभामा बोल्दै लाखेजात्रा खेलकुद सञ्चालन समितिका अध्यक्ष युगराज गुरुङले श्रेष्ठको असमायिक निधनप्रति दुःख व्यक्त गर्दै १३ दिनसम्म जिल्लामा आयोजित खेलकुदका कार्यक्रम तथा गतिविधि सञ्चालन नगरिएको जानकारी दिए । (सौस)
प्रतिक्रिया