दक्षिण कोरियामा मर्सको सङ्क्रमण बढ्यो

Koreanसोल, २५ जेठ । दक्षिण कोरियामा सोमबार यसअघिका तुलनामा सबैभन्दा धेरै नागरिकको मर्सको सङ्क्रमणबाट निधन भएको समाचारमा जनाइएको छ ।

सोमबारसम्ममा यसको सङ्क्रमणबाट सङ्क्रमितमध्ये छ जनाको ज्यान गएको छ । दक्षिण कोरियामा मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम नामको एक भाइरसको सङ्क्रमणबाट कयौँको ज्यान गएको छ ।

दुई हप्ता यतामात्र देखिएको सो सङ्क्रमणका कारण त्यहाँको जनजिवनलाई निकै नै प्रभावित तुल्याइसकेको बताइएको छ ।

दुई हप्ताअघिमात्र चारजनामा यसको सङ्क्रमण देखिएको थियो । तर आजसम्म आइपुग्दा यसबाट सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि ८७ पुगेको छ ।

उता अर्काे एक समाचारअनुसार सोमबार मात्र यसका २३ जना बिरामी भेटिएका छन् । एकैदिन यति ठूलो सङ्ख्यामा बिरामी फेला परेको यो पहिलो पटक हो ।

यो सङ्क्रमणले दक्षिण कोरियामा आतङ्क सिर्जना गरेको छ । यस सङ्क्रमणको त्रास फैलिएपछि त्यहाँको जनजिवनमा निकै ठूलो प्रभाव परेको बताइएको छ ।

दक्षिण कोरियामा यसको त्रासका कारण कम्तीमा पनि दुई हजार विद्यालय बन्द भएका छन् भने हजारौँ स्वास्थ्यकर्मीलाई देश भित्रिने नाकाहरूमा स्वास्थ्य जाँचका लागि राखिएको छ ।

यस सङ्क्रमणलाई थप फैलिन नदिनका लागि सरकारले कैयौँ सतर्कता अपनाएको बताएको छ । तर पनि दिनहुँ नयाँ बिरामी भने भेटिएका छन् ।

जसका कारण सर्वसाधारणले सरकारले यस सङ्क्रमणको नियन्त्रणका लागि आवश्यक सतर्कता एवम् पूर्व तयारी गर्न नसकेको भन्दै आलोचना पनि गरेका छन् ।

प्रतिक्रिया