जनतामा राहत प्रभावकारी बनाउन सबैलाई सरकारमा भाग चाहिन्छ भनेर नेताले मात्र होइन पीडित कार्यकर्ताले पनि भन्न थालेपछि सबैखाले रगिदले सरकारको पीडाबाट यतिबेला बेलायती कनिङको सम्झनाले सताइरहेछ । विश्वमा सबैभन्दा धेरै वर्ष प्रधानमन्त्री बन्ने बेलायतका सर रोबर्ट वालपोलले त्यसबेला १२ जनाको मन्त्रिमण्डल गठन गर्ने नाम सार्वजनिक भएपछि आज हामीकहाँ भूकम्पको पीडा कम गर्न सबैलाई सरकारमा भाग चाहिन्छ भनेभन्दा बढी हल्लीखल्ली भएको थियो । सुरुमै कुराको जिली बुझौँ– मन्त्रिमण्डल सबै पार्टीको बनाए पनि, जत्रो बनाए पनि मन्त्री कस्ता हुन् भन्ने कुरा महत्वपूर्ण हो । जतिजना मन्त्री भए पनि भाग खोज्ने भातमारा मात्र हो भने त दुईजना पनि धेरै हुन्छ । संसारको इतिहास हेर्ने हो भने दुईजनाले मात्रै पनि सरकार र मुलुक चलाएका उदाहरण हामी पाउँछौँ ।
१२ जना मन्त्री बनाउन खोज्दा नै कोकोहोलो मच्चाउने त्यो बेलाको समाजले राम्रो काम गर्दै गएपछि वालपोललाई जति मन्त्री बनाए पनि वास्ता गर्नै छोडिदिए । वास्ता गर्नै नसक्ने अवस्था पनि भयो किनकि उनी त झन् पछि झन् गर्दै २० वर्ष तीन सय १४ दिन अर्थात् ४ अप्रिल १७२१ देखि ११ फेब्रुअरी १७४२ सम्म प्रधानमन्त्री रहे । उनको मन्त्रिमण्डलको सदस्य संख्या त्यहाँ विरोधीहरूले गन्नै छोडिदिए ।
तर, बेलायतकै जर्ज कनिङले आफू प्रधानमन्त्री र आफ्ना एकजना मात्र मन्त्रीलाई लिएर दुईजनाको मन्त्रिमण्डलले मुलुक चलाए । एङ्ग्लो–आइरिस परिवारका उनी विदेश सचिवबाट राजदूत हुँदै प्रधानमन्त्री भएका थिए । जसरी पनि एकपटक प्रधानमन्त्री बन्ने र बनिसकेपछि जसरी पनि पदमा टिकिरहन मन्त्रीको संख्या नथप्ने एउटा दरो उदाहरण हुन् कनिङ । त्यस्तै जसरी पनि सरकार विस्तार गर्ने र आफ्नो विचारका विरुद्ध सम्झौता गरेर भए पनि अरूलाई सरकारमा सामेल गर्न आतुर वर्तमान संसदीय खेलभन्दा फरक आस्थाको प्रतीक पनि हुन् उनी । बरु एक दिनको मात्र प्रधानमन्त्री बन्ने तर विचार नमिल्नेलाई उनीहरूका माग पूरा गरेर सरकारलाई विस्तार गर्दै प्रधानमन्त्रीमा बसिरहनु हुन्न भन्ने विचारका पनि उनी प्रतिमूर्ति मानिन्छन् ।
कनिङसँग हाम्रा प्रधानमन्त्रीका विचारको महानता दाँजेर हेर्न मन लाग्छ हिजोआज । १० फेब्रुअरीदेखि १२ फेब्रुअरीसम्म मात्र १७४६ अर्थात् केवल दुई दिन उनी प्रधानमन्त्री हुँदा उनको विचारमा अरू सहमत हुन नसकेपछि उनले कसैलाई मन्त्रिमण्डलमा लिन चाहेनन् वा उनको मन्त्रिमण्डलमै अरू कोही सहभागी बन्न चाहेनन् भन्दा पनि हुन्छ । उनले ‘म विचारमा शीर निहुराउन्नँ बरु प्रधानमन्त्री पद नै मलाई चाहिन्नँ’ भनेर प्रधानमन्त्री पद नै त्यागिदिए । तर, आफ्नो प्रधानमन्त्रीत्वकालमा ‘अरूका विचार लागु गर्न म चाहन्नँ’ भनेर उनले मन्त्रिमण्डल विस्तार गर्नुभन्दा तत्काल राजीनामा दिन्छु भनेर राजीनामा दिए । उनले त्यसपछि पनि अगस्ट ८ अर्थात् तीन महिना दुई दिन काम चलाउन शासन गरे जसरी हुन्छ एक्लै । उनीबाहेक उनको मन्त्रिमण्डलमा एकजना मात्र भए । उनी प्रधानमन्त्री नहरँदा पनि सीमित वित्तीय स्रोतहरूमा सुधार गर्नका लागि बेलायतमा अहिलेसम्म सम्झना गर्न लायकका योगदान छोडेका छन् । उनले आफैँ पनि विदेश सचिव भएका कारण राजनीतिक कारणले मात्र सम्झौता गरेर संसदीय सुधारका अरूले भनेझैँ कार्यक्रम ल्याउन सम्भव नभएर प्रधानमन्त्री बनिरहनलाई मात्र आफूलाई तल झुकाएनन् र देशको तत्कालीन आवश्यकताभन्दा प्रधानमन्त्रीको पद ठूलो ठानेनन् । उनले बाँकी रहेको समयमा वित्तीय समस्या कम गर्ने, प्रशासनिक थिति बसाउनेलगायतका आफ्नो सोचअनुसार सुधार गर्न सकिने ठाउँमा प्रशस्त उदाहरणीय काम गरे । उनैले कार्यालय समय, राष्ट्रिय जीवनका विभिन्न पक्षको नियमन, सरकारी कार्यशैलीमा एकरूपतालगायतका क्षेत्रमा पहिलो कोड बनाए जसलाई त्यसपछिका सरकारले मात्र होइन हालसम्म नै अनुशरण गर्दै आएका छन् । उनले छोड्ने बेलासम्म त चाहिने मान्छे त यही रहेछ भनेर अरू नागरिकले पनि भन्न थालिसकेका थिए र उनको माग अझ बढ्न थालेको थियो । यो उदाहरण कार्यकारी प्रधानमन्त्रीले आफ्नो विवेकबाट आफूले लागु गर्न खोजेको कार्यक्रममा थप सुधारका लागि सकारात्मक आलोचनाबाहेक पूर्णरूपमा साथ, समर्थन र सहयोग गर्नेहरूलाई मिलाएर सरकार बनाउने यदि त्यस्तो अवस्था आउँदैन भने बरु एक्लै दुईदिनको मात्र प्रधानमन्त्री भएर रहनुपर्छ भन्ने सैद्धान्तिक धरातलको व्याख्या हो ।
सुशील कोइराला प्रधानमन्त्री हुनुपूर्व धेरैले भने– मान्छे व्यक्तिगत रूपमा तत्कालसम्म कुनै सरकारी पद धारण नगरेकाले खराब हुन नपाएर असल भए पनि काममा कति दिन टिक्ने हुन् कुन्नी ! केही दिनअघिसम्म पनि धेरैले त्यसै भनिरहेका छन् र अरू दलका प्रमुख नेताहरूले पनि बाहिर–बाहिर माया गरेजस्तो गरेर प्रधानमन्त्रीलाई सहमति र संविधानका लागि काम गरेर देखाउन अझै अन्तिम मौका छ भनिरहेका थिए । तर, अब त सरकार छोडिहाल्नुपर्ने विचार तिनीहरूले नै राख्न थालेका छन् ।
कतिले भन्छन्– अझै पनि साझा बृहत्तर सरकारको नाममा काम गर्न सक्ने युवाहरू मन्त्रिमण्डलमा हुने छैनन् । नेपालको युवामण्डललाई सम्झाऔँ– कंगोका वर्तमान प्रमुख जोसेफ काबिला काबांगे सबैभन्दा कम उमेरमा कार्यकारी पद सम्हाल्न पुगेका हुन्, ३० वर्षमै । तर, उनले देशको आर्थिक हविगत झन् पछि झन् खग्रास पार्दै लगेका छन् । तिनका युवा ज्यान र चाउरी नपरेका राम्रा छालाले मात्र केही हुने होइन देशका लागि । जस्तो कि युक्रेनकी प्रधानमन्त्री जुलिया टेमोसेन्को विश्वमा सबैभन्दा सुन्दरी प्रधानमन्त्रीको रूपमा चिनिएकी थिइन् । तर, उनले आफू पदमा गरेको भ्रष्टाचारको आरोपमा प्रहरीले केही समयअघि पक्राउ नै गर्यो । संसारभर मोडलिङका पत्रिपत्रिकाले समेत कभर पेजमा उनका तस्वीर बारम्बार प्रकाशन गरिरहेका छन्, संसारकै सबैभन्दा राम्रो हेयर स्टाइल र अनुहारकी राजनीतिज्ञ भनेर । तर, अनुहारले खान त दिँदैन । राजनीतिमा फेरि हेर्न पनि मन लाग्नेसमेत हुँदो रहेछ ।
अब सिक्नुपर्ने कुरा हाम्रा युवाहरूले । अर्कोतर्फ ८१ वर्षको उमेरमा ब्रिटिस शासनअन्तर्गतको सेन्ट लुसियामा जोन कोम्पटनको नियुक्ति भयो प्रधानमन्त्रीमा जनताको चाहना अनुसारै र उनी पदमा हुँदाहँुदै उनको निधन पनि भयो । उनी नै त्यहाँका प्रथम, पाँचौँ र आठौँ प्रधानमन्त्री पनि थिए । के उमेरले केही दिन्छ र ? युवा होस् कि वृद्ध, विचार हो प्रथम कुरा । हाम्रो सभामा यतिका वर्षसम्म थपिएको म्यादमा पनि केही गर्लान् कि भनी ठानिएका धेरै युवा सभासद् आवाजविहीन भएर बसेका छन् । के काम, तिनका धराने बंगुरजस्ता युवा ज्यानको ?
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पनि यही कलमबाट लेखिएको थियो– उनले कनिङ भएर देखाऊन् । राम्रो । तर, आफैँले बोलेका बोली र राखेका विचार त्यागेर सरकार बढाउँदै टिकिरहने मात्र प्रयास गर्नु ठीक होइन । अन्ततः क्रमशः बाटोबाटो, चोकचोकमा हिजोसम्म बाबुरामलाई म अर्कै पार्टीको भएको मान्थेँ तर अब मान्दिनँ । अब उनी मेरो रोल मोडल होइनन् भने उनकै प्रशंसकहरूले पनि । फेसबुकहरूमा त्यस्तै प्रतिक्रिया भरिए । त्यसैले उनले अझै पनि जतिसुकै मन्त्रिमण्डलको आकार लिएर पनि काम राम्रो गरेर देखाइदिन सके जति वर्ष पनि फेरि आफ्नो माग भएको देख्न पाउने थिए । तर, अब उनी क्रमशः त्यो सम्भावनाको बाटोबाट पूर्व र सुदुरपूर्व प्रधानमन्त्रीहरूको वान वे ट्राफिकतर्फ सुशील कोइराला पनि जाकिँदैछन् । उनले अझै पनि त्यो बाटो समाउन नसक्ने भने होइन । त्यसका लागि नितान्त हिजोको सुरुवाती उत्साहजस्तो केही मात्र भए पनि अर्थपूर्ण काम गर्न, जनताबाट उठेको आवाज बुझ्न र ठूलो मन्त्रिमण्डलले ठूलै काम गर्छ भन्ने पुष्टि गर्न जरुरी छ । अब मेरो बाध्यता थियो, ठूलो मन्त्रिमण्डल बनाउनु भन्ने लुते जवाफ दिएर मात्र पुग्दैन कोइरालाले । त्यो जवाफ दिनुभन्दा उनले कनिङ नै भएर देखाइदिनु राम्रो हुनेथियो । त्यसका लागि समय भने बितिसकेको छ । म भने अझै पनि कुनै कनिङको छायाँछवि नेपाली युवा नेताहरूबीचमा खोजिरहेको छु ।
प्रतिक्रिया