प्रसंग– १
नेपाल कम्युनिष्ट पार्टी एमालेको ‘राष्ट्रिय स्वयंसेवक अभियान’ मा मलाई काठमाडौंको क्षेत्र नं. ९ मा खटाइएछ । महाभूकम्प जानुअघि पाएको कार्यक्षेत्र अर्थात् भौतिक पूर्वाधार तथा यातायात विभाग निर्माण गर्न नै नभ्याइएको अवस्थामा अलिकति भए पनि सक्रिय हुन पाएकोमा खुसी लागेको थियो । मलाई काठमाडौंको क्षेत्र नं. ९ मा खटाइएको सुनेपछि केही मित्रले भनेछन्– ‘…. लाई नपठाएर यसलाई किन पठाएछन् ? यो त हाम्रो टिमको (गुटको) मानिस होइन ।’ अझै पनि यस खालको संकीर्णता देखेर धेरै दिक्क लाग्यो । नेताहरूद्वारा भाषणमा भनिएजस्तो अवस्था रहेनछ । नेताहरू भनिरहनुभएको छ– ‘यो भूकम्पले हाम्रो बीचका अनुचित आग्रह र दुरी समाप्त भए ।’ काठमाडौं एमालेले अझै कति हार र धक्का बेहोरेपछि चेत्ने हो, थाहा भएन । मैलेचाहिँ भनिदिएँ– ‘ए साथी हो, म सेवा गर्न आएको हुँ । त्योभन्दा बढी मेरो चाहना छैन । नआत्तिनुहोस्, मैले तपाईंहरूको काल्पनिक टिकट खोस्ने छैन ।’ यस्तो दुःखको घडीमा पनि गुटगत चिन्तन राख्नेहरूले कसरी पुनर्निर्माणको काम गर्न सक्लान् र ? म अनुरोध गर्न चाहन्छु– ‘साथी हो, हामी यस्तो गुटगत चिन्तनबाट मुक्त बनौं ।’ सामान्य सर्वेक्षणमा देखियो– काम नगर्नेहरू बढी गुटगत चिन्तन राख्दा रहेछन् ।
केही स्थानमा केही स्थानीय साथीहरू अभियानमा समावेश हुनुभएको छ । उहाँहरूले धेरै मिहिनेत पनि गर्नुभएको छ । उहाँहरूलई धन्यवाद दिनैपर्छ । तर, अधिकांश संगठित पार्टी सदस्यहरूको नाकमुख देख्न पाइएको छैन । यसमा पनि दिक्क लाग्यो । ‘मलाई त थाहै भएन’ भनेर पुनर्निर्माणको काममा नआउनेहरूलाई के भन्ने र खोई ? यसो भन्नेहरूले उल्टै रिसाउने गरेको पो देखियो । पार्टीको अभियानको यतिका धेरै हल्लाखल्ला भइसकेपछि आफैँले पनि त आफ्नो क्षेत्रमा के कार्यक्रम छ भनेर सोधखोज त गर्नैपर्ने हो ।
प्रसंग–२
काठमाडौंको क्षेत्र नं. ९ मा भूकम्प पीडितका मूलतः दुईथरी आवश्यकता रहेछन्– (१) धराप बनेको पुरानो घरको संरचना भत्काउन सहयोग होस् र (२) अस्थायी नयाँ आवास बनाउन सहयोग मिलोस् । यी दुई कुरा पूरा भएपछि मात्र अन्य राहत वा सहयोगको आशा गरिएको अवस्था रहेछ । यस क्रममा काम गर्न जाँदा कतिपय ठाउँमा स्थानीय मानिसले यसो भनेको पनि सुनियो– ‘यिनीहरू त्यसै आएका हुन् र ? चरप्प भत्ता बुझेर पो आएका छन् । विदेशबाट अर्बाैं–खर्बाैं रकम आइसक्यो । खाने त यिनै पार्टीका चोर त हुन् नि । बिनापैसा यस्तो टन्टलापुर घाममा किन खट्थे यिनीहरू ।’ जनताको मनोविज्ञान कतिसम्म नकारात्मक भएको रहेछ भन्ने कुराको प्रमाण हो यो । यसका लागि राज्य र पार्टीहरू नै दोषी छन् । मिहिनेत गरेर मात्र जनतामा रहेको यस्तो नकारात्मक धारणा हटाउन सकिन्छ भनेर चित्त बुझाइयो । त्यस्तो भन्नेहरूलाई हात जोडेर ‘हामी आफैँ मिहिनेत गरिरहेका छौँ । हामीलाई कसैले केही दिएको छैन नि हजुर’ भनियो । कतिपयले ‘हामीले त पहिलेदेखि नै काम गरेका छौँ । अब तपाईंहरूले गर्नुस्’ भनेर थर्काएको पनि देखियो ।
प्रसंग–३
क्षेत्र नं. ९ मा स्वयंसेवामा नखट्ने पार्टीका जिम्मेवार तहमा रहेका साथीहरूलाई ‘किन काममा नखटेको ?’ भनेर सोध्दा ‘खोई हामीलाई हेलमेट र ज्याकेट ? पहिचान नभई त काम गरिन्नँ’ भन्ने ओठे जवाफ पाइयो । काममा खटाउनलाई हेल्मेट र ज्याकेटको कमीले आतंकित नै बनायो । सकारात्मक सोच भएकाहरू (जो निरन्तर खटिरहेका छन्) ले पनि हेल्मेट र ज्याकेट नपाएर दुःखी भएको देखियो । यो हेल्मेट र ज्याकेट नभएर झन्डा मात्रै प्रयोग गरेको भए पनि हुने थियो भन्ने लाग्यो । हुन त हेल्मेट सामान्य सुरक्षाको लागि हो ।
प्रसंग– ४
हाम्रो पार्टीका साथीहरूमा प्रोटोकल वा मर्यादाक्रमको चिन्ता साह्रै धेरै भएछ । कार्यक्रममा अतिथि बन्ने कुरा, अघिल्लो कुर्सीमा को बस्ने भन्ने कुरा, को संयोजक छ भन्ने कुरामा साथीहरू साह्रै चिन्तित हुन थालेछन् । राजधानी विशेष समन्वय कमिटी र काठमाडौं जिल्ला कमिटीले निर्वाचन क्षेत्रका अध्यक्षलाई सम्बन्धित क्षेत्रको कमान्डर बनाउने भनेर निर्णय गरेको रहेछ । मलाई यो कुरा क. सानुकुमार श्रेष्ठ र क. जीवनराम श्रेष्ठले बताउनुभएको हो । यसैमा पनि साथीहरूमा असन्तुष्टि रहेछ । ‘क्षेत्रीय अध्यक्षको मातहतमा काम गरिँदैन । तपाईं आउनुभएको छ । तपाईंको मातहतमा भने काम गरिन्छ’ भन्ने कुरा आयो । मैले भनेँ, ‘ए साथी हो, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदहरू नै ठूला मानिस हुन् । सेना र प्रहरीको कमान्डर त उनीहरूकै मातहतमा हुन्छ । यसैले प्रोटोकलको चिन्ता नलिनुस् ।’
प्रसंग– ५
क्रमशः नकारात्मक भावना मेटिँदै छ । यसमा केही सन्तोष लाग्दै छ । भीमढुंगामा हाम्रो युवा संघको क. दीपकजीको टोली र नेकपा माओवादी (बिप्लव समूह) को टोली सँगै काम गर्दै रहेछन् । नेकपा माओवादीको टोलीको नेतृत्व क. माइला लामाले गर्नुभएको रहेछ । यसमा झन् धेरै खुसी लाग्यो । राष्ट्रिय अभियानमा राजनीतिक पार्टीहरू यसैगरी एक भएर जुटिदिए कति राम्रो हुँदो हो !
प्रतिक्रिया