मोबाइल भेटियो, मान्छे भेटिइनन्

Bhukampa-Nepalकाठमाडौं २० वैशाख । महाभूकम्प गएको आठौँ दिन पनि गोरखा मसेल– दुईकी १६ वर्षीया इन्दिरा बगालेको अवस्था अज्ञात छ । यसै वर्ष एसएलसी परीक्षा दिएर काठमाडौं आएकी इन्दिरा गत शनिबार खाना खाएपछि आफन्तसँग घुम्न निस्किएकी थिइन् ।

उनीसँगै निस्किएका दुई आफन्त मृत अवस्थामा टिचिङ हस्पिटलमा आफन्तले फेला पारे भने दुई जना घाइते वीर हस्पिटलमा भेटिए । काठमाडौं नयाँ ठाउँ भएकाले घाइतेलाई कुन ठाउँ घुम्न गएको भन्ने पत्तो छैन ।

खोजी गर्दा छिमेकी पूर्ण श्रेष्ठले मृत भेटिएकी गोमा बगालेको ब्याग र ब्यागभित्र भने हराइरहेकी इन्दिराको मोबाइल वसन्तपुरमा छैटौँ दिन फेला पारे । इन्दिराको मोबाइल फेला परे पनि उनी भने अझै भेटिएकी छैनन् ।

छिमेकी श्रेष्ठले खोजीका क्रममा ब्याग र मोबाइल फेला पारेपछि उनले त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोजिदिन महाभूकम्प गएको छैटौँ दिन नै विनम्र अनुरोध गरेका थिए । ती स्थानमा पहिले नै खोजी गरिसकेको भन्दै उनको आग्रह सुरक्षाकर्मीले अस्वीकार गरे ।

त्यसपछि पनि उनले वसन्तपुर भने छाडेनन् । ‘मैले दिनभरि इँटा बोक्न सघाएँ, यतै इन्दिरालाई मृत नै भए पनि भेटिन्छ कि भनेर खोजिरहेँ,’ उनले भने ।

आठौँ दिन मोबाइल र ब्याग भेटिएपछि विस्तृत घटना सुनाउँदै फेरि उनले इन्दिरालाई खोजिदिन आग्रह गरे, पटकपटकको आग्रहपछि नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरी इन्दिरालाई खोज्न मोबाइल भेटिएको स्थानमा खटियो ।

वसन्तपुरस्थित महादेव मन्दिरको दक्षिणपट्टि इन्दिरालाई शनिबार खोज्ने क्रममा अर्कै पुरुषको शव भने भेटियो । सुरक्षा फौजले पुरुषको शव भेटिएपछि अन्त खोजी नै गरेनन् ।

छिमेकी बहिनी हराइरहेकाले शनिबार वसन्तपुरमा भेटिएका श्रेष्ठका आँखा रसाइरहेका देख्न सकिन्थ्यो । उनले मोबाइल भेटिएको स्थान देखाउँदै भने, ब्याग र मोबाइल यहीँ भेटिएको हो, मलाई शंका लागेको छ, इन्दिरा यतै कतै पुरिएकी हुन सक्छिन् । तर, सुरक्षाकर्मीले यति पनि खोजिदिएनन् ।

शनिबार इन्दिरालाई खोज्न गएका सुरक्षाकर्मीले अर्कै शव फेला पार्नसाथ उनीहरू त्यहाँबाट फर्किएका थिए ।

हराइरहेका व्यक्तिको मोबाइल तथा ब्याग फेला पार्दा समेत उनीहरूले खोजीमा बेवास्ता गरेको पाइएको हो ।

तर, श्रेष्ठले भनेको ठाउँमा भने इन्दिराको राम्ररी खोजी भएन । श्रेष्ठले फेरि इन्दिरा पुरिएको हुनसक्ने स्थानतिर देखाउँदै खोजिदिन नेपाल आर्मीका एक अधिकारीलाई आग्रह गर्दा भोलि बिहान खोजिदिने आश्वासन दिएको पीडित श्रेष्ठले बताए ।

वसन्तपुरमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको ठूलो संख्या खटाइएको भए पनि पटकपटक आग्रह गर्दा समेत पीडितको गुनासो नसुन्ने गरेको पाइएको हो । हराइरहेका व्यक्तिको मोबाइल तथा ब्याग फेला पार्दा समेत उनीहरूले खोजीमा बेवास्ता गरेको पाइएको हो ।

छिमेकी इन्दिराको खोजी गर्न आएका श्रेष्ठको गुनासो सुन्नेहरूले पीडितले पटकपटक आग्रह गर्दा पनि सुरक्षा निकायले चासो नदिएर पीडित परिवारको भावनाको कदर गर्न नसकेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया