मैले कसरी लेख्न सिकें ?

lekhnath-bhandariयसरी सार्वजनिक रूपमा लेख्न थालेको पनि ३३ वर्ष नाघ्न थालेछ । सर्वप्रथम २०३८–०३९ सालतिर आफू अध्ययनरत रहेको विद्यालय (आदर्श निमावि, झापा कोरोबारी) मा प्रकाशित भित्ते पत्रिकामा एउटा कविता लेखेको थिएँ । पत्रिकाको नाम ‘प्रगति’ यस्तै केही हुनुपर्छ । त्यसताका गाउँबाट कलेज पढ्न गएर फर्कनुभएका गाउँका तीनजना अग्रजहरू साहित्यिक र सांस्कृतिक क्षेत्रमा अलिक चासो राख्नुहुन्थ्यो । अझ भनौं केही सक्रिय नै । तर, त्यो न निरन्तर रह्यो न गाउँभन्दा बाहिरसम्म पुग्न सक्यो । उहाँहरू हुनुहुन्थ्यो कालुराम दाइ अर्थात् के आर खम्बु, महेश दाइ र नारायण काका । कालुराम दाइ त्यसबेला काठमाडौंतिर अर्थात् विश्वविद्यालयमा अध्ययनरत हुनुपर्छ भने दाइ र काका विराटनगर

क्याम्पसमा हुनुहुन्थ्यो ।
त्यसो त लेख्न थालेकै कुरा गर्दा मलाई सम्झना छ– २०२८ सालमा हुनुपर्छ, त्यसबेला म मेरो साइली फुपु (हामी साइली दिदी भन्छौं) कहाँ पढ्न–लेख्न सिक्न भनेर गएको थिएँ । उहाँको घर धनकुटा जिल्लाको जितपुर गाविसमा हो । मेरा तीनजना भानिज दाइ (साइँली फुपुका छोराहरू) मा जेठो भानिज दाइ (विष्णु दाइ) झापातिर नै हुनुहुन्थ्यो । माइलो शशीधर दाइ र कान्छो नन्दप्रसाद दाइ भने गाउँकै हाइस्कुलमा पढ्दै हुनुहुन्थ्यो । अनि मेरा फुपाजु पनि गाउँमा पण्डितका रूपमा परिचित र प्रतिष्ठित हुनुहुन्थ्यो । त्यसैले मलाई त्यसताका उहाँहरूको सान्निध्य र सम्पर्कमा पढ्न पढाउन सजिलो हुन्छ भनेर फुपू दिदीकहाँ पठाइएको थियो ।
अँ, २०२८ साल किन हुनुपर्छ त भन्दा, राजा महेन्द्रको निधन त्यही समयमा भएको थियो । त्यो पनि मैले त्यतिबेला नै थाहा पाएको भने होइन । गाउँ–घरमा विभिन्न विषयमा चर्चा हुने क्रममा मलाई सम्झना छ, फुपू दिदीले भन्नुभएको थियो– ‘मैले हिजो सपनामा राजा घोडा चढेर ओरालो झर्दै गरेको देखेको थिएँ,’ मलाई उहाँले त्यसो भन्नुभएको मात्र सम्झना छ । अनि के लाग्छ भने त्यसबेला केही मानिसहरूले कपाल पनि खौरेका थिए । त्यो कुरालाई मैले धेरै वर्षपछि अर्थात् नारायणहिटी राजदरबार हत्याकाण्डपछि मात्र बुझेको थिएँ । जो कुरा मेरो मानसपटलमा आएको थियो । दिदीले राजा घोडा चढेर ओरालो लागेको देख्नु भनेको शुभ संकेत नभएको र मानिसले कपाल खौरेको कुरा पनि राजाको निधन नै हुनुपर्छ । मैले यो कुरा खासै कसैलाई सुनाएको छैन र सोधेको पनि छैन । यी पंक्ति लेख्दा सुन्दैछु, साहिँली फुपू दिदी झापामा हुनुहुन्छ । झापा गौरीगञ्जमा उहाँको छोरा विष्णु दाइ र उहाँका माइती प्रायः सबै छौं । यो कुरा म यी पंक्ति सार्वजनिक भइसकेपछि मात्र उहाँलाई सोध्ने पक्षमा छु । मलाई यस्तो पनि लाग्छ, कतै मेरो फुपाजुले पनि कपाल खौरिनु त भएको थिएन ?
चर्चाको कुरा हो, मैले सार्वजनिक रूपमा लेख्न थालेको । तर, योभन्दा पहिले मैले कहिले र कहाँबाट कसरी लेख्न थालें भन्ने सन्र्दभको चर्चा गर्दैछु । मलाई सुरुमा मेरो बुबा र हजुर बुबाले केही पढ्नभन्दा पहिले लेख्न सिकाउने प्रयास गर्नुभएको हो । त्यसताका जुन बेला मेरो स्कुल जाने उमेर र पढ्न लेन थाल्नुपर्ने समय भएको थियो, हजुरबुबा झापातिरै हुनुहुन्थ्यो भने यसो समय–समयमा पहाड अर्थात् भोजपुर जानु हुन्थ्यो । तर, मैले उहाँहरूको आशा र अपेक्षा अनुसार लेख्न पढ्नमा ध्यान दिन नसकेपछि मलाई फुपुकहाँ पठाइएको थियो । त्यसताका मैले माटोमा, काठको पाटी (फल्याक) मा माटाको धुलो छरेर वा ढुंगामाथि नै माटाको धुलो छरेर सिन्काले खासगरी बाँसको कलमले लेख्न थालेको हुँ ।
जितपुर अर्खौले धनकुटा जिल्लाकै चिनिएका ठाउँमध्येको एक हो । त्यहाँ ठूलै विद्यालय थियो । त्यहाँ १५–१५ दिनमा बजार पनि लाग्दथ्यो । त्यहाँ पसलहरू पनि थिए । जेहोस्, म गाउँबाट त्यो पनि गाउँको एकान्त घरबाट त्यस्तो ठाउँमा पुगे जस्तो लाग्थ्यो । स्कुलमा पनि हराउँछु कि जस्तो लाग्थ्यो । बजारमा घुम्दा त मलाई डर नै तेही हुन्थ्यो । हराउँछु कि भन्ने डर हुनुमा पनि त्यसै ताकाको अर्को एक घटनासँग पनि सम्बन्ध छ ।
त्यसबेला गाउँघरमा यस्तो हल्ला चलेको पनि थियो– केटाकेटीहरूलाई घरमा समेत एक्लै छोड्नुहुन्न । किनकि त्यसताका जोगीहरू गाउँमा पसेका छन्, तिनले कि त बच्चालाई नै लैजान्छन् वा टाउको काट्छन् ।’ पछि यो हल्लाको पृष्ठभूमि तत्कालीन नेकपा (माले) को सामन्ती सफाया अभियानको प्रभाव पो हो कि भन्ने लागेको छ ।
जितपुरमा हुँदा त्यस्ता २–३ घटना रमाइला घटनाहरू, रमाइला भन्दा पनि स्मरणीय छन् । विद्यालय ठूलै हो र त्यहाँ विद्यालयमा मलाई लाग्छ, ३÷४ सय विद्यार्थी हुनुपर्छ । तर शौचालय भने थिएन । एक दिन यस्तो भयो कि म शौचालयका लागि स्कुलपछाडिको जंगल (जंगल भन्नाले निकै बाक्लो, सिस्नो, स–साना बुट्यान र बनमारा यस्तै भएको) गएको त स्कुलतिर नगएर अर्कै बाटोबाट बजारतिर निस्केको छु । सुरुमा सपना हो कि विपना निक्कै भ्रममा परें । भर्खरै छोडेको स्कुल खै ? अनौठो ठाउँ कसरी भयो ? यस्तै सोच्दै घुम्दाघुम्दै स्कुल फेला प¥यो । यो स्कुलमा ठूला विद्यार्थीले बल (भलिबल) खेल्थे तर मलाई खेल्ने अनुमति थिएन । मलाई त्यसैको प्रभावले पनि होला पछि मैले भलिबल राम्रैसँग खेल्न सकें ।
त्यो स्कुलमा भानिजदाइहरू सँगै जाने आउने र खाजा खाने पनि गर्थें । मलाई थाहा थिएन कि खाएको कुराको पनि पैसा तिर्नुपर्छ । स्कुलनजिकै, त्यसबेला बाहुन बाहेककाले चिया खाजाको पसल राख्न सक्ने कुरै थिएन । एउटा पसल थियो र त्यो पौडेलको हुनुपर्छ । पसलमा क्यारामबोर्ड वा यस्तै के–के खेल्ने र खानेको भिड नै हुने गथ्र्यो । एकदिन कसैले यो भिडबाट तरकारी चिउरा खाजा मगाएको रहेछ, पसलेले यो को खाने भन्दै कराउँदै गए । मैले म खाने भनेर पटापट सिध्याइदिएँ । पछि साहुले पैसा माग्दा मैले त कुरा पनि बुझिनँ । कुरा बुझेपछि भानिजदाइहरूले पैसा तिर्नु भयो वा जमानी बस्नु भो मलाई त्यो केही थाहा छैन ।
फुपू दिदीकहाँ पनि म त्यति धेरै बस्न सकिनँ । ४÷५ महिना जति बसेपछि बुबा जानुभएको थियो त्यहाँ । म उहाँसँगै पछि लागेर फर्कें । त्यसपछि म बुबासँग घर अर्थात् भोजपुर जिल्लाको जरायोटार गाविसमा फर्कें । सायद मलाई लाग्छ, म यस्तो बेला फर्कें, जुन बेला स्कुल भर्नाको समय सामान्यतया सिद्धिसकेको हुनुपर्छ । त्यसैले गर्दा मैले एक वर्ष जति स्कुल नगई घर बस्नु प¥यो ।
यो एक वर्षको समय घरमा बस्दा मैले विकट पहाडी जिल्लाको निम्नमध्यम परिवारको बालमजदुरका रूपमा काम गरेको छु । यो समयमा मैले आफ्नै घरको लागि जंगलमा गएर बाख्रा चराउने, बनबाट सोत्तर (मलमा प्रयोग गरिने घाँस) झारपात बटुलेर ल्याउने र घरखेतीको काममा सहयोग गरेर बिताएको छु । त्यसपछि सात वर्षको उमेरमा २०३० सालमा म पढ्न भनेर शिशु कक्षामा भर्ना भएको थिएँ ।
विद्यालय भर्नापछिको औपचारिक शिक्षामा लेखिएको बाहेक सार्वजनिक चासोका लागि २०३८ वा २०३९ सालतिर भित्ते पत्रिकामा मैले लेखेको पहिलो भनेको कविता भने म आफैंले लेखेको थिइन ।
(पत्रकार भण्डारी हाल अमेरिकामा बसोबास गर्छन्)

प्रतिक्रिया