वृक्षवादको छहारीमा एमाओवादीको विश्राम

govindaनेपाली जनतालाई मुक्ति दिलाउने र समुन्नत राष्ट्र निर्माण गर्ने कोरा नारा फलाक्तै नेपालमा थुप्रै राजनीतिक दल उम्रिएका छन् । त्यसमध्ये अधिकांश जनताका अगाडि टिक्न नसकेर अलप भए भने केही आफ्ना अस्तित्व कायम राख्न अनेक प्रलाप गरिरहेका छन् ।
नेपाली काँग्रेस र नेकपा एमाले नेपाली जनताले आपूmहरुलाई एकलौटी पत्याएकोमा घमण्ड मिश्रित भंगीमा प्रदर्शन गर्दैछन् भने एमाओवादी र क्षेत्रियता तथा जातिय त्यान्द्रो समाएर देखा परेका दल अत्यधिक निराशाको सिकार भइरहेका छन् ।
यसको प्रभाव संविधानसभामा पनि राम्रैसँग परेको छ । यही कारणले गर्दा दोस्रो संविधानसभाले पनि पहिलकै नियति भोग्नु पर्ने हो कि भन्ने शंका उत्पन्न हुन थालेको छ । कोही हिनताबोधले घोप्टिएर निचोरिएको र टिमुर्किएको स्वरमा ‘सहमति’ को विलौना गाउँने, कोही सामाजिक सद्भाव खलबलिन र राष्ट्र विखण्डन गर्न नदिने अडानमा घमण्ड गर्ने र कोही समथल जति एउटै प्रदेश हुनु पर्छ भन्दै माग गर्ने भएपछि सबै कुरा बिग्रँदै गएको हो ।
आ–आफ्ना अडानमा दल रहनुलाई अस्वभाविक मान्नु हुन्न । तर, जनआधार नभएका, जनताका सामु टिक्न नसकेर त्राहीमाम बनेका राजेन्द्र महतो जस्ताले सम्म परेको जमिन जति मधेश प्रदेशमा समावेश नभए भयंकर जनविद्रोह सिर्जना गर्ने र नेपालको अस्तित्व समाप्त पार्ने धम्की दिनु सायद कसैका लागि पाच्य हुँदैन ।
त्यसैगरी पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराईले एमाले काँग्रेस झारपात हुन एमाओवादी भनेको ठूलो वृक्ष हो तसर्थ जनता हाम्रा पक्षमा छन् र हामीले भने बमोजिम संविधान बन्नुपर्छ भन्नु मुलुकका लागि अर्को दुर्भाग्य हो । राजेन्द्र महतो र डा. भट्टराईको तुलना गर्न मिल्ने कुरा होइन तर उनीहरूले व्यक्त गरेका धारणा भने एकै खालका छन् ।
डा. बाबुराम भट्टराई अहिले वृक्षवादको शीतल छाहारीमा सुस्ताउँदै सबै जनता आफ्नै वरिपरि गोलवद्ध भएको कल्पना गर्दैछन् । उनी एमाले र काँग्रेसलाई जनताले छाडेर एक्लाएको सपना देखेर ‘झारपात’ नाङ्गिए भन्दै कुर्लिन थालेका छन् ।
वृक्ष सुकेर मूढोमा परिणत भइसकेको अवस्थालाई उनी बिर्सिन चाहन्छन् । तर, सत्य बडो तीतो र कठोर हुँदाहँुदै पनि स्वीकार गर्नै पर्छ ।
बाबुरामजी जस्ताको पार्टीलाई नेपाली जनताले रुचाएनन्, कार्यकर्ताको पंक्ति पनि छिन्नभिन्न भयो, पार्टी पाँच टुक्रा बन्यो, लडाकुको जमात कि त अरबको खाडीमा पसिना बगाउँदै छ कि त पार्टीलाई सराप्तै आफ्नो व्यवसाय गर्दै छ र नेताहरू नव धनाढ्य वर्गमा रूपान्तरित भएर मोज गर्दैछन् । यही देखेर बाग्लुङ क्षेत्र नं. १ मा भर्खरै सम्पन्न उपनिर्वाचनका एमाओवादी उम्मेदवार कृष्ण केसीले अब एमाओवादी यही अवस्थामा रहेमा समाप्त हुन्छ भनेर घोषणा गरेका होलान् । बाबुरामजीको वृक्षवादलाई एमाओवादीकै अर्का युवा खिलबहादुर भण्डारी आफ्नो स्टाटसमा सत्य बोल्छन् ‘लारक्याल लामा जिन्दावाद, कमरेड रविन्द्रप्रताप शाह जिन्दावाद, भूपू सिडियो कमरेड सुव सेन लाल सलाम, समार्गीहरू दामसाल अनि बाग्लुङतिर जमानत जफत सलाम ! मैले जान्या पेरिस डाँडाको माक्र्सवाद यति हो ! गल्ती भए माफ पाउँ हजुर’ खिलबहादुर भण्डारी ।
जब पार्टीको अग्रमोर्चाले कार्यकर्ताको त्याग, वलिदान, भावना र अस्तित्व माथि नै नवधनाढ्य वर्गको जडौरी बुट लगाएर कुल्चन थाल्छ तव राष्ट्र, जनता साथै ‘झारपात’ लाई काम नलाग्ने धोद्रो र खोक्रो रूख अस्वभाविक वोझ मात्र बन्छ । बाबुरामजीका लागि अहिले एमाले र काँग्रेस झारपात भएका छन् । अर्कालाई सराप्दै वृक्षवादको छहारीमा सुस्ताएर धारे हात लगाउनुभन्दा वार्ताद्वारा समाधान खोज्दै संविधान लेखन कार्यमा लाग्दा नै एमाओवादीलाई पनि राम्रो हुन सक्छ ।
समयले पर्खिदैन र एकनास पनि रहँदैन । अहिले एमाओवादी पहिलोबाट तेस्रो दल बन्न पुगेको छ । यो यथार्थ हो स्वीकार गर्न डराउनु हँुदैन । वृक्षवादले के खोज्छ थाहा छैन तर, माक्र्सवादले छलफल, तर्क र त्यसबाट निस्कने ठोस निचोड खोज्छ । व्यक्तिगत स्वार्थको डिकुरो उठाउँदै टाउकाले फोर्ने चलनलाई माक्र्सवादले विश्वास गर्दैन । के यथार्थ हो भने एमाले र काँग्रेसलाई जनताले एमाओवादीलाई भन्दा बढी नै मन पराएका छन् ।
तथापि संविधान लेखनका सवालमा ठूलो र सानो भन्दा पनि सहमति र एकताका साथ अगाडि बढ्नु पर्ने वाध्यता छ । यो पटक तेस्रो बन्न पुगेको एमाओवादी जनताको मुद्दा बोकेर अगाडि बढ्यो भने अर्को पटक जनताले विश्वास गरेको ठूलो पार्टी बनेर प्रकट हुनेछ । अहिले भने बाबुरामजीले भनेको भन्दा एमाओवादी खिल बहादुरजीले भनेको मुद्दा बोकेर हिँडेको छ । त्यसैले गर्दा यो वृक्ष होइन ठूटोवादमा परिणत भएको छ ।
अहिले एमाओवादी अस्तित्व रक्षाको लडाइँ लडिरहेको छ । आफ्नो अस्तित्व रक्षाका लागि राष्ट्रको अस्तित्व र जनअपेक्षा माथि कुठाराघात हुनुहँुदैन । यसलाई एमाओवादीका नेताले बुझ्नुपर्छ । पश्चिमका कैलाली, कन्चनपुर, पूर्वका झापा, मोरङ र सुनसरीका बारेमा कुरा नमिलेर संविधान लेखन प्रक्रिया अगाडि नबढेको समाचार आइरहेका छन् । त्यसबारेमा एमाओवादीको स्पष्ट धारणा कहिल्यै बाहिर आएन ।
बाबुरामजी रूप र सारको कुरा गर्छन् जबकि जनता भने ठोस् निर्णय खोज्छ । बाबुराम भट्टराई एमाले र काँग्रेस मिलेर ०४७ सालको संविधान ब्युँताउन खोज्दैछन् भनेर बारम्बार भन्दैछन् । र, यही प्रसंगमा उनी अर्को कुरा पनि जोड्न बिर्सिदैनन् र भन्छन्, ‘खबरदार जनताले ०४७ सालको संविधान मान्ने छैनन्’ । विद्वान नेतालाई थाहा हुनुपर्ने हो उनले भन्दा एमाले र काँग्रेसका नेताले यो कुरा धेरै राम्रो बुझेर जनताको भावनासहित अगाडि बढिसकेका छन् ।
यता बाबुरामजी ०४७ सालको संविधानको फेरो समाएर अलापविलाप गर्दैछन् । उता एमाले र काँग्रेस ०७२ सालमा गणतन्त्र नेपालको संघीय लोकतान्त्रिक संविधान बनाउन ताहुरमाहुर गर्दैछन् । एउटा पक्ष संविधानसभा भित्र पसौँ र संविधानका विवादित विषमया छलफल गरौँ भन्दै छ अर्को पक्ष नबसेको संविधानसभाको बैठकलाई पनि खबरदार ! त्यसलाई रोकौँ भनेर कुर्लंदै छ । बस्दै नबसेको बैठक कसरी स्थगित गर्नु र जनताले कसको भनाइ सही मान्ने ?
जनता धेरै बाठा भइसकेका छन् । कुनै नेताले भ्रममा राख्न सक्दैन । एमाले र काँग्रेसले जतिसुकै फुटानी गरे पनि ०४७ सालको संविधान ब्यूँताउन सक्तैनन् र त्यसैगरी एमाओवादीले जतिसुकै बबाल मच्चाए पनि ०७२ सालमा संविधान बन्नबाट रोक्न सक्दैन । तसर्थ, अब एमाओवादीले आफ्ना धारणा स्पष्ट पार्नुपर्छ ।
क्षेत्रीय र जातीय वैशाखी टेकेर उभिएका पार्टीसँग मोर्चा गठन गरेर एमाओवादी लक्षमा पुग्दैन । एमाओवादीको बास्तविक राजनीति धरातल अब लोकतान्त्रिक प्रजातन्त्र नै हो । यसैका लागि निर्देशित, प्रेरित र सबैले रुचाउने संविधान निर्माण गर्नतर्फ लाग्नुपर्छ । संघियतामा जानुपर्छ तर, विखण्डनलाई निम्तो दिने खालको होइन, नामाकरण गरिनु पर्छ तर जातीय सद्भाव खलबल्याउने खालको होइन, गणतन्त्र, समावेशी र सामाजिक न्यायका पक्षमा अग्रगामी संविधान लेखिनुपर्छ । सबैले भन्न थालेका छन् सहमति पनि नगर्ने संविधानसभाको बैठक पनि बस्न नदिने एमाओवादी नै हो भनेर ।
यो भनाई असत्य हो भनेर देखाउनु पनि अब एमाओवादीले ढिला गर्नु हुँदैन । अन्यथा जनताका नाममा भ्रम सिर्जना गर्दै उम्रिएका विभिन्न नाम धारी पार्टीको जस्तै हालत एमाओवादीको हुनेछ ।
एमाले र काँग्रेस पनि निर्णय क्षमता गुमाएका पंगु पार्टीमा रूपान्तरित हुँदै छन् । जनताले सुम्पिएको जिम्मेवारी पूरा गरेनन् भने यिनलाई पनि जनताले सुमसुम्याएर बस्ने छैनन् । जनता सुम्पिएको गच्छे अनुसारको दायित्व सबैले समयमै पूरा गर्नुपर्छ । अहिलेसम्म यी ठूला भनाउँदा दलबाट पनि सिन्को भाँचिएको छैन । बेला घर्किसक्यो । अब अगाडि बढ्नुपर्छ । भद्रो हेरेर बस्नुको तुक छैन । होइन भने एमाओवादी नेता बाबुराम भट्टराईले प्रतिपादन गरेको ‘वृक्षवाद’ को छहारीमा गएर एमाले र काँग्रेसका नेता पनि सुस्ताए हुन्छ ।

प्रतिक्रिया