आशावादी छु तर कुरेर बस्दिनँ

Subash Nembangसंविधान निर्माण प्रक्रियामा देखिएका सकारात्मक संकेतले सहमतिमा संविधान निर्माण हुने सम्भावना देखिएको हो ?

दिइएको समयभित्र सहमति नै भइसकेको त होइन । दलहरूले मागेभन्दा धेरै समय पाइसकेका छन् । ३० गतेसम्म मात्र हिसाब गर्ने हो भने पनि दलहरूले दुई महिनाको समय पाइसकेका छन् । यति हुँदाहुँदै पनि धेरै सकारात्मक कुरा के हो भने अहिले दलहरूबीच संवादहीनता तोडिएको छ । नेताहरू हार्दिकतापूर्वक वार्तामा बसिरहेका छन् । उहाँहरूकै भाषामा भन्ने हो भने क्लिक हुन मात्र बाँकी छ, त्यसैले अहिलेको यो प्रयास धेरै सकारात्मक स्थितिमा छ ।

यसबाट तपाईंमा पनि आत्मविश्वास बढेको हो कि अब सहमतिमा प्रक्रिया अघि बढाउने अवस्था भयो भनेर ?

अब म आशावादी छु, तर म जुनसुकै परिस्थितिका लागि पनि तयार छु किनभने यसपटक संविधानसभाबाट संविधान बन्नै पर्छ । तर, दलहरूबीच भइरहेका छलफललाई नगिचबाट हेरिरहेकाले र कतिपय छलफलमा आफैँ सहभागी भएकाले पहिलेभन्दा बढी धेरै आशावादी पनि छु । अब दलहरूले चाहने हो भने दलहरूबीच तुरुन्तै सहमति हुने अवस्था पनि छ ।

पछिल्लो सयम पनि मैले पुष्पकमल दाहालजीलाई दुईपटक भेटेँ, उहाँ यहीँ मेरै निवासमा आउनुभएको थियो, प्रधानमन्त्रीजी, केपी ओलीजीसँग भेटेँ । अरू विभिन्न दलका विभिन्न तहका नेतासँग पटकपटक भेटेँ, प्रमुख सचेतकसँग त मैले पटकपटक बैठक नै गरेको छु । यी सबै बैठक छलफल, भेटघाटबाट यसपटक सहमतिलाई मूर्तरूप दिन र सहमतिकै आधारमा टुंगोमा पुर्‍याउनेमा आशावादी छु ।

यस्तो सकारात्मक वातावरण बनिरहेका बेला प्रमुख सचेतकचाहिँ शीर्ष नेताको औपचारिक बैठक नडाकिदिनुस् भन्दै छन् नि ?

अब मलाई सबै दल र नेताले तपाईंले पहल गरिदिनुपर्‍यो भन्नुभएको छ र म पहल गरिरहेको छु । त्यो कसरी गर्ने ? शीर्षनेतालाई एउटा औपचारिक बैठकमा राखेर गर्ने या फरक गरेर विभिन्न तहका अनौपचारिक छलफल गर्ने भन्नेमा यसपटक अलि फरक छ । यसपटक शीर्ष तहको छलफल एकैपटक नगरौँ भन्ने दृष्टिकोण अलि बलियो देखिएको छ । यति हुँदाहुँदै पनि कतिपय प्रसंगमा शीर्ष नेताको बैठक आवश्यक हुन सक्छ । म छलफलमा छु, आवश्यक पर्‍यो भने शीर्षनेताको बैठक आजभोलि नै बस्न सक्छ ।

शीर्षनेताको बैठकचाहिँ ‘म्युचुवल अन्डरस्टान्डिङ’ का लागि हो ?

अहिले निकै लामो समय भयो । शीर्ष नेताको औपचारिक बैठक बसिरहेको छैन, त्यसैले शीर्ष नेताको बैठकको यो सन्दर्भमा पनि बस्नु उपयुक्त हुन्छ जस्तो लाग्छ । अर्को कुरा, मैले चैत ५ गते शीर्ष नेताको बैठक मेरै कार्यकक्ष सिंहहदरबारमा राखेर ‘फ्रम द हर्सेस माउथ’ म शीर्ष नेताकै मुखबाट सुन्न चाहन्छु, प्रधानमन्त्री, विपक्षी दलका नेता र अन्य शीर्ष नेताको मुखबाट नै सुन्न चाहन्छु, स्थिति के हो, अहिले पनि जनता शीर्ष नेताकै मुखबाट सुन्न चाहन्छन् कि स्थिति के हो ?
वास्तममा उहाँहरूले जुन सहमतिका कुरा गरिराख्नुभएको छ, सहमतिका लागि समय माग गरिरहनुभएको छ र माग गरेभन्दा धेरै समयमा पनि सहमति भइसकेको छैन, यो कुरा जनता शीर्ष नेताको मुखबाट सुन्न चाहन्छन् । यो सन्दर्भमा पनि शीर्ष नेताहरूको बैठक आवश्यक पर्छ कि । यो अवस्थामा अब कहिले टुंगिन्छ, हाम्रा दल र दलका नेताको दुई घन्टा कहिले टुंगिन्छ भन्ने सुन्न पनि दलका नेताको बैठक छ ।

दलका नेताको कुरा गर्दा विपक्षीले दुई चरणका आन्दोलन सकेर थप घोषणा गरेका छैनन्, सत्तापक्षबाट पनि संविधानसभाले थालेको प्रक्रिया अघि बढाउनेभन्दा विपक्षीलाई कुरेको जस्तो देखिन्छ । योबीच दलले धरातलीय यथार्थलाई स्वीकार गरेका हुन् ?

पहिलाभन्दा दलहरूले यथार्थतालाई महसुस गरेको जस्तो लाग्छ, वास्तवमा एकातिर संविधानसभा सबैसँगकै सल्लाहले सहमतिका लागि अनिश्चितकालको समय दिइएको अवस्था छ । अहिले बैठक बस्न सुरु भएको छ । प्रक्रिया सुरु भएको छैन । सहमतिलाई समय दिइएको छ, । अर्कोतिर विपक्षी दलको पनि आन्दोलन स्थगित छ र अहिलेसम्म उहाँहरूको नयाँ आन्दोलन घोषणा छैन । मैले आन्दोलनका नयाँ कार्यक्रम घोषण नगर्न पनि आग्रह गरेको छु ।

सबै दल र दलका नेतासँग मैले भेटेको छु, सबैले सहमतिबाट संविधान बनाउनुपर्छ र हामी बनाउँछौँ, सहमति गर्छौं भनिरहनुभएको छ, यो सब हेर्दा उहाँहरू धेरै सकारात्मक देखिनुभएको छ । तर, यी सबै मीठा कुरा भए, मुख्य कुरा उहाँहरूले परिणाम निकाल्नुपर्छ, परिणाम आएन भने यी सबै मीठा कुराको अर्थ हुँदैन ।

म फुटबलको फ्यान हुँ, ९० मिनेट राम्रो फुटबल हेरेर हुँदैन, बललाई पोजिसनमा राखेर गोल गर्नुपर्छ । जतिसकै सकारात्मक भए पनि त्यसको परिणाम नआउने हो भने त्यसको कुनै अर्थ हुदैन । त्यसैले दलका नेतालाई भनिरहेको छु, ‘अब तपाईंहरूले परिणाम देखाउनुस्, परिणाममुखी वार्ता गर्न सक्नुभएन भने लामो समय कुरिरहन सकिँदैन ।’

यसको मतलब उहाँहरू कुराजस्तै मीठो निष्कर्षमा पुग्नुहुन्छ, होइन भने प्रक्रियाका लागि सबैले तयार भएर बस्नुपर्छ भन्ने हो ?

लामो समयदेखि एउटा कुरा भन्दै आएको छु र पछिल्लो समय झन प्रस्ट शब्दमा दोहोर्‍याइरहेको छु । संविधानसभाको र मेरो प्राथमिकता भनेको सहमति हो । त्यसैले दल र दलका नेतालाई आग्रह गरिरहेको छु । तपाईंहरू सहमति गर्नुस्, अर्थात् जुन विवादका विषय छन्, ती विषयमा दलहरू धेरै नजिक पुगेका छन् । साँच्चै भन्ने हो भने दल र दलका नेताहरूकै भाषामा भन्ने हो भने यी विषयमा सहमति गर्न दुई घन्टा पनि लाग्दैन । यी विषय टुंग्याऊन् ।

मेरो आग्रह छ, विवादित विषयमा पनि सहमति गर्नुस्, दल र दलका नेताले त्यो कुरा गरिदिनुभयो भने संविधानसभा सहमतिको आधारमा अघि बढ्छ । त्यो सहज पनि हुन्छ । संविधान बन्छ, तर यदि कुनै कारण, अप्ठ्यारोले विषयमा सहमति गर्न सक्नुभएन भने प्रक्रियामा सहमति गर्नुस्, हामी त्यो प्रक्रियाबाट अघि बढ्छौँ । दलहरूलाई मैले एउटा अवस्थामा भनेको थिएँ, ‘तपाईंहरूलाई कुनै अप्ठ्यारो छ भने नियम निलम्बन गरेर भए पनि मलाई अधिकार दिनुस्, म संविधान विधेयक १० दिनमा तयार गरिदिन्छु, त्यसपछि बाँकी रहेका सम्पूर्ण प्रक्रिया अपनाएर संविधान बनाउँदा हुन्छ, त्यो राम्रो हुन्छ ।’ तर, दलका नेताले अहिले बेला भएको छैन, हामी आफैँ सहमति गर्छौं भन्नुभयो ।

तर, यत्रो समय प्राप्त भइसक्यो । पहिलाको समय हिसाब गर्दिनँ, धेरै लामो समय दिइसकिएको छ, साँच्चै भन्ने हो भने विगतको संविधानसभाको चार वर्ष र यसपटकको एक वर्ष सिंगै जोड्ने हो भने त त्यो पाँच वर्ष नै सहमतिका लागि दिइएको समय हो । यसपटक माघ ११ गतेबाट माघ २९ गतेसम्म १८ दिनको समय संविधानसभाले उपलब्ध गराएको छ । तर, उहाँहरूले भन्नुभयो, ‘यो मिति तोकेर समय दिँदा अप्ठेरो भयो ।’ दल र नागरिक समाजको आग्रहमा माघ २९मा मिति नतोकी संविधानसभाको बैठक स्थगित गरेँ । तर यत्रो लामो समय बितिसक्दा पनि दलहरूबीच सहमति हुन सकेन । ३० गतेसम्म ठीक दुई महिना पुग्यो ।
पछिल्लो समय संविधानसभा बैठक राखेपनि एजेन्डा तोकिएको छैन । संविधानसभाको प्राथमिकता सहमति हो, संविधानसभाको एजेन्डा भनेको सहमति हो ।

नेपाली राजनीतिमा अदृष्य शक्तिको प्रभाव छ भनिन्छ, त्यसलाई मान्ने हो भने ठूला नेताका केही बाध्यता होलान् तर जनताका प्रतिनिधित्व गर्नेको भूमिका केही हुन्छ नि ?

सबैभन्दा पहिले यो बाह्य प्रभावका कुराबारे एउटा टिप्पणी राख्न चाहन्छु । मलाइ गाउँघरको बुढापाकाको भनाइ याद आउँछ । ‘आफ्नो थैली दह्रो राखौँ अरूलाई चोर दोष नलगाऔँ ।’ आफ्नो थैली दह्रो राख्ने भनेको हामी एकताबद्ध भएर जनतामा गएर जनादेश मागेर जनताको जनादेश पाएर संविधान बनाउने हो । जनताबाट जुन जनादेश पाएका छौँ, एकजुट भएर संविधान बनाउने भनेका छौँ । त्यो गर्‍यो भने हामीले कसैलाई आरोप लगाउनु पर्दैन ।

अर्को कुरा गाउँघरकै भनाई यसैसँग सम्बन्धित छ, ‘घरझगडा नगरौँ,घर झगडा भयो भने छिमेकीले झ्यालबाट टाउको छिराएर उपदेश दिन्छ है ।’ मलाई यी भनाइप्रति विश्वास पनि छ । त्यसैले हामी मिले भइहाल्छ । दलहरूले जनताबीचमा भनेका हुन कि हामी संविधान नबन्दासम्म मिलेरै अघि बढ्छौँ । सफलता पाएपछि मिलेरै संविधान बनाउछौँ । त्यसैले जनतासँग गरेको प्रतिबद्धताअनुरूप आफू मिल्यो भने कसैले अतीर्, उपदेश दिन पनि पाउँदैन ।

जहाँसम्म दोस्रो पक्ष छ, मैले अघि नै भनेँ, ‘दलहरूले सहमति गरिदिँदा सबभन्दा राम्रो, किनभने दलहरूले जनताको विश्वास प्राप्त गरेका छन्, जनतासँग गरेको प्रतिबद्धतालाई सम्भँmदै दलहरूले सहमति गर्ने हो भने संविधानसभालाई सजिलो हुन्छ ।’ संविधानसभामा दलकै प्रतिनिधि उपस्थित छन् । संविधानसभामा चुनावमा दलकै निर्वाचन घोषणापत्रलाई बोकेर जनताको विश्वास जितेर आएका प्रतिनिधि छन् ।

गत २३ गतेको र ३० गतेको बैठक दु:खद घट्नाका कारणले शोक प्रस्ताव पारित गरेर स्थगित गरे पनि समयका हिसाबले दलीय चाहनाअनुरूप नै भएको छ उसो भए ? अब आउने बैठकले संविधानसभाको आगामी खाका स्पष्ट पार्छ त ?

सोमबारको बैठक पनि दु:खद प्रसंग पर्‍यो, त्यसैले हामीले पूर्वसांसद् सलिक मिया अन्सारीलाई श्रद्धाञ्जली दिएर स्थगित गर्नुपर्‍यो । अब अर्को बैठकमा हामीले हाम्रो कामलाई नियमबमोजिम अघि बढाउनुपर्ने हुन्छ । यो प्रस्टैसँग पछिल्लो सयम मैले संकेत गर्दै आएको छु । अब थप स्पष्टसँग भन्न चाहन्छु कि हामीले धेरै सयम पर्खन सक्ने अवस्था छैन ।

भनेको अब आउने बैठकले सहमति भए सहमतिमा नभए मत विभाजनको प्रक्रिया सुरु गर्छ ? अन्योल रहँदैन ?

निश्चय पनि अर्को बैठकबाट कार्यसूचीका साथ संविधानसभाको बैठक यसरी अघि बढ्छ भनेर प्रस्टसँग भन्नुपर्ने हुन्छ ।

सबैको मनमा रहेको प्रश्न हो संविधान कहिले आउँछ ? माघ आठमा संविधान नआएपछि अब कहिले आउँछ त ?

अहिले नै यो मिति भनेर भन्नु ठीक हुँदैन, त्यो परिपक्वता पनि हुँदैन । दलहरूबीचको छलफलदेखि लिएर यसलाई आवश्यक धेरै कुरा छन् । तर एउटा कुरा केचाहिँ म संकेत गर्छु भने माघ आठ गतेभित्रमा संविधान जारी गर्छौं भनेर हामीले प्रतिबद्धता जनायौँ । यो प्रतिबद्धता त्यसै जाहेर भएको थिएन । यो त जनताबीचमा दलहरूले घोषणापत्रमै भनेको कुरा थियो । त्यसैले यो सुरुदेखिकै हाम्रो प्रस्ट अडान हो र यो अडानबाट यताउती हुनु हुँदैन भन्ने मान्छे हुँ म ।

निर्वाचनको घोषणापत्रले विगतको संविधानसभाको सहमतिलाई स्वामित्व ग्रहण गरेर एक वर्षभित्र संविधान सहमतिबाट निर्माण गर्छौं भनेका छौँ, एकले अर्कालाई जित्नेगरी घोषणपत्र ल्याएका छौँ । हामीले जनताले चार वर्षमा नसेकको कसरी गर्न सक्छौँ भन्ने प्रश्नको जवाफसहित घोषणापत्रमा उल्लेख गरेका छौँ । सहमतिबाट बनाउँछौँ, सहमति नभए नियमबमोजिममको प्रक्रियाबाट बनाछौँ भनेर सबै दलले भनेका छन् । त्यसैले अहिले संविधानसभाको नियमअनुसार अघि बढ्दा कसैले पनि प्रश्न उठाउने ठाउँ छैन । त्यतिबेला सबै दलले भनेको याद छ, त्यसैअनुरूप अघि बढ्ने हो ।

दलहरूका तिनै प्रतिबद्धताका आधारमा माघ आठ गते संविधान जारी गर्ने गरी नियमावली र कार्यतालिका बनायौँ, तर पनि दुर्भाग्यवश माघ आठ गते संविधान बन्न सकेन, हामीले जनतासँग गरेको प्रतिबता पूरा हुन सकेन, अब प्रतिवद्धताअनुरुप काम गर्न नसकेकामा हामीले दुखित हुनुपर्छ, जनतासँग क्षमा माग्नुपर्छ ।

अब के त ?

संविधानको कुरा गर्ने हो भने चार वर्षको छ, तर हाम्रो प्रतिवद्धता र जनताको जनादेश भनेको एक वर्षको हो । एक वर्ष हामीले बितायौँ, हामीले दु:ख व्यक्त गरेर क्षमाप्रार्थी भएर सँगसँगै जिम्मेवार भूमिकासहित पूरा पनि हुनु पर्छ ।

अबचाहिँ कहिले भन्ने ठोस जवाफ दिनुपर्‍यो भनेचाहिँ ?

एक वर्षमा संविधान जारी गर्छौं भनेर उत्तर पनि निर्वाचन घोषणापत्रमा उल्लेख सबैको निर्वाचनको घोषणापत्रमा छ । एकले अर्कालाई जित्ने गरी प्रतिवद्धता जाहेर गरेका छौँ । हामी विगतको संविधानसभाको विगतको कामकारबाहीको स्वामित्व ग्रहण गरेर एक वर्षभित्र संविधान बनाउँछौँ । कथम्कदाचित सहमति हुन नसकेको अवस्थामा हामी प्रक्रियाबमोजिम अगाडि जान्छौँ । अब कहिलेसम्म संविधान बन्नुपर्छ भन्दा बाँकी ३ वर्षको समय छ भन्न मिल्दैन । म कानुनको विद्यार्थी भएको नाताले पनि हिजो हाम्रो १ वर्षको प्रतिबद्धता थियो । अब त एक वर्ष पनि भन्न मिल्दैन । हामीले जतिसक्दो चाँडो संविधान बनाइसक्नुपर्छ । जतिसक्दो चाँडो नियमावली, कार्यतालिकाबमोजिम निश्चित समयमा यो काम गर्ने भनेको छौँ । जति बाँकी काम छ, त्यसलाई आवश्यक पर्ने कमसेकम समयलाई ध्यानमा राखेर जतिसक्दो चाँडो संविधान बनाइसक्नुपर्छ । यो मान्यताभित्र संविधान सभाभित्रको कामलाई अगाडि बढाउन म प्रतिबद्ध छु ।

यो भनेको मनमा चाहिँ यो डेटमा गरिसक्ने भनेर सझदारी पनि बनाउने तर घोषणा नगरिकन यो दिन भनेर जारी गरेर सुखद खबर दिने भन्ने हो कि ?

निश्चिय पनि मैले अघिको भनेको मान्ने हो भने ३ वा ४ महिनामा कुनै समय निस्कन सक्छ । तर सयम तोकेर यो समय भन्नुभन्दा पनि आवश्यक पर्ने कमसेकम समयभित्र रहेर हामीले संविधान जारी गर्नेबारे सोच्नुपर्छ ।

संविधान जारी गर्न विगतको कार्यतालिका ध्वस्त भइसक्यो । त्यसको अर्थ भएन । अब कार्यतालिका कसरी बनाएर अगाडि बढिन्छ त ?

अहिले हामी सबैभन्दा पहिला नजिकको काम जुन छ, त्यो कामलाई जतिसक्दो चाँडो सिध्याउन सकिन्छ । त्यो अनुसार समय छोट्याएर अगाडि बढिरहेको अवस्था हो । अहिले कार्यतालिकाबारे हामीले छलफल गरिरहेका छैनौँ । हामीले कामलाई प्राथमिकतामा राखेर संविधान निर्माणको काम चाँडै टुंग्याउँ भनेर लागिरहेको अवस्था हो । तर तपाईंले भनेको कुराजस्तै दलसँग संविधानसभामा बसिरहेको कुरा हो । त्यसलाई ध्यान दिएर अगाडि बढ्छौँ ।

अरू केके गर्न सकिन्छ ?

हामी सबैले दल र दलका नेताको ध्यानाकर्षण गराउनुपर्छ । संविधान निर्माणको काम एक वर्षमा टुंग्याएर बाँकी ३ वर्षमा देशलाई विकास गर्छौं भन्नेमा झक्झकाउनु छ । हामीले ४ वर्षको संविधानसभाको कालखण्डलाई जनतामाझ उभिएर समय विभाजन गरेका छौँ । बाँकी ३ वर्षमा नेपाललाई एउटा विकसित देशको हाराहारीमा पुर्‍याउँछौँ ।

पोलिटिकल लेजिटीमेसी त अब यो संविधानसभालाई छैन, लिगल लेजिटिमेसी बचाउन सकिएला त ?

निश्चय पनि संविधानसभाले ४ वर्षको समयावधि दिएको छ भनेर उम्कन पाइँदैन । संविधानले ४ वर्ष काम गर्ने अधिकार दिएको छ । तर, हामीले जनतासमक्ष जे व्यक्त गरेका छौँ, त्यो हाम्रो ठूलो नैतिक बन्धन हो । दल र दलका नेताले जनतासमक्ष गरेका बाचाबन्धन पूरा गर्न सकिइएन भने हामीलाई के आधारमा विश्वास गर्ने ? संसारले विश्वास गर्ने यो कुरालाई हेक्का राख्नुपर्छ । र, यो कुरा सबैसमक्ष राखेर आदरणीय दाजुभाइ, दिदीबहिनी, नागरिक समाजलाई के आग्रह गर्छु भने निर्वाचन घोषणापत्रमा व्यक्त गरेका प्रतिबद्धतालाई ध्यान दिन लगाउनुहोस् । सकारात्मक दबाबको कार्यक्रम सिर्जना गरेर संविधान अब चाँडै बनाउन उहाँहरूले गरेको प्रतिबद्धताअनुसार देशको विकासमा लाग्न सबैले सकारात्मक जवाफ दियौँ ।

प्रतिक्रिया