स्वाइन फ्लुका बिरामी घटे

swinefluचितवन, २३ चैत । सर्र्वसाधारण त्रसित हुने गरी बढेको स्वाइन फ्लुका बिरामीको संख्यामा कमी आएको छ ।

चितवन जिल्लामा माघको दोस्रो सातादेखि देखिन थालेको स्वाइन फ्लु फागुनको अन्तिम साता र चैतको पहिलो साता ह्वात्तै बढेको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार भरतपुरको सरकारी अस्पतालमा दैनिक २० देखि २५ जनासम्म स्वाइन फ्लु आशंकाका बिरामीको नमुना संकलन गरिएको थियो । यो संख्या घट्दै आएर हाल दैनिक चार/पाँच जनामा झरेको छ ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार माघको दोस्रो सातादेखि हालसम्म ४४७ को नमुना परीक्षणका लागि पठाइएकामा १५३ मा स्वाइन प्रमाणित भएको छ ।

जसमध्ये ८८ महिला छन् भने ६५ पुरुष । प्रमाणित भएकामध्ये सबैभन्दा बढी चितवनका १२८ र नवलपरासिका १५ छन् ।

त्यसैगरी, रौतहट, धनुषा, कास्की, गोरखा, रुपन्देही, पर्सा, तनहुँ, काभ्रे, महोत्तरी र बाराका एक/एक रहेको केसीले बताए ।

जिल्लामा सरकारी अस्पताल भरतपुर अस्पतालमा मात्र नमुना संकलन गरिँदै आएको छ । अस्पतालमा तीव्र परीक्षणका क्रममा शंकास्पद देखिए पीसीआर परीक्षणका लागि काठमाडौं पठाइन्छ ।

जिल्ला जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले बिरामी घटेसँगै भरतपुर अस्पतालमा राखिएको सहयोग कक्ष हटाइएको बताए ।

प्रतिक्रिया