बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

BPKHISधरान, २२ चैत । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विरोध र विवादका कारण अस्तव्यस्त बन्न पुगेको छ ।

प्रतिष्ठान कर्मचारी, शिक्षक तथा विद्यार्थीको आधिकारिक सङ्गठन कर्मचारी कल्याण समाजबाट असन्तुष्ट बन्दै निर्माण भएको राजन कोइराला नेतृत्वको कर्मचारी कल्याण तदर्थ समितिले आज प्रतिष्ठानको चार प्रमुख पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

प्रतिष्ठानका उपकुलपति प्रा डा बलभद्रप्रसाद दासले स्थानीय एक दैनिक पत्रिकामा कर्मचारीलाई ‘फटाहा” भन्ने अभिव्यक्ति दिएको आरोपमा आक्रोशित कोइराला समूहले आज बिहान तालाबन्दी गरेका हुन् । समितिले प्रतिष्ठानका उपकुलपतिलगायत अस्पताल निर्देशक, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको राजीनामाको माग गरेका छन् ।

उपकुलपति प्रा डा दास, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, शिक्षाध्यक्ष प्रा डा विक्रमप्रसाद श्रेष्ठ र अस्पतालका निर्देशक डा अरविन्दकुमार सिन्हाको कार्यकक्षमा तालाबन्दी गरिएको हो । तदर्थ समितिका अध्यक्ष कोइरालाले उपकुलपति प्रा डा दासले कर्मचारीहरू फटाहा हुन् भन्नेखालको अभिव्यक्ति दिएकाले आफूहरू तालाबन्दीमा उत्रिएको बताए ।

यता, उपकुलपति प्रा डा दासले प्रतिष्ठानको आन्तरिक सूचना बाहिर दिने जो कोही व्यक्ति भए पनि तिनीहरू फटाहा हुन् भनेर आफूले भनेको तर कोही व्यक्ति वा सङ्गठनलाई नकिटेको बताए ।

प्रतिक्रिया