सर्पदंश उपचार केन्द्रको काम प्रभावित

Snake Sarpसर्लाही, २१ चैत । ट्रान्सफर्मर जलेका कारण विद्युत् अवरुद्ध हुँदा सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्र प्रभावित भएको छ ।

उपचार केन्द्रमा जडान भएको विद्युत् लाइन वितरण हुने ट्रान्सफर्मर पाँच दिनअघि जलेपछि हाल जेनेरेटरको भरमा सर्पदंशविरुद्धको औषधि (एन्टी स्नेक भेनम) चिस्याउनु परेको उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष रामजी पोखरेलले जानकारी दिए ।

उपचार केन्द्र सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पतालबाहेक जिल्लाको उत्तरी क्षेत्रमा सर्पदंशविरुद्ध सेवा दिने उत्तरी क्षेत्रकै एकमात्र अस्पताल हो ।

‘सर्पदंशको औषधि २४ सैँ घण्टा चिसोमा राख्नुपर्छ’ अध्यक्ष पोखरेलले भने, ‘उपचार केन्द्रमा विद्युत् सुचारु हुने ट्रान्सफर्मर जलेपछि अहिले जेनेरेटरका भरमा उपचार केन्द्र सञ्चालन गरिरहेका छौँ, त्यो जेनेरेटर बिग्रियो भने फेरि थप समस्या आइलाग्छ ।’

बढ्दो गर्मीसँगै सर्पदंशका बिरामीको चाप बढ्न थालेकाले विद्युत् अभावमा औषधि चिस्याउन समस्या हुँदा सेवामा केही प्रभाव परेको अध्यक्ष पोखरेलको भनाइ छ ।

आव ०७०/०७१ मा ७०६ जना सर्पदंश बिरामीको सफल उपचार गरेको उपचार केन्द्रमा चालु आर्थिक वर्षको साउनयता ४५४ जनाले लाभ पाइसकेका छन् ।

नेपाल विद्युत प्राधिकरण प्रशाखा लालबन्दीका प्रमुख रामेश्वर रायले जलेको ट्रान्सफर्मर मर्मतका लागि जनकपुर पठाइसकिएको र एकसाताभित्र आउन सक्ने बताए ।

प्रतिक्रिया