टेलिमिडिसिएनमा उपचार गराउनेको घुइँचो

Doctor Ladyकालीकोट, २० चैत । दुर्गम गाउँमा रहेको टेलिमिडिसिएनमा काठमाडौंबाट चिकित्सक पुगेपछि उपचार गराउनेको घुइँचो लागेको छ ।

टेलिमिडिसिएन सेवाको स्थलगत अध्ययनका लागि टेली हेल्थ फाउन्डेसन काठमाडौंबाट सिप्खाना पुगेपछि उपचार गराउनेको सङ्ख्या बढेको हो ।

०६७ देखि कालीकोटको सिप्खानामा काठमाडौंका चिकित्सक मुनि शाक्यबाट उपचार हुँदै आएकामा बीचमा प्रविधि कठिनाइका कारण समस्या आएको र पछिल्लो समयमा व्यवस्थित ढङ्गले अघि बढाउनका लागि चिकित्सक प्रभात अधिकारी र सुनिता ढुङ्गाना आएपछि सिप्खाना तथा स्युना र मुुम्रा गाविसका स्थानीयवासीको उपचार गराउने घुइँचो लागेको हो ।

यसअघि इन्टरनेटबाट सल्लाह–सुझाव लिएका स्थानीयवासीले प्रत्यक्ष चिकित्सकबाट जाँच भएपछि खुसी हुँदै उपचार गर्न सेवालाई व्यवस्थित गर्न अनुरोध गरेका छन् ।

यसैबीच सेवा निरन्तर सञ्चालनका लागि टेलिमिडिसिएनका बारेमा चिकित्सक, स्थानीयवासी, त्यहाँस्थित राजनीतिक दललगायत सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।

सो अवसरमा टेलिमिडिसिएनको दीर्घकालीन सञ्चालनका लागि राजनीतिक दल, सामाजिक अगुवाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा चिकित्सक अधिकारीले आफूहरूले दुर्गमका बिरामीका लागि निःशुल्क सेवा दिएको बताउँदै कालीकोटमा नमुनाका रूपमा सञ्चालन भएकाले समुदायले यसको निरन्तरताका लागि अग्रसर हुनुपर्ने उल्लेख गरे ।

उनले आफूहरूले कालीकोटमा कम्प्युटर, इन्टरनेटलगायतका साधनको व्यवस्था र प्रत्येक शनिबार बिरामी उपचारमा समय दिने बताए ।

प्रतिक्रिया