काठमाडौं, १९ चैत । साहित्यकार कलानिधि दाहालको उपन्यास ‘अरस्तुदेखि बंकरसम्म’ विमोचन समारोहमा पुरानै शैली खोज्नेदेखि नयाँ प्रयोगको प्रशंसा गर्नेको वादविवादजस्तै भयो । धेरैले दाहालको उपन्यासमा कथानकभन्दा पनि मजबुत तर्क भएको भन्दै ‘तर्क संग्रह’को नामकरण गर्दा उचित हुने धारणा व्यक्त गरे । त्यहीबीच अर्को समूह देखियो जसले पुराना शैलीको लेखनले अहिलेको पुस्ताको साहित्यिक सोचलाई छुन सक्दैन भने । त्यसैले दाहालको यो प्रयास नयाँ आयाम हुन सक्ने उनीहरूले बताए ।
उपन्यासले के सन्देश दिन खोजेको भन्ने प्रश्नमा लेखकचाहिँ यसरी प्रस्तुत भए, ‘उपन्यास आफैंले कुनै सन्देश दिन खोजेको छैन ।’ उपन्यासले सन्देश नदिए किन पढ्ने त ? उनले फेरि जवाफ दिए, ‘अहिलको जीवन पद्धति सन्देशबाट निर्देशित छैन, भोगाइबाट प्राप्त सन्देश मात्र आजको समाजलाई ग्राह्य हुन्छ, त्यसकारण सन्देश दिएर लेख्ने परम्परागत शैली चल्दैन भन्ने यो उपन्यासको सन्देश हुन सक्छ ।’
उनले पात्रहरूबाट पाठकले जे सन्देश लिन्छन् त्यो खुला राखेको बताए । उनका तर्कमा प्राडा गोविन्दराज भट्टराई र प्राडा मोहनराज शर्माले समर्थन जनाए भने प्रा. पुरुषोत्तम दाहाल, प्राडा कुमारप्रसाद कोइराला र प्राडा कुलप्रसाद कोइरालाले विमति राखे ।
पौराणिक दर्शनका सतपात्र अरस्तुलाई नेपालमा जन्म दिएर विपुल नाम दिएका दाहालले तीन पात्रको संयोजन गरेका छन् । विपुल समाजका आदर्श पात्र छन् भने, विकास बौद्धिक उचाइलाई विश्वास गर्ने र विशाल आर्थिक सोचले मात्र अघि बढ्ने पात्र हुन्छन् । उनले यिनै पात्रका माध्यमबाट अहिलेको समाजको चरित्र चित्रण गर्दै अघि बढ्नेको सुःखद भविष्य र आफू मात्र बाच्नेको दुःखद अन्त्यको सन्देश दिएका छन्।
यस उपन्याससँगै रञ्जुश्री पराजुलीको निबन्ध संग्रह ‘स्वप्नस्पर्श’ पनि विमोचन गरिएको थियो ।
प्रतिक्रिया