केही समयअघि बाराका ७ वर्षीया बालिका पूजा साहको बलात्कारपछि हत्यासम्बन्धी घटनामा अभियुक्तले बयान दिँदा सुन्नेहरूलाई लाग्दै थियो– ‘अभियुक्तलाई दिइने कुनै पनि कारबाहीबाट पूजाको आत्माले शान्ति पाउँदैन ।’
यो त एउटा प्रतिनिधि घटना मात्र हो । महिला हिंसाविरुद्ध आवाज उठाउने हाम्रो समाजका अगुवा पछिल्लो समय बालिका हिंसाको विरोधमा केन्द्रित हुन थालेका छन् । केही वर्षयता दिनहुँजसो दुई–चार बालिकामाथि हुने यौन दुर्वव्यहारको घटनाले समाचारपत्र ओगट्नु, टेलिभिजन एवं अनलाइनमा समाचार आउनु सामान्यजस्तै बनेको छ । यो अवस्था हेर्दा हाम्रो समाज यति धेरै विवेकहीन देखिँदै छ कि अभिभावककै संरक्षणप्रति पनि शंका गर्नुपर्ने भएको छ । बाबुले छोरीको अस्मितामा धावा बोल्ने, दाजुले बहिनीमाथि आँखा गाँड्ने, काकाले भतिजीको बालपनमा खेलवाड गर्ने र गुरुले चेलीको शरीर सुमसुमाएको समाचार कति लेख्नु ? कति पढ्नु ? आखिर कहिलेसम्म र किन यति विघ्न विवेकशून्यजस्तो बन्दै छ समाज ? बगे्रल्ती प्रश्न उठ्न थालेका छन् ।
हुन त समाजमा चरित्रहीन व्यक्ति मात्र छैनन् । यद्यपि, खराब नियत भएकाहरूका कारण एउटी अबोध बालिका बाबुले माया गर्दा झस्किनुपर्ने भएको छ । आफ्नै आँगन र घरका कोठामा अस्मिता जोगाउन गाह्रो भएको छ चेलीबेटीलाई । आफन्त र परिवारजनबाटै अस्मिता लुटिएको घटनाले स्थितिलाई भयावह देखाउँदै छ । जति विरोध गरे पनि यस्ता घटना रोकिन सकेको छैन । सुन्नेलाई त पीडा भइरहेको छ भने भोग्नेहरूको अवस्था कस्तो होला ? यस्तो दर्दनाक अवस्थामा पनि उनीहरू आफूलाई सम्हालेर पीडकलाई कारबाहीको दायरामा ल्याउन लागिपर्नु ठूलो साहसको विषय हो । तर, पीडितले उन्मुक्ति पाउने गरेका घटनाले पीडितप्रति राज्यको बेवास्ता देखिन्छ ।
महिला हिंसा मात्र होइन, बालिकामाथि यौन दुव्र्यवहारका घटनाले हाम्रो समाज संवेदनाशून्य बन्दै गरेको त होइन भन्ने प्रश्न उब्जिन्छ । नाता, सम्बन्ध नै बिर्सेजस्तो लाग्न थालेको छ यति बेला । विवेकी व्यक्तिलाई यस्ता घटनाले अवश्य विक्षिप्त बनाउँछ । अभिभावक नै आफ्नो भूमिका बिर्सेर चेतशून्य भएपछि सनकको परिणामजस्तै बनेको छ यस्ता घटना । सन्तानको औंला समातेर भविष्य देखाउनुपर्ने बुवाले तोते बोल्ने छोरी देखेर मन थाम्न नसकी विवेक गुमाउँछ भने त्यसलाई कसरी मान्ने अभिभावक ? त्यस्ता बुवा, दाजु, काका, मामा, गुरु वा छिमेकी अभिभावकको नाममा कलंक सिवाय केही हुन सक्दैनन् ।
हिंसाका घटना जति बढी सार्वजनिक भइरहेका छन् उति नै समाजका रहेका चेतनशील व्यक्तिको आक्रोश बढ्दै छ । अपराधीमाथि कारबाही गर्न कानुन खुकुलो भयो भन्ने आवाज चर्किंदै छ । यदि कानुनी कारबाहीमा कडाइ गर्ने र पीडकलाई कहींकतैबाट उन्मुक्ति हुन नदिने हो भने यस्ता आपराधिक मनोवृत्ति भएकाहरू समाजमा कम हुन सक्छन् । हाम्रो देशमा मृत्युदण्डको कानुनी व्यवस्था छैन । यसको मतलब अपराधीलाई राज्यको दाल–भात खुवाएर पालिरहनुपर्छ भन्ने पनि त होइन । राज्यले गम्भीर अपराध गरेका अपराधीलाई खुवाउने दाल–चामल हुम्ला, जुम्ला र दार्चुलाजस्ता ठाउँमा भोकै पर्ने जनतालाई दिँदा बेस हुन्छ । हामी गणतान्त्रिक नेपालको नयाँ संविधान कुरेर बसेका छौं । नयाँ संविधानमा महिला हिंसा र बलात्कारजस्ता जघन्य अपराध गर्नेलाई हदैसम्मको कानुनी कारबाहीको व्यवस्था गरिनुपर्छ । कुनै महिलाको अस्मितामाथि खेलवाड गर्नेले उन्मुक्ति नपाओस् । कानुन समय र परिस्थितिअनरूप परिस्कृत हु“दै जाने दस्तावेज हो । यति बेला कानुन निर्माता कठोर हुनु जरुरी बनेको छ । सारा नेपालीले शिर ठाडो पारेर भन्न पाउनुपर्छ– खबरदार ! अपराध गरिस् भने कानुन कडा छ ।
प्रतिक्रिया