मरेको जीवन बाँचिरहेका छन् एकल महिला

yashoda-2दैलेख दुल्लुकी २४ वर्षीया नन्दमाया घिमिरेलार्ई श्रीमान्को मृत्यु भएपछि समाजले शुभकार्यमा वहिष्कार गर्दै आएको छ । उनले गाउँघरमा विवाह, व्रतबन्ध पुराणजस्ता सामाजिक कार्यमा अनुहार देखाउनसमेत पाउँदिनन् । वैदेशिक रोजगारीका क्रममा पाँच वर्षअघि मलेसियामा उनका श्रीमान्को निधन भएको थियो । विधवा भएकै कारण उनले आफ्नो आठ वर्षीय छोराको व्रतबन्धमा पनि छाउपडी बस्ने गोठमै रात बिताउनुपर्‍यो । एक मात्र छोराको व्रतबन्धमा सहभागी हुन नपाएकामा उनी निकै दुःखी छिन् ।
एकल महिलालाई स्वतन्त्र बाँच्नसमेत नदिने परम्पराले आफूलाई अप्ठेरो भएको उनी बताउँछिन् । भन्छिन्, ‘पोई टोकुवा, अलच्छिनीलगायतका नराम्रा शब्द प्रयोग गरेर बोलाउँछन् । त्यसैले म घरबाट कतै पनि निस्कन्न । बाटोमा केहीले त ‘राँडलाई भेटेर साइत बिग्रियो, काम बन्दैन, फर्केर जाऔं भन्छन् ।’
नन्दमायालाई गाउँलेले मात्रै होइन सासूससुरा र परिवारका अरू सदस्यले समेत बारम्बार मानसिक यातना दिने गरेका छन् । ‘उनी त मरेर गए । म सबैबाट टाढा हुन पुगें । अब कसरी जीवतन बिताउने भन्ने चिन्ता छ,’ उनी दुःखेसो पोख्छिन् । त्यति मात्र होइन, उनलाई सासूससुराले विधवा भइसकेपछि मूल घरमा सुत्नसमेत दिएका छैनन् । ‘मूल घरमा कूल देवता छ भन्छन् । दिनभरि त्यही घरमा गएर काम गर्नुपर्छ । रात परेपछि त्यहाँ सुत्न पाइँदैन । मरेको जीवन बाँचिरहेको छु,’ भन्छिन् ।
श्रीमान् बितेदेखि नै उनलाई माछामासु खान नहुने, अरूको मुखमा सिधा भएर हेर्न नहुने तथा साताको एक बार मृत श्रीमान्को नाममा व्रत बस्नुपर्ने बाध्यता छ । उनलाई विधवा भएदेखि नै गाउँलेले बोक्सीको आरोप लगाउँदै गालीगलौज गर्ने गरेका छन् । ‘गाउँका बच्चाहरूले पनि बोक्सी आई’ भनेर कराउने गरेको उनी बताउँछिन् । घर परिवारदेखि गाउँलेको समेत घृणाको पात्र भएकी नन्दमाया परिवारबाट अलग भएर बस्न चाहन्छिन् । तर, उनका सासूससुराले उनको उमेर पुगेको छैन भन्दै अंश दिन मानेका छैनन् । ‘अहिल्यै अंश दियो भने सम्पत्ति लिएर भाग्छे’ भनेर दुःख दिने गरेको उनी बताउँछिन् ।
त्यस्तै अवस्था छ, उदयपुर त्रियुगाकी शर्मिला थापाको पनि । उनलाई श्रीमान्को निधनपछि परिवारसँग अंश लिन नौ वर्षसम्म मुद्दा लड्नुप¥यो । ०६२÷६३ को जनआन्दोलनमा श्रीमान् बितेपछि उनलाई परिवारबाट मानसिक तथा शारीरिक हिंसा हुन थाल्यो । पच्चीस वर्षको युवा अवस्थामा विधवा भएकी उनले भनिन्, ‘श्रीमान्ले कमाएर ल्याउनुहुन्थ्यो र मैले घर धानेको थिएँ । अहिले उहाँको काम आफंैले गर्नुपर्छ भने परिवारका सदस्यले दिने यातनाको त कुरै नगरौं ।’ उनले जेठाजुले दाउराले हानेर भएको घाउँको दाग देखाउँदै भनिन्, ‘भाइ हुँदा बुहारी भनेर बोलाउने जेठाजुको कुटाइ खानु पर्दा कस्तो पीडा हुन्छ ?’ विधवाले खेप्नुपर्ने अपहेलना र छोराछोरीप्रतिको जिम्मेवारी पूरा गर्न निकै अप्ठेरो हुने उनको अनुभव छ । शर्मिला अहिले अलग बसेकी छन् तर पनि उनलाई परिवारका सदस्यले यातना दिन छोडेका छैनन् । छोराछोरी पाल्नका लागि अंश मुद्दा हालेपछि उनलाई केटाहरूसँग हिँडेको बात लगाएर जेठाजुले अंश दिन अस्वीकार गरे ।
यस्तै अवस्था छ, नेपालीे समाजमा धेरै एकल महिलाको । विभिन्न कारणले श्रीमान् गुमाएपछि एकातिर उनीहरू शोकमा रहेका हुन्छन् भने अर्कातिर आफन्तबाटै पाउने मानसिक यातनाले उनीहरूमा ठूलो चोट पु¥याउने गर्दछ । व्याप्त कुरीति, कुप्रथा अनि परम्परासँगै पुरानो संस्कृतिका कारण एकल महिलामाथि विविध खाले हिंसा हुने मानवअधिकारका लागि महिला, एकल महिला समूहकी अध्यक्ष लिली थापा बताउँछिन् । उनी भन्छिन्, ‘श्रीमान् बितेपछि एउटी महिलाको पहिचान नै अर्कै हुन्छ ।
ऊ विधवा हुन्छे । बोक्सी हुन्छे । अब उसले कथित सामाजिक परम्पराका आधारमा के गर्न हुन्छ, के गर्न हुँदैन भनेर सीमा तोकिन्छ ।’ श्रीमान् नहुने बित्तिकै हाम्रो समाजमा महिलाले भोग्नुपरेका धेरै नकारात्मक व्यवहारले गर्दा उनीहरूको आत्मविश्वास हराउने र आफन्तबाटै पीडित हुनुपर्ने अवस्था छ । श्रीमान्को भरमा बाँच्नुपर्ने र श्रीमतीले घरको मात्रै काम गर्नुपर्छ भन्ने मान्यताले गर्दा विधवा हुनासाथ उनीहरू आर्थिक रूपमा कमजोर हुन्छन् जसले गर्दा उनीहरूमा पीडकहरूको सामना गर्न सक्ने क्षमता पनि हुँदैन ।
अछाम घर भएकी मथुरा विकले कानमा लगाएको मुन्द्रा बेचेर अंशका लागि मुद्दा दायर गरेको बताइन् । आफ्नो आम्दानी नभए बिहान र बेलुकाको छाक टार्न पनि नसकिने बताउँदै मथुरा भन्छिन्, ‘बिरामी पर्दासमेत गाउँमा कसैले ऋण पत्याउँदैनन् ।’
यो समाजमा श्रीमतीको मृत्यु भएर श्रीमान् बाँचेको भए महिना दिन नपुग्दै अर्को श्रीमती ल्याउन प्रेरित गर्ने सामन्ती, एकात्मक पुरुषवादी संस्कृतिले जरो गाडेको छ । कतिसम्म भने विधवा भएपछि के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर हिन्दु धर्मशास्त्रमै उल्लेख छ । पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं ज्योतिषशास्त्री माधवप्रसाद भट्टराईका अनुसार चाडबाड, शुभकार्य तथा धेरै मानिसको भींड लाग्ने ठाउँमा विधवा महिला गएमा ‘स्वर्ग’ मा मृत पतिलाई दुःख हुने गर्दछ । यस्तो कथित मान्यताले गर्दा उनीहरू घरमै शोषित पीडित भएर बस्न बाध्य हुन्छन् । यस्ता अनेक धर्म–संस्कृतिका नाममा एकल महिलाले आफ्नै परिवारबाट हिंसा खेपिरहेका छन् भने सिंगो समाजबाट तिरस्कृत हुनुपरिरहेको अवस्था छ ।
समुदायपिच्छे चलनमा रहेका कयौं पुराना संस्कृति र प्रथाका कारण महिलाहरू हिंसाको सिकार भएका छन् भने विधवा महिलालाई झन् अप्ठेरो हुने गरेको छ । सिराहाकी सीता चौधरीले श्रीमान्को घरमा जान नपाइकन विधवा हुनुप¥यो । एक वर्षअघि गाउँकै केटासँग गौना गरेकी सीता भित्र्याउनुअघि नै केटाको सर्पले टोकेर निधन भएको थियो ।
मधेसी समुदायमा गौना भइसकेपछि केटाको मृत्यु हुनुलाई घृणाको दृष्टिले हेरिन्छ । केटाको घरमा जानसमेत नपाएकी सीतालाई आफ्नै आमाबाबुले कुलंगार, अलच्छिनी भनेर गाली गर्न थाले । उनलाई बैकन्या भनेर हेला गरिने गरेको एकल महिला समूह बर्दियाकी अध्यक्ष जमुना रेग्मी बताउँछिन् ।
सरकारले एकल महिलाका लागि आधारभूत सेवा सुविधा नदिएका करण एकल महिलाहरूको मनोबल झन् कमजोर हुने गरेको उनको गुनासो छ । सीता विक र नन्दमायाहरू जस्तै नेपालमा धेरै एकल महिलाले कुनै न कुनै प्रकारका हिंसा भोगिरहेकै छन् । एकल महिलाका लागि राज्यले कुनै पहल नगरेको महिला अधिकारकर्मीहरूको गुनासो छ । एकल महिला समूहकी क्षेत्रीय संयोजक सिर्जना काफ्ले एकल महिलालाई राज्यले रोजगारी दिनुपर्ने बताउँछिन् ।
सरकारसँग एकल महिलाको संख्या कति छ भन्ने कुनै तथ्यांक छैन । मानवअधिकारका लागि महिला, एकल महिला समूहका अनुसार २०६८ सम्मको तथ्यांकमा चार लाख ९५ हजार एकल महिला छन् भने एकल महिला समूहमा ८५ हजार आबद्ध छन् । तीमध्ये पनि २० देखि ४० वर्ष उमेरसम्मका बढी छन् भने उनीहरूसँग दुईदेखि चारसम्म बच्चाको जिम्मेवारी रहेको काफ्लेले बताइन् । काफ्लोका अनुसार छोरा हुँदासम्म माया दिनेले छोरा नहुँदा घृणा गर्न थाल्छन् । परिवारबाट हिंसा भएपछि समाजमा हारगुहार गर्न जाँदा अरूको बात लगाउने गरिन्छ । यस हिसाबले महिलाभन्दा पनि एकल महिलालाई समाजमा बाँच्न निकै कठिन हुने गर्दछ । राज्यले एकल महिलामाथि हुने हिंसा अन्त्य गर्न कुनै पहल गरेको छैन ।
अधिकारकर्मी एवं कानुनविद् सपनाप्रधान मल्ल नेपालमा एकल महिलाले कानुनी रूपमा पूर्णअधिकार पाउन नसके पनि श्रीमान्को निधनपछि महिलाको स्वतन्त्रतालाई कुन्ठित पार्ने खालका नीति तथा कानुनमा परिवर्तन भएको बताउँछिन् ।
भन्छिन्, ‘पहिले एकल महिलाले पतिको सम्पत्ति दाबी गर्न ३५ वर्ष कुर्नुपथ्यो, अहिले १८ वर्षपछि दाबी गर्न सक्छन् ।’ राज्यले एकल महिलाका लागि कानुन तथा नीतिमा केही सुधार गरे पनि अधिकांशलाई त्यसबारे जानकारी छैन । यसले गर्दा उनीहरू सामाजिक, सांस्कृतिक, मानसिक तथा आर्थिक रूपमा पीडित बन्ने गरेका छन् । आफ्नो अधिकारबारे जानकार बन्नका लागि राज्यले नै चेतना फैलाउनुपर्ने भन्दै कानुनविद् मल्ल थप्छिन्, ‘राज्यले विद्यमान कानुन तथा नीतिमा केही परिवर्तन गरेको छ । त्यसबारे सर्वसाधारणलाई जानकारी दिनु पनि त राज्यको दायित्व हो ।’
एकल महिलालाई आफन्तबाटै हिंसा हुने हुँदा समाजमा बाँच्न कठिन छ । महिला, वालवालिका तथा समाजकल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङ एकल महिलाका लागि राज्यले आगामी कार्यक्रममा विशेष व्यवस्था ल्याउने बताउँछन् । उनी भन्छन्, ‘केही वर्षअघि सरकारले बजेटमा ल्याएको कार्यक्रम सफल भएन । आगमी दिनमा महिला र एकल महिलाका लागि नयाँ कार्ययोजना ल्याउने विषयमा छलफल भइरहेको छ ।’
एमाले नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा बजेटमा विधवा विवाह गर्ने एक जोडीलाई ५० हजार रुपैयाँ दिने कार्यक्रम आएको थियो । त्यसको सर्वत्र विरोध भएकाले सफल हुन सकेन । सर्वोच्च अदालतले सो निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिइसकेको छ भने अघिल्लो वर्षको बजेटमा एकल महिलाका लागि कोष स्थापना गर्ने व्यवस्था गरेपछि यस क्षेत्रमा काम गर्नेहरू उत्साहित भएको देखिएको थियो । यसो भए तापनि अझैसम्म हाम्रो समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोणमा अलिकति पनि फरक आएको छैन ।

[email protected]

प्रतिक्रिया