३ महिना खान नपुग्ने बस्तीमा औषधि कहाँ पुग्नु ?

Nepal-Army-In-Jajarkot-Fluजाजरकोट, ८ वैशाख । टालेगाउँ गाउँ विकास समिति खुला दिशामुक्त घोषणा हुँदा टालेगाउँ–३ का उमाकान्त सिंहलाई लागेको थियो, ‘अब गाउँमा कुनै किसिमका रोग फैलिँदैन ।’ १ वैशाखमा ठूलीआमा महिसरा सिंहको मौसमी रुघाखोकीबाटै ज्यान गएपछि उनी छाँगाबाट खसेझैँ भए ।

स्वास्थ्यसंस्थामा औषधि र स्वास्थ्यकर्मीको अभावसँगै स्थानीयलाई धामीझाँक्रीमा विश्वास बढ्दा सामान्य रोग जाजरकोटमा प्रकोप बनेको छ । सरकारले समयमा उपचार व्यवस्था नगर्दा मानिसले अकालमा ज्यान गुमाउनुपरेको उनले बताए ।

मौसमी रुघाखोकी र स्वाइन फ्लुबाट २५ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । चिकित्सकको भनाइमा जनचेतना र सरसफाइको अभाव, गरिबी, पछौटेपन, भौगोलिक विकटता, पौष्टिक आहारको कमी, अस्वस्थ्यकर बानी व्यवहार र फोहर पानीको उपभोग महामारी फैलनुका मुख्य कारण हुन् ।

स्थानीय अमृत गौतम भन्छन्, ‘स्वास्थ्य संस्थामा सधैँ औषधि र स्वास्थ्यकर्मीको अभाव रहनु त छँदैछ, रोग लाग्दा यहाँका मानिस स्वास्थ्य संस्थाभन्दा धामीझाँक्रीको बढी विश्वास गर्छन् ।’
०६६ वैशाखमा रोकायगाउँ–७ का रत्नबहादुर नेपालीको झाडापखाला लागेर ज्यान गयो ।

गाउँमा झाडापखालाका बिरामी थपिँदै गए । त्यसपछि अर्को गाउँ र अर्को गाविस हुँदै जिल्लाभर फैलिएको झाडापखालाले महामारीको रूप लियो र छिमेकी जिल्लालाई समेत प्रभावित बनायो । यसले हैजाको रूपसमेत लियो । जिल्लामा तीन सय बढी मानिसले अकालमा ज्यान गुमाए ।

झाडापखाला फैलनुको मुख्य कारण फोहर पानी, खुला रूपमा दिसापिसाब तथा सरसफाइमा ध्यान नदिनु रहेको निष्कर्ष निकाल्दै जिल्ला विकास समिति, जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, युनिसेफ र रेडक्रसले सरसफाइलाई अभियानका रूपमा अघि बढाउन जिल्ला खानेपानी तथा स्वच्छता समूह (डिवास) मार्फत काम थाले ।
त्यतिबेलादेखि सुरु भएको सरसफाइ अभियानअन्तर्गत १० पुस ०७० मा भेरी अञ्चलको पहिलो खुला दिसामुक्त जिल्ला जाजरकोट बन्यो । तर घोषणा कागजमै सीमित छ ।

गाउँमा निर्माण भएका शौचालयमा कुकुर र बाख्राका खोर तथा कतिपयमा दाउरा घाँस राख्ने प्रयोजनमा प्रयोग भएका छन् । सबैको घरमा शौचालय भएको र प्रयोग भइरहेको सरकारी तथ्यांकमा उल्लेख छ तर वास्तविकता अर्कै छ ।

‘खुला दिसामुक्त त कागजमा मात्र हो,’ नायकवाडा–७ का जनकबहादुर शाहीले भने । खुला दिसापिसाबका कारण संक्रमण छिट्टै फैलने डा. दीपक पुनले बताए । ०६६ मा झाडापखालाबाट आमा रति कार्की गुमाएकी मजकोट–७ की सरिता सरसफाइको अभाव, खुला दिसापिसाब र दूषित खानेपानीको प्रयोगले गाउँमा झाडापखाला फैलिएको बुझेपछि घरघरमा चर्पी बनाउने अभियानमा जुटिन् ।

जिल्ला विकास समितिको तथ्यांकमा ३० हजार तीन सय ४० घरधुरीमध्ये २७ हजार एक सय १५ घरमा पक्की, दुई हजार छ सय सात घरमा कच्ची र छ सय १८ घरमा कच्ची चर्पी बनेका छन् । तर, कतिपय ठाउँमा खानेपानी अभावका कारण चर्पी भए पनि प्रयोग नहुने, प्रयोग भए पनि अत्यन्त फोहर रहेको, कतिपयको बानी, व्यवहारमा अझै परिवर्तन नआएका कारण पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने अभियानमा मुख्य बाधक रहेको यार्सन नेपालका प्रमुख सहदेव बस्नेत बताउँछन् ।

उनले भने, ‘दिसा लुकाउने अभियानमात्र चालियो तर पूर्ण सरसफाइयुक्त जिल्ला बन्न आवश्यक पर्ने पूर्वाधार विकासका लागि कसैले चासो दिएको छैन । यसैको मार अहिले जिल्लावासी भोग्दैछन् ।’

जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयको तथ्यांकमा ८५ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको आपूर्ति भइसकेको उल्लेख छ । जिल्लाका अधिकांश बासिन्दा नाउला, कुवा, धारा र खोलाको पानी खान बाध्य भएको पजारुका प्रेमबहादुर चलाउनेले बताए ।

जिल्ला विकास समितिको वस्तुगत प्रोफाइल–०६७ का अनुसार जिल्लाका ३० गाविसका दुई सय ७० वडामा झन्डै नौ सय बस्ती छन् । तीमध्ये अधिकांश कृषि र पशुपालन व्यवसायमा संलग्न छन् ।

अधिकांश घरको तल्लो तलामा गाईभैँसी बाँध्ने र माथिल्लो तलामा मानिस बस्ने चलन छ, यसले पनि फोहर बढ्ने सम्भावना छ ।

रोकाय गाउँका शिक्षक भीमराज सिंहले भने, ‘धेरैले खाना खानुअघि र चर्पी गइसकेपछि साबुन पानीले हात धुने गर्दैनन् । यसका कारण कीटाणु सजिलै मानिसको शरीरभित्र प्रवेश गर्छन् अनि विभिन्न रोग सर्ने गर्छ ।’

मानव विकास सूचकांक र गरिबी मापन स्तरमा निकै पछि रहेकाले जाजरकोटवासीको रोग प्रतिरोधात्मक शक्ति कमजोर भएको स्वास्थ्यकर्मीले बताए । उत्पादन गरिएको अन्नले तीन महिना पनि खान नपुग्ने हुँदा अन्न आयात गरी खानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया