यातायात कार्यालयमा १५ सय घूस नखुवाउँदा…

ईश्वरी काफ्ले
Ishwari-Kafle-

मूलढोका छिचोल्दै गर्दा फर्केर कार्यालयलाई हेरें । कार्यालयको बोर्डसँगै अर्को बोर्ड पनि रहेछ । त्यहाँ लेखिएको थियो– ‘सवारी चालक अनुमतिपत्र बुझाउन लाग्ने समय ३० मिनेट, क्षतिपूर्ति २ सय ५० देखि १ हजारसम्म, उजुरी सुन्ने अधिकारीको मोबाइल नम्बर………..।’ सो मोबाइल नम्बरमा मैले तु डाइल गरें । जवाफ भने यस्तो आयो– ‘तपाईंले सम्पर्क गर्न खोज्नुभएको नम्बर स्विच अफ गरिएको छ ।’

‘अंकल १५ सय रुपियाँ दिएपछि लाइन–साइनमा बस्नुनपर्ने रैछ, सबै कुरा उसले नै गरिदिने रे ! ऊ त्यै दाइले भनेको ।’ भतिजले त्यहाँ घुमिरहेका एक युवाप्रति औंल्याउँदै मलाई सुनायो । ‘आजै हुन्छ रे काम ?,’ मैले भतिजलाई प्रश्न गरें । ‘होइन, भोलि त आउनै पर्छ रे ! आज त बन्द भइसक्यो भन्छ,’ भतिजले सुनायो । ‘भोलि आफैं आउनुपर्ने भएपछि त्यत्तिका रकम किन दिनु ?’ मैले प्रतिप्रश्न गरें । त्यसपछि हामी काका–भतिज घूस नदिने निर्णयमा पुगी त्यस दिन त्यसै फर्कियौं ।

भतिजका लागि सवारी चालक अनुमतिपत्रको दरखास्त बुझाउन बुधबार बिहान म ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुगेको थिएँ । मेरा भतिजले १० रुपैयाँमा फारम किनेर त्यही घुमिरहेका लेखन्दासलाई ५० रुपैयाँ तिरी भराइसकेको थियो । निरोगिताको प्रमाणपत्र पनि चाहिने रहेछ । यातायात कार्यालयको एउटा कोठामा हामी लाग्यौं । हामीले सुरुमै १० रुपैयाँको रसिद लिएका थियौं । हामी ‘यहाँ स्वास्थ्य परीक्षण गरिन्छ’ भनेर लेखिएको कोठामा पुग्यौं । त्यहाँभित्र बायाँतर्फ कुर्सीमा बसिरहेका एक भलादमी (सायद स्वास्थ्यकर्मी हुन्)ले धमिलो–धमिलो एउटा फोटो एल्बम देखाउँदै सोध्यो, ‘यो कति हो ?’ । भतिजले जवाफ दियो, ‘२’ । एवम्रीतले उसले तीन÷चारवटा फोटा देखायो । भतिजले जवाफ दिँदै गयो, ‘अठ्ठाइस, पच्चिस, अठ्चालिस, अन्ठानब्बे’ अनि उसले रातो कलमले फारमको तीन ठाउँमा कोरिदियो र भन्यो, ‘ल जाऊ तिमी पास ।’ यसको मतलब भतिजलाई निरोगिताको प्रमाणपत्र मिलेको थियो ।

अब रह्यो फारम बुझाउने काम । हामी बिहान ७ बजे कार्यालय पुगेका । दिनमा ४ सय आवेदन मात्र बुझ्ने गरिन्छ, आज (बुधबार)को कोटा सकियो भन्ने जानकारी पाइयो । फर्कन लाग्दा म अलिक अगाडि भएका कारण त्यस बेला भएको बिचौलिया र भतिजबीचको संवाद भने मैले सुन्न सकिनँ । यत्ति मात्र सुनियो कि यहाँ बिहान ३ बजेदेखि नै आवेदन बुझाउनेको लाइन लाग्छ रे ! भोलिपल्ट बिहान ५ बजे नै आइपुग्ने निधो गरेर हामी बाटो लाग्यौं ।

जोरपाटीबाट एकान्तकुना पुग्नुपर्ने । बिहीबार हामी साढे ५ बजे कार्यालय पुग्यौं । हामी पुग्दा २ सयभन्दा बढीको लाइन भइसकेको रहेछ । आवेदन फारम बुझाउनुपर्ने कार्यालयको झ्याल ठीक पौने ७ बजे खुल्यो । झ्यालसम्म पुग्दा ९ बजेको थियो । शौच गर्न जाँदा पनि पालो मिचिने डर न खुट्टा गलेर लखतरान हुँदा टुसुक्क बस्न मिल्ने, कम्ता सास्ती भएन । आवेदन बुझाउने प्रक्रिया त्यत्तिकैमा सकिएन । एउटा झ्यालमा बुझाएको त्यो फारम एक महिला ट्राफिक प्रहरीले बाहिर ल्याएर निवेदकलाई नै फिर्ता गर्दी रहेछन् । त्यो फिर्ता लिन फेरि लाइन लाग्नुपर्ने । पहिलेजस्तो धेरै समय लाइनमा बस्नुनपरे पनि एक घन्टा मामुली रहेछ । त्यसपछि राजस्व बुझाउने झ्यालमा लाइन बस्नुपर्ने र फेरि लिखित परीक्षाका लागि प्रवेशपत्र तथा राजस्व तिरेको रसिद लिन छुट्टै झ्यालमा लाइनै लाग्नुपर्ने । आवेदन बुझाउने सबै प्रक्रिया सकेर प्रवेशपत्र हात पर्दा मध्याह्नको ठीक १२ बजेको थियो । भतिजले मलाई झर्कंदै भन्दै थियो– मैले त हिजै भनेको थिएँ ! बरु १५ सय दिएको भए हुने रहेछ कि रैनछ ?
भोक, प्यासले कलेटी परेका ओंठ र उभिँदा–उभिँदा गलेका खुट्टा लिएर फर्कन लाग्दा शत्रुले पनि यो कार्यालयको काम लिएर आउनु नपरोस् भन्ने सोच्दै मूलढोका छिचोल्दै गर्दा फर्केर कार्यालयलाई हेरें । कार्यालयको बोर्डसँगै अर्को बोर्ड पनि रहेछ । त्यहाँ लेखिएको थियो– ‘सवारी चालक अनुमतिपत्र बुझाउन लाग्ने समय ३० मिनेट, क्षतिपूर्ति २ सय ५० देखि १ हजारसम्म, उजुरी सुन्ने अधिकारीको मोबाइल नम्बर………..।’ सो मोबाइल नम्बरमा मैले तु डाइल गरें । जवाफ भने यस्तो आयो– ‘तपाईंले सम्पर्क गर्न खोज्नुभएको नम्बर स्विच अफ गरिएको छ ।’

प्रतिक्रिया