दुबै माओवादी ‘आन्दोलन’मा

काठमाडौं, २ बैशाख । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा आफ्ना कार्यकर्तालाई झुटा मुद्दामा फसाएको दाबी गर्दै त्यसको विरोधमा प्रमुख प्रतिपक्षी दल एमाओवादीले बुधवार बस्ने ब्यवस्थापिका संसदको बैठक अबरुद्ध गर्ने चेतावनी दिएको छ । उक्त घटनाको विरोधमा सोमबारबाट सरकारसँग कुनै पनि वार्ता नगर्ने निर्णय सार्वजनिक भएको भोलिपल्ट एमाओवादीका नेता पोष्ट बहादुर बोगटी सभामुख सुभास नेम्वाङलाई भेटी संसद अवरुद्ध गर्ने जानकारी अनौपचारिक रुपमा गराएको बुझिएको छ ।
यसैबीच प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बोलाइएको सर्वदलीय बैठकमा पनि एमाओवादी उपस्थित भएन । साथै बालुवाटारमा बसेको सर्वदलीय बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ । मन्त्रिपरिषद्बाट मनोनित गरिने २६ जना र विभिन्न संसदीय समितिका सभापति चयनलगायत विषयमा छलफल गर्न बसेको उक्त बैठक प्रमुख विपक्षी दल एमाओवादी नआएपछि बिनानिश्कर्ष टुंगिएको हो । गोरखा फुजेलका कृष्ण अधिकारीको हत्यामा संलग्न भएको आरोपमा आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा दायर गरिएको भन्दै एमाओवादी सर्वदलीय बैठकमा सहभागी नभएको हो ।
बैठकमा नेपाली कांग्रेस, एमाले, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी थिए । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले विपक्षी दललाई समेत सहभागी गराएर अघि बढ्ने बताए । कांग्रेसले फुजेल घटनाका दोषीमाथि कारवाही हुनुपर्ने अडान राख्दै आएको छ । ‘सरकार कानुनको सर्वमान्य सिद्धान्तअनुसार चल्छ,’ पौडेलले भने ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने एमाओवादीले उठाएका विषयलाई प्रक्रियागत रुपमा समाधान नगरी बैठक अघि बढ्न नसक्ने जानकारी दिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरुका आ–आफ्नै अडानका कारण फेरि पनि संविधान बन्न नसक्ने भन्दै सरकार र ठूला दलको आलोचना गरे । बैठकमा केही दलहरुले सरकारलाई समर्थन गरे पनि आफूहरुलाई सकारमा सहभागी नगराएको भन्दै गुनासो गरेका थिए ।
फसाउन खोजेको एमाओवादी आरोप
यसैबीच एमाओवादीले द्वन्द्वकालका घटनालाई ब्युँताएर आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सरकारले फसाउन खोजेको आरोप लगाएको छ । फुजेल घटनामा सरकारसँग तीब्र असन्तुष्टि व्यक्त गर्दै आएको एमाओवादीले आन्दोलनको समेत घोषणा गरेको छ । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको बैठकले चितवनमा मुद्दा दर्ता गराइएका १३ कार्यकर्तामाथिको अभियोग फिर्ताको माग गर्दै प्रदर्शन गर्ने निर्णय गरेको हो ।
एमाओवादीले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी समाधान गर्नुपर्ने मुद्दाहरुलाई अदालत पुर्‍याइएको भन्दै वैद्य माओवादीसमेत समेटेर आन्दोलन गर्ने जनाएको छ । उक्त घटनाका सम्बन्धमा दुईदल नजिक भएका छन् । प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठक बहिष्कारलाई पनि एमाओवादीले आफ्नो आन्दोलनको कार्यक्रम भनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार डाकिएको तीन दलको बैठकमा पुगेका एमाओवादी नेताहरु सोही मुद्दालाई लिए छलफलमा सहभागी नभई बाहिरिएका थिए ।
अभियुक्तको बयान सुरु
अधिकारीको हत्या आरोपमा पक्राउ परेकाहरुसँग जिल्ला अदालत चितवनले मंगलबारबाट बयान लिन सुरु गरेको छ । मंगलबार छविलाल पौडेलको बयान लिन सुरु गरिएको छ । पौने चार बजेबाट बयान सुरु गरिए पनि नसकिएपछि बुधबार पुन: बयान लिने जानकारी अदालतले दिएको छ । उनीपछि भिष्मराजको बयान लिइने छ ।
बयानका लागि दुवै अभियुक्तलाई कडा सुरक्षाबीच प्रहरीले अदालतमा उपस्थित गराएको थियो । प्रतिवादी अभियुक्तका तर्फबाट २० जना वकिलले बहस गर्ने भएका छन् । अभियुक्तहरुको बहसपछि थुनछेकको बहस हुने अदालतले जनाएको छ । अधिकारीको हत्या आरोपमा संलग्न १३ जनालाई सर्वश्व सहित जन्म कैदको सजाय माग गरी आइतबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको थियो ।
छविलाल पौडेल, भिष्मराज पौडेल सहित रामप्रसाद अधिकारी, परशुराम पौडेल, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी, मेघनाथ पौडेल, जानुका पौडेल, शुभद्रा तिवारी, विष्ण्ुा तिवारी र रुद्र आचार्यलाई सर्वश्वसहित जन्मकैद माग दाबी गर्दै अभियोगपत्र दायर गरिएको हो ।
प्रहरीले यसअघि रामप्रसाद अधिकारी र परशुराम पौडेललाई सोही अभियोगमा पक्राउ गरे पनि प्रमाण नपुगेको भन्दै छाडेको थियो । अभियोगपत्र दायर गरिएकामध्ये ११ जना फरार छन् ।

प्रतिक्रिया