आज मन्त्रिमण्डल विस्तार

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले नेकपा एमालेसहितको मन्त्रिमण्डल आज (मंगलबार) विस्तार गर्ने भएका छन् । नेपाली कांग्रेसले आफ्नो दलबाट सरकारमा सहभागी हुनेहरूको नाम टुंगो लगाइसकेको छ । प्रधानमन्त्री कोइरालाले एमालेका तर्फबाट मन्त्री बन्नेहरूको लिस्ट बिहान नौ बजेसम्म उपलब्ध गराउन आग्रह गरेको एक नेताले जानकारी दिए । एमालेसँग भएको पछिल्लो सहमतिपछि मन्त्रिमण्डलले पूर्णता पाउन लागेको हो ।  पूर्वसहमतिबमोजिम गृहमन्त्रालय नपाएको भन्दै एमालेले सरकारमा नजाने अडान लिएपछि कोइरालाले मन्त्रिमण्डल विस्तार गर्न सकेका थिएनन् । कांग्रेस र एमाले दुवैले दस–दस वटा मन्त्रालय लिने सहमति भएपछि सोमबार नै दुवै दलले मन्त्री चयन गर्न आन्तरिक छलफलमा जुटे । राति अवेरसम्म पनि मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन नेताहरू छलफलमा व्यस्त थिए ।
आन्तरिक छलफलपछि कांग्रेसले सोमबार नै पार्टीका तर्फबाट ९ जना मन्त्रीको टुंगो लगाएको एक नेताले जानकारी दिए । उनका अनुसार संस्थापन समूहबाट महामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, डा. नारायण खड्का, पद्मनारायण चौधरी र देउवा पक्षबाट विमलेन्द्र निधी, चित्रलेखा यादव, एनपी साउदका साथै टेकबहादुर गुरुङको नाममा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पदाधिकारी बैठकले मन्त्रालय बाँडफाँडमा सहमति गरेको हो । ‘मन्त्रीको नामका बारेमा करिब–करिब टुंगोमा पुगेका छौँ,’ डा. महतले भने, ‘मंगलबार बिहानसम्ममा सबै टुंगो लाग्छ ।’ यद्यपि डा. खड्का र चौधरीको नाम भने फेरबदल हुनसक्ने स्रोतको दाबी छ । चौधरीको सट्टा फरमुल्ला मन्सुर र खड्काको सट्टा डा. मिनेन्द्र रिजाल मन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।
ती दुई नाममा फेरबदल नभएको अवस्थामा महामन्त्री सिंह उपप्रधान र स्थानीय विकास, महेश आचार्यले अर्थ, नरहरि आचार्यले सञ्चार, खड्काले कानुन, चौधरीले श्रम, साउदले शिक्षा र निधीले भौतिक, योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको छ । पटक–पटक अर्थमन्त्री बनेका महतले भने रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ । डा. महतले कोइराला प्रधानमन्त्री निर्वाचित भएलगत्तै विनाविभागीय मन्त्रीको सपथ लिइसकेका छन् ।
एमालेले उपप्रधानसहित गृह मन्त्रालयमा वामदेव गौतमलाई पठाउने निर्णय यसअघि नै गरिसकेको छ । गृहसँगै एमालेको भागमा परराष्ट्र, सामान्य प्रशासन, स्वाथ्य तथा जनसंख्या, उर्जा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, कृषि, भूमिसुधार र उद्योग मन्त्रालय परेको छ ।
मन्त्रीको नाम छान्न धापासीस्थित ग्रान्डी अस्पतालमा सोमबार नै बसेको एमाले स्थायी कमिटी बैठकले नाम टुंगो लगाउन सकेन । वरिष्ठ नेता माधवकुमार नेपालले अस्पतालमा डाकेको बैठकमा सहभागी नहुने बताएपछि नाम छनोट हुन नसकेको बताइएको छ । संसदीय दलका नेता केपी ओली विरामी भएका कारण बैठक ग्रान्डी अस्पतालमा नै बोलाइएको थियो ।
बैठकले मन्त्रीको नाम तय  गर्ने जिम्मा अध्यक्ष खनाल, नेता ओली र गौतमलाई दिएको थियो । मन्त्री छान्ने जिम्मा पाएका गौतम सोमवार नै नेता नेपालको निवास कोटेश्वर पुगेको थिए । उनले नेता नेपाललाई स्थायी कमिटीले गरेको निर्णय सुनाएको उनका नीजि सचिव विजय विराट विष्टले जानकारी दिए ।
उनका अनुसार गौतमले नेपाललाई आफ्नो तर्फका मन्त्रीको नामावली दिनसमेत आग्रह गरेका थिए ।
एमालेले विष्णु पौडेल वा भीम रावल, नरेश खरेल, रविन्द्र अधिकारी लगाएतलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ । एमालेले सोमवार मन्त्रीहरूको लिष्ट प्रधानमन्त्रीलाई दिन नसकेपछि सोमवार नै सपथ गराउने कोइरालाको तयारी पुरा हुन सकेन । मंगलवार विहान नौ बजेसम्म सवै नाम दिइसक्न प्रधानमन्त्री कोइरालाले एमालेका नेता गौतमलाई आग्रह गरेका छन् । नौ बजेभित्र लिष्ट प्राप्त भएमा ११ बजे सपथ गराउने तयारी भएको कांग्रेसका एक नेताले जानकारी दिए ।
राप्रपा र माले पनि सरकारमा
यसै विच राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेलाई पनि सरकारमा सहभागी हुन प्रधानमन्त्री कोइरालाले आग्रह गरेका छन् । राप्रपालाई आपुर्ती मन्त्रालय र मालेलाई विज्ञान तथा प्रविधि मन्त्रालय लिने गरी मन्त्रीमण्डलमा सहभागी हुन कोइरालाले आग्रह गरेको बुझिएको छ । राप्रपाको तर्फबाट सुर्य बहादुर थापाका छोरा तथा धनकुटाबाट विजयी सभासद सुनिल थापा मन्त्री बन्ने लगभग पक्का भएको श्रोतले जानकारी दिएको छ । नेकपा मालेले मन्त्री बन्नेको नाम टुङगो लगाउन सकेको छैन । मन्त्री छान्न मंगलवार विहान पुन: पोलिटब्युरो बैठक बस्ने बताइएको छ ।
कुन दललाई कुन–कुन मन्त्रालय
कांग्रेस
प्रधानमन्त्री, उपप्रधान र स्थानीय विकास, अर्थ, सञ्चार, कानुन, श्रम, शिक्षा भौतिक, योजना तथा निर्माण
एमाले
गृह, परराष्ट्र, सामान्य प्रशासन, स्वाथ्य तथा जनसंख्या, ऊर्जा, संस्कृति पर्यटन तथा नागरिक उड्डययन, युवा तथा खेलकुद, कृषि, भूमिसुधार, उद्योग
राप्रपा
वाणिज्य तथा आपूर्ति
नेकपा माले
विज्ञान, प्रविधि तथा वातावरण
अन्य
शान्ति तथा पुननिर्माण, सहकारी तथा गरिबी निवारण, महिला बालवालिका तथा समाज कल्याण

पौडेलको असन्तुष्टी
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मन्त्री छनोटमा असन्तुलन भएको भन्दै आपत्ति जनाएका छन् ।
स्रोतका अनुसार महिला र मधेसी समुदायको सहभागिता कम भएको तथा मध्यपश्चिमको शून्य भएको भन्दै पौडेलले आपत्ति जनाएका हुन् । ‘व्यक्तिमा विरोध होइन तर, कुनै क्षेत्रबाट दुई जना, कतै नील हुन भएन,’ पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
पौडेलले आदिवासी जनजाति, दलित, मधेसी सबै समुदायको प्रतिनिधित्त्व हुने गरी मन्त्री बनाउनुपर्ने अडानसमेत बैठकमा राखेका थिए । उपसभापति पौडेल मन्त्री छनोटमा अन्याय भएको भन्दै बैठकबाट बाहिरिएका थिए । पौडेलले बैठकमा पार्टीका तर्फबाट कम्तिमा दुई महिलालाई मन्त्री बनाउनुपर्ने भनाइ राखेका थिए । मन्त्रीको सूचीमा जातीय, क्षेत्रीय र लैंगिक असन्तुलन भएको भन्दै पौडेल बैठकमा आक्रोशित भएका थिए ।

प्रतिक्रिया