जियोफ्रेको भ्रमण नेपाली चेस खेलको कोसेढुंगा

 

fede

नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीका अनुसार विश्व चेस फेडेरेशनका कार्यकारी अधिकृत जियोफ्रे बोर्गको नेपाल भ्रमण नेपाली चेस खेलका लागी कोसेढुंगा सावित भएको छ ।
अध्यक्ष जोशी उनको भ्रमणबाट निकै उत्साही भएका छन् । पहिलोपटक आयोजना भएको दक्षिण एशियाली एमेच्योर चेस च्याम्पियनसीपको समापन र पहिलोपटक नेपालमा आयोजना भएको फिडे ट्रेनर्स सेमिनार संचालन गर्न नेपाल आएका जियोफ्रे पनि चेस खेलमार्फत् नेपालमा भइरहेको परिवर्तन देखेर दंग परेका छन् । उनले चेस प्रतियोगिताको समापनको अवसरमा अध्यक्ष राजेशहरि जोशीको खुलेर प्रसंशा गरे ।
हुन पनि आजभन्दा सात वर्ष मात्रै अगाडिको नेपाली चेस खेल हेर्ने हो भने पनि त्यती बेला नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनाउने त परै जाओस् अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा सञ्चालन गर्न सक्ने सामान्य हैसियत पनि राखेन । राजेशहरि जोशीको चेस प्रवेशले नेपालमा क्रान्ति नै आएको भनेर कमनवेल्थ चेस फेडेरेशनका अध्यक्ष भारतीय भरतसिंह चौहानले पनि प्रसंशा गरे । नेपालमा पहिलोपटक ग्रान्ड मास्टर्स चेस प्रतियोगिता पनि आयोजना भयो, त्यस्तै गरी फिडे ट्रेनर्स सेमिनार पनि सञ्चालन भयो । त्यती मात्र होइन, जोशीकै कार्यकालमा नेपालमा तीन जना फिडे मास्टरको उपाधि पाउन सफल भए । तीन जनाले अन्तर्राष्ट्रिय आर्विटरसमेत हुने अवसर पाए ।
अब जोशी नेपालमा आगामी एक–दुई वर्षभित्र कम्तिमा दुई जना अन्तर्राष्ट्रिय मास्टर अर्थात आईए बनाउने तयारीमा जुटेका छन् । त्यसका लागि फिडेका सिइओ जियोफ्रेले दुई बर्षसम्मको सम्पूर्ण खर्च आफैले ब्यहोर्ने भनेर घोषणासमेत गरिसकेका छन् ।
जियोफ्रेको भनाइलाई आत्मसात गर्ने हो भने नेपालमा चेसको धेरै सम्भावना छ । त्यसैले चेसलाई स्कुलबाटै सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसै कारण उनको नेपाल भ्रमणमा चेस इन स्कुल भन्ने नयाँ प्रोजेक्ट पनि सुरु भएको छ । जियोफ्रेकै प्रयासमा यस्ता प्रोजेक्ट टर्कीमा पनि यस अघि नै सञ्चालन भइसकेको छ । विश्वका अन्य देशमा पनि यो प्रोजेक्ट सुरु भएको छ ।
नेपाल भ्रमणमा रहेको अवसर पारेर उनीसँग भएको कुराकानीमा नेपालको चेस संघले यो खेलका संभावना र चुनौतीहरुलाई सबैभन्दा पहिले छुट्याउनु पर्ने हुन्छ । त्यसलाई छुट्याइसकेपछि त्यहीअनुसार कार्यक्रम तर्जुमा गरेर अगाडि बढ्न सकेमा यो खेलमार्फत् नेपालले फड्को मार्न सक्ने उनको विश्वास छ । नेपाल सरकारले जबसम्म खेललाई प्राथमिकतामा राखेर बुझ्दैन तबसम्म कुनै पनि खेलको विकास हुन नसक्ने पनि उनको ठम्याई छ ।
शनिबार दिउँसो राष्ट्रपति निवास शितल निवास पुगेका फिडे सिइओ जियोफ्रेले त्यस बखत पनि यस्तो धारणा राखेका थिए । खेलको विकासका लागि सरकार नै लगनशील हुनुपर्छ । खेलेर के पाइन्छ भन्ने विषयमा खेलाडीहरु विश्वस्त नभएसम्म प्रगती हुन नसक्ने जियोफ्रेको धारणा छ । विश्वका अन्य देशको तुलनामा नेपाली सञ्चार माध्यमले चेस खेललाई प्राथमिकता दिन नसकेको पनि गुनासो उनको थियो । सञ्चार माध्यमलाई चेस खेलप्रति आर्कषित गराउन नेपाली चेस संघले पनि विशेष भूमिका खेल्नु पर्ने उनको ठहर छ ।
जियोफ्रेका अनुसार उनको भ्रमणबाट नेपालले धेरै फाइदा लिन सक्ने छ । नेपालले सबैभन्दा महत्वपूर्ण विषय भनेको तीस जना फिडे सर्टिफाइड ट्रेनर्स उत्पादन गर्न सफल भएको छ । चेस इन स्कुल प्रोजेक्ट सुरु भएको छ । आईएम बनाउनका लागि दुई वर्षको सम्पूर्ण खर्च ब्यहोर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरेका छन् । नेपाली चेस खेलको विकासका लागि भविष्यमा आवश्यक पर्ने अन्य थप सहयोग पनि फिडेले उपलब्ध गराउने बचन जियोफ्रेले दिएका छन् । त्यसैले यो भ्रमणबाट नेपाली चेस खेलमा आमूल परिवर्तन भएको विश्वास संघका पदाधिकारी, खेलाडी र प्राविधिकहरुले लिएका छन् ।
जियोफ्रेका अनुसार लाखौं युवाहरु माझ चेसलाई लोकप्रिय बनाउनु पर्छ र तीनै मध्येबाट राम्रा खेलाडीको खोजी गर्नुपर्छ । त्यसका लागि संघले देशभरीका स्कुलहरुमा चेसका कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । चेस खेलमा लाग्नका लागि सबैलाई प्रोत्साहान गर्ने काम पनि संघले गर्नुपर्ने उनको ठहर छ ।
उनको भनाइअनुसार नेपालमा चेस खेलको उल्लेख्य विकास भइरहे पनि महिलाहरुलाई पनि आकर्षित गर्न संघले भूमिका खेल्नु पर्ने हुन्छ । देशभित्र संघले उत्कृष्ट भूमिका निर्वाह गर्न सके मात्रै अन्तर्राष्ट्रिय जगतले सहयोग र समर्थन गर्ने फिडे सिइओको भनाई छ । फिडेले संघलाई बलियो बनाउनका लागि आर्थिक सहयोग होइन आवश्यक नीति र निर्देशन दिने जियोफ्रेको भनाई छ । केही सीमित विषयमा फिडेले थोरै आर्थिक सहयोग गर्न सक्छ तर समग्रमा संघलाई सबै खाले आर्थिक सहयोग दिन नसक्ने उनको भनाई छ । त्यसैले सबै देशका संघले देशैभित्र आफू बलियो हुन भूमिका खेल्नुपर्ने हुन्छ ।
नेपालको चेस खेलको विकासका लागि फिडे अध्यक्ष क्रिसरान पनि सहयोग गर्न तत्पर रहेको जियोफ्रेको भनाई थियो । सिइओ जियोफ्रेका अनुसार क्रिसरानले व्यक्तिगत रुपमा पनि विश्वका विभिन्न देशमा चेस खेलको विकासका लागि सहयोग गरिरहेका छन् । उनले नेपालमा पछिल्लो समय भइरहेको चेस खेलको प्रगतिलाई विशेष रुपमा नियालिरहेका छन् ।
नेपाल अध्यक्ष जोशी पनि क्रिसरान नेपालको प्रगतीबाट खुशी भएको बताउँछन् । जियोफ्रेले निकट भविष्यमा नै फिडे अध्यक्ष क्रिसरानलाई नेपाल भ्रमण गराउने बताएका छन् । नेपालमा बुद्धकै नाममा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने संघको तयारीमा फिडे अध्यक्षलेसमेत सहयोग गर्न सक्ने बताइएको छ ।
नेपाली चेस खेलको इतिहासमा अन्तर्राष्ट्रियस्तरको यति उच्च व्यक्तित्वले नेपाल भ्रमण गरेको यो पहिलो पटक हो । नेपाल बुद्धिचाल संघकै पहलमा नेपालमा पहिलो पटक दक्षिण एशियाली एमेच्योर चेस च्याम्पियनसिप सफल आयोजना पनि भयो । सो प्रतियोगितामा भारतका १२ वर्षीय सौरभ आनन्द विजयी भए । जियोफ्रेले सो प्रतियोगिताको पनि खुलेर प्रसंशा गरे । दक्षिण एशियामा अन्य खेलका प्रतियोगिता भए पनि चेसको प्रतियोगिता भएको थिएन । जसमा नेपालले प्रश्रय लिएर सो प्रतियोगिता सम्पन्न भयो । जियोफ्रेले आगामी वर्ष पनि आफू नेपाल आउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले आगामी वर्षमा नेपालमा दुई हजारभन्दा बढी रेटेड चेस खेलाडी आफूले देख्न चाहेको बताएका छन् । त्यसका लागि जोशी नेतृत्वको संघले विशेष मिहिनेत गर्नुपर्ने हुन्छ । जियोफ्रेको नेपाल भ्रमणबाट उत्साही भएका नेपाल बुद्धिचाल संघका अध्यक्ष जोशी आफू थप क्रियाशील हुने र आगामी दिनमा चेस खेलमा थप परिवर्तन ल्याउने बचनवद्धता पनि प्रकट गर्छन् । राष्ट्रपति डाक्टर रामवरण यादवसँग शनिबार दिउसो शीतल निवासमा भएको भेटमा जियोफ्रेले नेपालमा राष्ट्रपति कप चेस प्रतियोगिता आयोजना हुनु पर्ने पनि बताए । राष्ट्रपति यादवले पनि उनको सो प्रस्तावलाई सहर्ष स्वीकार गर्दै त्यसको थप विवरणसहित उपस्थित हुन पनि उनले संघलाई आग्रह गरे ।
नेपाल बुद्धिचाल संघका अध्यक्ष जोशीले पनि राष्ट्रपतिले विशेष समय दिएर आफ्नो खेलको बारेमा चासो राखेका बताए । जियोफ्रेले पनि राष्ट्रपतिसँगको भेटघाट राम्रो भएको प्रतिक्रिया दिए । तर, समग्रमा नेपालमा चेस खेलमा लाग्नेहरूका लागि जियोफ्रेको भ्रमण कोसेढुंगा सावित भएको छ ।
यो अवसरलाई नेपालका चेस खेल पदाधिकारी र सरोकारवाला सबैले सदुपयोग गर्न सके नेपालमा यो खेलले ठूलो परिवर्तन ल्याउन सक्छ । नेपालमा कुनै पनि खेलमा लागेर जीवनयापन नै सोहीमार्फत् गर्न सक्ने अवस्था नेपालमा छैन । तर, त्यो अवस्थाको निर्माण चेस खेलमार्फत् हुन सक्छ । जियोफ्रेको नेपाल भ्रमणका दौरान उठेका विषयलाई नेपाली चेस खेल पदाधिकारीहरुले अक्षरस पालना गर्न सके हजारौं चेस खेलाडी नेपालमा उत्पादन हुन सक्नेछन् । जसले नेपालमा मात्र होइन, विश्व जगतमा नेपालको नाम उचो बनाउन सक्नेछन् । छिमेकी मुलुक भारतले आज विश्व जगतमा चेस खेलमार्फत् ठूलो चर्चा बटुलिरहेको छ । देशलाई चिनाउने र आर्थिक रुपमा खेलाडीलाई पनि मजबुत बनाउने एउटा खेल बन्न सक्छ चेस । त्यसैले यसतर्फ नेपाल बुद्धिचाल संघले विशेष पहल गरोस् । आगामी दिन चेसका लागि थप चुनौतीपूर्ण त छ नै तर जियोफ्रेको भ्रमणले थप अवसर नेपाललाई प्रदान गरेको छ । यसको सदुपयोग गर्ने जिम्मा नेपाल बुद्धिचाल संघको काँधमा पुगेको छ । आशा गरौं, नेपाली चेस खेल आगामी दिनमा थप अगाडि बढ्नेछ ।
प्रस्तुति : राधेश्याम दाहाल

प्रतिक्रिया