कुर्सीको खेलमा होइन, संविधान निर्माणमा लाग्नुपर्छ

hiranya_lalकसरी बिताउँदै हुनुहुन्छ समय ?
अध्ययन र लेखनमामा बित्छ हिजो आज समय । नयाँ–नयाँ किताव लेख्छु अध्ययन गर्छु त्यसैमा बितेको छ समय । पहिले परिवारसँग बिताउने समय हुँदैन थियो अहिले उनीहरूलाई समय दिन पाएको छु । बिहान चार बजेदेखि लेख–पढ गरेर समय बिताउछु ।
कुनै समय सक्रिय राजनीति गरेको व्यक्ति यसरी पुस्तकालयमा अध्धयन गरेर समय विताउनु पर्दा आफू खुिम्चएजस्तो लाग्दैन ?
अहँ त्यस्तो लाग्दैन । यति बेला नयाँ किताव लेख्दै छु । अहिले बिताएको समयले मलाई लाग्दैछ मरेर पनि केहि वर्ष वाच्छु होला भन्ने । राजनीतिमा तत्काल केहि लिने वा दिने कुरा हुन्छन् । तर, ती सबै दौडधुप गरुन्जेलसम्मका लागि मात्र हो । अहिले जे गर्दै छु त्यो मर्दा पनि बाच्ने काम हो । तत्कालिन केहि पाउने आकंक्षा भएकाहरूलाई हिनताबोध हुन सक्छ । तर, मेरो लागि नयाँ पुस्तालाई आफ्नो अनुभव लिखित रूपमा छोड्नु पनि ठूलो कुरा हो ।
अहिलेको भूमिकाबाट सन्तुष्ट हुनुहुन्छ ?
अहिलेको भूमिकामा पूर्ण रूपमा सन्तुष्ट छु । राजनीतिमा सक्रिय रहँदा कयौंपटक निर्वाचन लडेँ, कयौंपटक पार्टीका साथीहरूलाई जिताउन महत्वपूर्ण भूमिका खेलेँ । पछिल्लो समय म कुनै पदमा छैन । तर, नेपालको राजनीतिक गतिविधिबारे बेखवर छैन । राजनीतिमा निस्कृय भए पनि दुबै पटकको संविधानसभामा भोट हालेँ । आफ्नो विवेकले देखेको कुरा बोल्छु, लेख्छु यसैमा आत्मसन्तुष्टि हुन्छ । स्वतन्त्र भएको कारण कसैको विरोध वा सर्मथन गर्नु पर्ने वाध्यता मलाई छैन । आफूलाई ठीक लागेको कुरा ठीक भन्छु गलतलाई गलत । कसैलाई मेरो कुराले खुसिबनायोस वा दु:खी केहि फरक पर्दैन । कुनै पार्टीमा संगठित नभए पनि विचारले म वामपन्थी नै हुँ । मेरो आदर्श र विचार कसैको प्रभावमा तल–माथि हुँदैन । आफ्नो ब्यक्तिगत फाइदामा बोल्ने लेख्ने काम गर्दिन । राष्ट्रको हित हुने काममा आफ्नो विवेक प्रयोग गर्छु । देश भक्त नागरिक भएर जे बोल्नु पर्ने हो बोल्छु त्यसैमा सन्तुष्ट छु ।
तपाईले राजनीति सिकाएका धेरै व्यक्ति राजनीतिको भर्‍याङ चडेरमाथि पुगेका छन् तर आफू भने भूमिकाबिहीन हुदाँ कस्तो लाग्छ ?
त्यसमा मलाई कुनै गुनासो छैन । आफूले सिकाएको विचार बोक्ने थुपै्र व्यक्तिले राम्रो स्थान पाएकोमा खुसी लाग्छ । मैले यहि मुलुकको लागि राजनीति गरेँ र राष्ट्रको हितमा बोले वापत जेल गएँ । राष्ट्रको अहित हुनेगरी भएका असमान सन्धिसम्झौता हुँदा विरोध गरेँ । त्यसैको आरोपमा जेल जानु पर्‍यो, पिटाई खाइयो । तर, पनि विरोध गर्न छाडिनँ । मैले राष्ट्रको हितविपरीत आफ्नो स्वार्थका लागि कसैको चाकडी गरिनँ । त्यसैले लामो समय सक्रिय रानजनीति गर्दा पनि कुनै अवसर पाइनँ । आफूभन्दा पछि राजनीतिमा लागेकाले पाए जति पनि अवसर पाइनँ । मेरो आदर्श र स्वाभावको कारण राज्यको महत्वपूर्ण पदमा पुग्न सकिनँ । असमान सन्धिसम्झौता खारेज गर भन्दै बोल्न र लेख्न छाडिनँ । तिनै असमान सन्धिसम्झौता गर्नेको पछाडि म लागिनँ । यो मेरो आदर्श र नैतिकताले दिएन । त्यसैले बुझ्ने भएदेखि आजसम्म अनियमित कामकाविरुद्धमा लागेको छु । त्यसैले केहि पाइनँ भनेर मलाई गुनासो छैन । चाहेको भए मैले पनि धेरै पद र प्रतिष्ठा पाउथेँ हुँला । संसद्मा महाकाली सन्धिको विरुद्धमा मतदान गरेको कारण म पार्टीभित्र र वाहिर बिरोधी जस्तो देखिएँ । राजनीति बुझ्दा जे सिकेको थिए त्यसमा अडिनु पर्छ भन्ने मान्यता मैले कहिल्यै छाडिनँ । एउटा कम्युनिस्टको लागि आदर्श सबैभन्दा ठूलो कुरा हो मैले बुझेको ।
माक्र्सवादी विचार वोकेको नेता तत्कालीन राजाको शासनमा राजनदूत हुनुभयो । यसले विचारमा ठेस लाग्यो भन्ने लागेन ?
त्यो विषयमा मैले कुनै गल्ति गरेको छैन । राजनीति गर्दाको समय मेरो योग्यता क्षमता र विशेषज्ञताको आधारमा परराष्ट्र मन्त्री बनाउनु पर्ने हो । तर, मेरो उचित मूल्यांकन भएन । पदको बारेमा कसैको आदेशमा चल्नु पर्ने गरी प्रस्ताव नआएको हैन । तर, मैले राजनीतिक मूल्य–मान्यता त्यागेर पद चाहिनँ । पछि मेरो विशेषज्ञताको आधारमा उक्त जिम्मेवारी पाएको हो । यदि त्यति बेला रुस छोडेर अरू देशको राजदूत बन्ने प्रस्ताव आएको भए मान्दैन थिएँ । पहिल्यैदेखि म रुसको बारेमा आफैले हेरेर अनुभूति गर्न चाहन्थेँ । पढेको थिएँ, हेर्न चाहन्थे, रुसलाई आफ्नै आँखाले । त्यसैले मैले त्यो प्रस्ताव स्वीकार गरेको हुँ । कसैको चाकडी वा गुलामी गरेर बनेको होइन म राजदूत । योग्यता र क्षमताको आधारमा पाएको जिम्मेवारी थियो निर्वाह गरे । प्रस्ताव आउँदा पार्टी छोडेर वसेको दुईवर्ष भएको थियो । पार्टीभित्र महाकाली सन्धिलाई हेर्ने बिषयमा मेरो फरक मत थियो । मत नै नमिलेपछि किन बस्नु पार्टीमा भनेर स्वतन्त्र भएँ । त्यस्तो बेला मन्त्री हुने कि राजदूत भन्ने प्रस्ताव आउँदा मैले अध्यनको विषय बनाउन राजदूतको पद रोजेको हँु । सक्रिय राजनीति गर्दा पनि राजदूतमा मेरो नाम चर्चा हुन्थ्यो तर निर्णय हुँदैन थियो । कारण थियो मेरो राष्ट्रियताको सवालमा दृढता । जति समय राजदूत भएर रुसमा बसे नेपाललाई चिनाउन केही न केही नयाँ रचनात्मक कार्यक्रम गरेँ । म हिजो आज र सधै कम्युनिस्ट हुँ कहिल्यै बिचारमा ठेस लागेको छैन । जीवनमा जे–जे गरेँ कुनै पेशा वा अवस्थामा मलाई गुनासो वा पछुतो छैन ।
वर्तमान राजनीतिलाई कसरी हेर्नु भएको छ ?
भर्खर दोस्रो संविधानसभाको निर्वाचन भएको छ । यो निर्वाचनमा जनताले आफ्नो जिम्मेवारी परिपक्व भएर पूरा गरेका छन् । जनताको परिपक्व निर्णयको कार्यान्वयन गर्ने जिम्मा राजनीतिक दलहरूको काँधमा आएको छ । नेताहरूले जनताको भावना बुझेर अगाडि बढनु पर्छ । पार्टी र नेताहरूले जनतालाई कमजोर वा राष्ट्रिय राजनीति बुझ्दैनन् भन्ने सोच्नु हुँदैन । सञ्चारको पहँुच सबै जनताबीच पुगेको छ । जनताले धेरै बुझेका छन् । जनता धेरै सुुसूचित भएका छन् । दलहरूको भूमिका राष्ट्रको हितमा कसको कति छ भनेर नियालेका छन् जनताले । आवश्यकता पर्दा त्यसैको आधारमा फैसला गर्छन् । पछिल्लो निर्वाचन परिणाम हेर्दा बुझ्न सकिन्छ । जनता मुलुकमा संघीयताको पक्षमा छन् भन्ने । तर, संघीयताको नाममा एकल जातीय पहिचानको संघीयतालाई जनताले अस्वीकार गरेका छन् । पहिलो कुरा हामी सबै नेपाली हौं, जाति होइन । त्यसैले जनताले फैसला गरे– संघीयता मान तर जातिको आधारमा होइन भनेर । पहिचान र सामथ्र्यको आधारमा राज्यको पुनर्संचना गर भन्ने म्यान्डेड पार्टीहरूलाई दिए । एकाधिकार र आत्मनिर्णयको नाममा देशलाई बिखण्डन वनाउने कुराको जनता विरुद्धमा उभिए । जातीयताको कुरा गरेर अल्झियौं भने देश अगाडि होइन पछाडि पर्ने छ भनेर जनताले सम्झए । एकाधिकारवाद र विखण्डनवादको विरुद्ध जनताको मत जाहेर भएको छ । यसलाई सबैले सम्मानपूर्वक लिनु पर्छ र त्यसैको आधारमा संविधान बन्नु पर्छ ।
नेपाली जनताको भावनालाइ कसरी बुझनु भएको छ ?
नेपालको राजनीति र जनताको चेतनामा धेरै परिवर्तन आएको छ । यति बेला जनता डर वा त्रासजस्ता कुराले चुप लागेर बस्दैनन् । पछिल्लो निर्वाचनमा जनताले गरेको मतले त्यसको पुष्टि गर्छ । जनता मुलुकको समस्या निकासको लागि सबै प्रकारको चुनौति सामान गर्न तयार छन् । सबै पार्टी र नेताहरू मिलेर जनताको त्यो अभिमतलाई पूरा गर्नु पर्छ । जनताको भावना नेताहरू कुर्सीको खेलमा अल्झिएको हेर्ने छैन । आफूले दिएको मतलाई सम्मान गर्दै स्ंविधान बनाउनेतिर सबैको ध्यान जासोस् भन्ने जनताको भावना छ  ।
नेपालको राजनीतिमा वैदेशिक हस्तक्षेपको कुरा बारम्वार आँउछ । तपाई वैदेशिक मामलाको ज्ञाता यो बिषयलाई कसरी बुझनु भएको छ ?
यो नेपालको लागि पुरानो रोग हो । जति बेला म मूलधारको राजनीतिमा सक्रिय थिएँ, त्यति बेला पनि ती कुराको अनुभूति नगरेको होइन । कयौं समयमा मलाई पनि अवसरहरू आए । दक्षिणतिर टाउको झुकाउँदा यो वा त्यो बनाइदिउला भनेर । तर, मेरो आदर्श र विवेकले कहिल्यै त्यसो गर्न दिएन । म आफ्नो लागि केही पाउँला भनेर राजनीतिमा लागेको होइन । देश र जनताको हितमा केहि गर्न सकौला भनेर लागेँ । त्यसैअनुसार बोलेँ । मलाई त अनेक प्रस्तव आउँथे भने अरूलाई कति आए होलान् सहजै अनुमान लगाउन सकिन्छ । अहिले संविधानसभाको निर्वाचन भएको लामो समय वितिसक्दा हुनु पर्ने कयौं काम अवरुद्ध हुनुको पछाडि तिनै हस्तक्षेप कारक हुन् । नेपालको भू–राजनीतिमा अब एक पक्षको मात्र हस्तक्षेप छैन । दक्षिणतिरको सक्रियतासँगै उत्तरतिरको पनि चासो बडेको छ । साथै अरू विकसित देशहरूले पनि नेपालको मामलामा चासो बडाएका छन् । तर, यी सबै चासोलाई सन्तुलनमा राख्ने काम नेताहरूको हो । राष्ट्रको हितमा, सन्तुलन र प्रतिसन्तुलनमा रहेर, कुशलतापूर्वक काम गर्ने हो भने कसैको हस्तक्षेपले केही हुँदैन । नेपाल हिजोजस्तो भारतमा मात्र परनिर्भर हुनु पर्ने अवस्थमा छैन । अहिले चिनको लासासम्म रेल आउँछ । केही समयपछि बोडरसम्म आउने तयारीमा छ । नेपाललाई चाहिने सहयोग उताबाट लिन सकिन्छ । सूचनाको पहँुच सबैतिर पुगेको छ । नेपालमा के भयो एक मिनेटमा संसारभर फैलन सक्छ । नेपालको धेरै देशसँग हवाई सम्पर्क छ त्यसैको माध्यमबाट सहयोग लिन सकिन्छ । नेतृत्वमा हुनेको इच्छाशाक्ति भएमा जे पनि गर्न सकिन्छ । यही दुई देशको भरमा नेपाल बस्नु पर्दैन । अरू राष्ट्रसँग पनि सहयोग लिएर हस्तक्षेपको प्रतिकार गर्ने क्षमता वृद्धि गर्न सक्छौं ।
पछिल्लो समयमा देखिएको हस्तक्षेपको कसरी अध्ययन गर्नु भएको छ ?
पछिल्लो समयमा दक्षिणतिरको हस्तक्षेप अझ बढेको छ । त्यो संविधानसभाको निर्वाचन सार्ने विषयमा भएको निर्णयले प्रष्ट पार्छ । पार्टीहरू आफ्नो अडानमा बसेर दुई महिना संविधानसभाको निर्वाचन सारेको भए वैद्य समूहले निर्वाचनमा भाग लिने थिए । तर, भारतमा बैशाखमा निर्वाचन हुँदै छ भनेर नेपालमा निर्वाचन सार्न भारत मानेन त्यसैकोपछि दलहरू गागे । खिलराज रेग्मी सयुक्त राष्ट्रसंघको महासभामा भाग लिने बहानामा भारतका प्रधानमन्त्री मनमोहन सिंहलाई भेट्न गए । सिंहको अगाडि रेग्मी लम्पसार परेर आएको सबैलाई थाहा छ । यता उत्तरको कुरो गर्ने हो भने–यदि अघिल्लो संविधानसभामा चीनले चासो नलिएको भए एकल जातीय पहिचानको नाममा राज्यको पुनर्संचाना गर्ने निर्णय पास हुने अवस्थामा थियो । चीनले त्यो गलत निर्णय रोकेको हो । यसरी नेपालमा विदेशीहरूको चासो निरन्तर छ । यो सबै नेताहरूमा आफ्नो लागि आफै निर्णय गर्न नसक्ने कमजोरीको कारण भएको हो ।
त्यसो भए अब नेपाली ढुक्क भए हुन्छ वैदेशिक हस्तक्षेप हुँदैन भनेर ?
नेपालको शान्ति, समृद्धि र स्थिरताको लागि छिमेकी र विदेशी मित्रको सहयोग लिनु पर्छ । तर, सहयोग लिने नाममा को सरकारमा जाने, को कहाँ बस्ने, कसलाई काखा वा पाखा गर्ने भनेर निषेधको राजनीति गर्न खोज्छ भने त्यसलाई स्वीकार गर्नु हुँदैन । कसैको पक्षपोषणको नाममा हस्तक्षेप हुनु हुँदैन । शान्ति र पिछडिएका जनताको जीवन सुधारको लागि आवश्यक सहयोग लिनु हुन्छ । तर, सहयोग लिने नाममा विदेशीसामु नतमस्तक हुनु हुँदैन । अहिले मुलुक न शान्ति न द्वन्द्वको अवस्थामा छ । शान्तिका नाममा आउने सहयोग राजनीतिक हस्तक्षेपमा प्रयोग गर्नु हुँदैन । यसमा मुख्य दुईवटा पार्टी कांग्रेस र एमाले मिलेर शान्ति र समृद्धिको लागि अगाडि बढ्नु पर्छ । उनीहरूको काँधमा जनताले जिम्मेवारी दिएका छन् । संविधान निर्माणमा सबैको मत एक हुनु पर्छ । अहिले प्राप्त नयाँ जनादेशको आधारमा सरकार सञ्चालन कांग्रेस र एमालेले गर्नु पर्छ ।
संविधानसभाको सन्तुलनलाई कसरी हेर्नु भएको छ ?
हिजोको तुलनामा सन्तुलन फेरिएको छ । अहिलेको सन्तुलन सहमतिमा जोड दिनु पर्छ भन्ने हो । पहिलो संविधानसभामा पहिलो भएको एमाओवादी तेस्रो भएको छ । चारसिट जितेको राप्रपा नेपाल चौथो भएको छ । संविधानसभामा उपस्थित संख्याको आधारमा राप्रपा नेपालले सबै कुरा आफ्नो पक्षमा निर्णय होला भन्ने सोच्नुहुन्न र बैद्यहरूले जंगल जानु नपर्ने गरी सन्तुलनको आधारमा काम अगाडि बढनु पर्छ । सबैलाई समेट्ने र सबैको अस्तित्व रहने गरी संविधान बनाउनु पर्छ । यति बेला कुर्सीको लागि लड्ने होइन, संविधानको खाका बनाउनेमा सबैको ध्यान जानु पर्छ । अझै पनि जनताले दबाब दिनु पर्ने छ– संविधान निर्माणलाई प्राथमिकता दिएर अगाडि बढ्नको लागि सबै पार्टीहरूलाई ।
अहिलेको ढिलाई के हो ?
सबै कुर्सीको लडाइँ हो । राष्ट्रपति र उपराष्ट्रपति फेर्ने नाममा सरकार बनाउने कुरामा अलमल गर्नु । यस्ता कुरामा अल्झेर संविधान बनाउने कममा ढिलाई गर्नु हुँदैन । राष्ट्रपति संविधान बनाएर फेर्नु पर्छ । अहिले सबै कुरा छोडेर संविधान बनाउनेमा जोड दिनु पर्छ । संविधानजस्तै राष्ट्रपतिलाई पनि अन्तरिम बनाउनु हुँदैन । नयाँ संविधानअनुसार नयाँ राष्ट्रपति चयन गर्नु पर्छ । कुर्सीको खेलले जनतालाई अल्मलाउन पाइँदैन ।
हिजोसँगै काम गरेका नेताहरूसँग कुराकानी हुन्छ ?
हुन्छ किन नहुनु । कत्तिले सल्लाह माग्नु हुन्छ, आफूले जाने बुझेको सल्लाह दिन्छु । नेपालका प्रधानमन्त्रीहरू विदेश जाने बेला र विदेशी सरकारका महत्वपूर्ण ब्यक्तिहरू नेपाल आउने बेला सल्लाह माग्नु हुन्छ । म सल्लाह दिन्छु । मसँग  गिरिजा, बाबुराम, प्रचण्ड, झलनाथ, माधव, वामदेब सबैले आवस्यक परेको वेला सल्लाह माग्नु हुन्छ । कयौं पटक गिरिजासँगै बिदेश पनि गएँ । आफूले बुझेको सल्लाह दिन्छु मान्ने नमान्ने उनीहरूको कुरा । यतिबेला नेपालको राष्ट्रियता धेरै कमजोर देखेको छु । सबै ठाउँमा नराम्रा मान्छे छैनन् । सबै पार्टीमा धेर–थोर देशभक्तहरू निर्णयक तहमा छन् । पार्टीभित्रै केही नेताहरू विदेशीको चाकडि गर्ने पनि छन् । सबै देशभक्तहरू मिलेर विदेशीको चाकडी गर्नेहरूलाई नंग्याउनु पर्छ ।

: चमिना भट्टराई

प्रतिक्रिया