काठमाडौं । नेपाली सेनाको इतिहासमा पहिलोपटक प्रधानसेनापति गौरवशमशेर राणा श्रीलंका र माल्दिभ्सको औपचारिक भ्रमणमा जाने भएका छन् । दक्षिण एसियाका दुई मुलुक जाने राणा पहिलो सेनापति बन्ने भएका छन् । राणालाई श्रीलंकामा आगामी चार फ्रेब्रुअरीमा हुने स्वतन्त्रता दिवसमा सहभागी हुन आमन्त्रण गरिएको हो । सैनिक स्रोतले दिएको जानकारीअनुसार प्रधानसेनापति राणा १० दिने भ्रमणका लागि श्रीलंकाको राजधानी कोलम्बो र माल्दिभ्सको राजधानी माले जान लागेका हुन् ।
श्रीलंकाका स्थल सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल आरएमडी रत्नाइके र माल्दिभ्सका सेनाप्रमुखको निमन्त्रणामा राणा त्यसतर्फ जान लागेका हुन् । सो भ्रमणले क्षेत्रीय तहमा सम्बन्ध विस्तार गर्न र सैनिक कुटनीतिलाई थप मजबुत बनाउने सेनाको विश्वास छ । भ्रमणको क्रममा आपसी सहकार्य र क्षेत्रीय तहमा सेनाबीचको दुई पक्षीय सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल हुने बताइएको छ । सेनापति निकट एक सहायकरथीका अनुसार सो भ्रमणले दुई पक्षीय सैनिक सम्बन्धलाई सुदृढ गर्न मद्दत पुग्नेछ । उनका अनुसार एक अर्काको अनुभव आदान प्रदान गर्न पनि भ्रमण फलदायी बन्नेछ ।
‘काउण्टर इन्सरजेन्सी र जंगलवारफेयरलगायत क्षेत्रमा हाम्रा समान अनुभव छन्, यो अनुभव साटासाट गर्नुका साथै नेपाली सेनाको मिलिटेरी डिप्लोमेसीलाई अघि बढाउन पनि भ्रमणले सहयोग गर्छ ।’ ति सहायकरथीले सौर्यसँग भने ।
नेपाली सेनाले प्रधानसेनापतिको भ्रमणलाई गोप्य राखेको छ । सैनिक प्रवक्ता सहायकरथी जगदिशचन्द्र पोखरलले सेनापतिको भ्रमणको तयारी भएको स्वीकार गरे । ‘सेनापतीको भ्रमणको तयारी भइरहेको छ, यसबारेमा विस्तृत विवरण मलाई पनि जानकारी छैन्’ सैनिक प्रवक्ता पोखरेलले सौर्यसँग भने ।
नेपाली सेनाका एक वरिष्ठ अधिकारीका अनुसार सेनापति राणाले यो भ्रमणमार्फत सैन्य कुटनीतिलाई विस्तार गर्ने रणनीति बनाएका छन् । ‘सार्क क्षेत्रभित्र दुई पक्षीय सेनाबीचको सम्बन्धलाई मजबुत बनाउने प्रधानसेनापतिको उद्देश्य रहेको छ’ ति उच्च अधिकारीले सौर्यसँग भने ।
नेपाली सेनाको दक्षिण एसियामा भारत, बंगलादेश र पाकिस्तानसँग मात्रै सैनिक सम्बन्ध घनिष्ठ छ । तर, श्रीलंका र माल्दिभ्ससँग भने सम्बन्ध औपचारिकतामा मात्रै सीमित थियो । भारत, पाकिस्तान र बंगलादेशमा महासेनानीहरू सैनिक सहचारीका रूपमा कार्यरतसमेत छन् ।
सेनापतिसँगै उपरथी राजेन्द्र क्षेत्री पनि त्यसतर्फ जाने सैनिक स्रोतको दाबी छ । सेनामा प्रधानसेनापति विदेश जाँदा पिएसओज जनरललाई भ्रमणमा सहभागी गराउने प्रचलन रहेको छ । सेनापति राणाले श्रीलंका बसाईको क्रममा राष्ट्रपति महेन्द्रा राजापक्षे, सेनापती लेफ्टिनेन्ट जनरल आरएमडी रत्नाइकेलगायत उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्ने छन् । उनले माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन, रक्षामन्त्री कर्णेल मोहम्मद नाजिमलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सेनाले प्रधानसेनापतिको भ्रमण स्विकृतीका लागि मन्त्रिपरीषद्मा पत्र पठाइसकेको छ । बिहीबार बस्ने मन्त्रिपरीषद्को बैठकले राणाको भ्रमण स्विकृत गर्ने मन्त्रिपरिषद् स्रोतको भनाइ छ । प्रधानसेनापति राणा माघ १४ मा माल्दिभ्स पुग्ने र त्यहीँबाटै श्रीलंका पुग्ने कार्यक्रम रहेको छ । प्रधानसेनापति राणा माघ २४ मा स्वदेश फर्कर्ने कार्यक्रम छ । यसअघिका प्रधानसेनापति छत्रमानसिंह गुरुङले पनि सार्क मुलुकका सेनाको बीचमा सम्बन्ध थप मजबुत बनाउन साफ सैनिक खेलकुद प्रतियोगितासमेत आयोजना गरेका थिए ।
प्रतिक्रिया