काठमाडौं, २३ मंसिर । संविधानसभाको दोस्रो चुनावको मतपरिणामलाई अस्वीकार गरेका एमाओवादीसहित १८ दलले धाँधलीको उच्चस्तरीय छानबिन नभएसम्म संविधानसभामा नजाने अडान दोहोर्याएका छन् ।
तर, एमाओवादीसहितको सो गठबन्धनले सहमतिको प्रक्रिया थालनी हुनुपर्ने भन्दै सरकार गठनमा भने सहभागी हुन सक्ने संकेत गरेको छ । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको १८ दलको बैठकले संघीय लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय पनि गरेको छ ।
‘यसअघि गठन भएको कार्यदलले गठबन्धनको अवधारणा प्रस्तुत गरेको छ, एक चरण सबै पार्टीमा आन्तरिक छलफलपछि यसको टुंगो लगाउने निर्णय भएको छ,’ नेता त्रिपाठीले सौर्यसँग भने । यसअघि चुनावी परिणामप्रति असन्तुष्ट रहेका दलहरूको बैठकले आगामी कदम तय गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा माओवादी नेता वर्षमान पुन, संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठ र तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी सदस्य छन् ।
कार्यदलले शनिबार बैठकमा गठबन्धनको अवधारणा प्रस्तुत गरेको हो । कार्यदलले पहिचानसहितको संघीयता तथा संघीयतासहितको संविधान र परिवर्तनकारी एजेन्डाप्रति सहमत हुने दललाई गठबन्धनमा सहभागी गराउने प्रस्ताव गरेको त्रिपाठीको भनाइ छ । नेता त्रिपाठीले दिएको जानकारीअनुसार १८ दलको सोमबार बस्ने अर्को बैठकले गठबन्धन र त्यसको नेतृत्वको टुंगो लगाउनेछ ।
प्रतिक्रिया