भक्तपुर, २३ मंसिर । त्रिभुवन विश्वविद्यालयले सानोठिमीस्थित शिक्षा संकाय पढाइ हुने सानोठिमी क्याम्पसमा नमुनाका रुपमा यस वर्षदेखि स्नातकोत्तर तहमा जीव विज्ञानको अध्ययन अध्यापन सुरु गरेको छ ।
शिक्षा संकायतर्फ स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गराउने शिक्षकको देशभर अभाव भएपछि त्यसलाई पूरा गर्ने उद्देश्यले यस वर्षदेखि जीव विज्ञानको पठनपाठन सुरु गरिएको क्याम्पस प्रमुख नरप्रसाद थापाले जानकारी गराए ।
त्रिविले यस वर्ष काठमाडौं उपत्यकाभित्र भक्तपुरको सानोठिमी क्याम्पस र उपत्यका बाहिर गोरखा शिक्षा क्याम्पसमा नमुनाका रुपमा जीव विज्ञानको पठनपाठन सञ्चालन गर्न अनुमति दिएको हो । स्नातकोत्तर तहमा जीव विज्ञान विषयमा उत्तीर्ण गरेपछि रोजगारीको तुरुन्तै अवसर पाइने बताउँदै थापाले जीव विज्ञान अध्ययन गर्न शिक्षा संकायमा विज्ञान विषय लिएर स्नातक तह (बिएड) उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्ने बताए ।
आवेदन दिएका विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरेपछि जीव विज्ञानको स्नातकोत्तर तहमा अध्ययन गर्न पाउने छन् । दुई वर्ष पढाइ हुने जीव विज्ञानमा छ, छ महिनाका गरी चार सेमेस्टर हुने छन् । प्रति सेमेस्टर ४० हजारका दरले कुल एक लाख ६० हजार शुल्कमा यसको अध्ययन पुरा हुन्छ ।
यस विषयमा सफलता पाइएमा त्रिविले आगामी वर्षमा अन्य जिल्लामा पनि यसको अध्ययनअध्यापन सञ्चालन गर्ने छ । सानोठिमी क्याम्पसले यस वर्ष ३० जनालाई समेटेको छ । क्याम्पसले स्नातकोत्तर तहमा सूचना प्रविधि अध्यनन गर्नेहरूका लागि यस वर्षदेखि स्नातकोत्तर सूचना प्रविधिको ‘ब्रिज कोर्स ’सञ्चालन गरेको छ ।
प्रतिक्रिया