रत्ननगर, १६ मंसिर । कलेज अफ मेडिकल साइन्सेज (भरतपुर मेडिकल कलेज) ले शल्यक्रियामा सार्कस्तरको मान्यता प्राप्त गर्न सफल भएको छ । सार्क सर्जिकल केयर सोसाइटीसहितको एक समूहको सर्भेबाट यस कलेजलाई शल्यक्रियामा सार्कस्तरीय मान्यता दिइएको हो । कलेजका निर्देशक भी नटराजप्रसादले अनुगमनका क्रममा सबै सेवा सुविधा उच्चस्तरको पाइएपछि कलेजले यस्तो मान्यता पाएको बताए ।
शनिवार साँझ अस्पतालमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यो नेपालमै पहिलो सार्क मान्यता प्राप्त कलेज भएको जानकारी दिए । आइतबार अपराह्न औपचारिकरूपमा स्वास्थ्य सचिव डा प्रवीण मिश्रले मान्यताको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । । यो मान्यता चितवनकै लागि गौरवको कुरा भएको उनले धारणा राखे । औपचारिक घोषणा कार्यक्रमको तयारीसमेत पूरा भएको कार्यक्रम संयोजक डा. सुजित कुमारले जानकारी दिए ।
सार्कस्तरका विशिष्ट व्यक्ति तथा चिकित्सकको सहभागितामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ । यो कलेजमा दैनिक औसत २० जनाको शल्यक्रिया गर्ने गरिएको चिकित्सक डा. सुजित कुमारले जानकारी दिए । चितवन मेडिकल सिटीको रूपमा विकास भइरहेको र यहाँ सुविधायुक्त दर्जनाँै अस्पताल रहेकामा सार्कस्तरको मान्यता पाउनु अति नै महत्वपूर्ण भएको निर्देशक भी नटराज प्रसादले बताए । गएको वर्ष विशेषज्ञसहितको एक टोलीले मान्यता दिन मिल्ने नमिल्ने विषयमा सर्भे गरेकामा उपयुक्त ठहरिएपछि सोसाइटीले मान्यता दिएको सो क्रममा जानकारी दिइएको थियो । यो अस्पतालको आइसियुमा मात्रै १०० कक्ष रहेको छ ।
चितवनका विभिन्न अस्पतालमा तीन हजारभन्दा बढी शय्या रहेका छन् । आइतवारको कार्यक्रममा पाकिस्तान, भुटान, श्रीलङ्का, भारतलगायत सार्क मुलुकको विज्ञको समेत सहभागिता रहने बताइएको छ ।
प्रतिक्रिया