भद्रपुर, १२ मंसिर । अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले मंगलबार भद्रपुरस्थित आन्तरिक राजस्व कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरे ।
दुई करोड ६२ लाख रुपियाको लागतमा निर्माण भएको उक्त भवनको निर्माण विसं २०६९ चैत्रमा सुरु भई ०६९ साल साउनमा निर्माण सम्पन्न भएको थियो । सोही अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री कोइरालाले मेची अञ्चलका ६ जना उत्कृष्ट करदातालाई ताम्रपत्र प्रदान गरी सम्मान गरे । सम्मानित हुनेहरूमा एक्सेल बैंक झापाका प्रमुख दिनेशकुमार पोखरेल, नेपाल बहुउद्देशीय सहकारी संस्थाका कार्यकारी प्रमुख रामचन्द्र उप्रेती, प्रकाश कन्सर्न झापाका सत्यनारायण तायल, चारखोला प्रालि इलामकी ज्ञानु लामा, कञ्चनजङ्घा टिस्टेटका प्रमुख दीपक बास्कोटा र ताप्लेजुङ हार्डवेयर एन्ड सप्लायर्सका दीपक घिमिरे छन् । करको दर होइन कि दायरा बढाउने सोचाइ अर्थ मन्त्रालयको रहेको स्पष्ट गर्दै अर्थमन्त्री कोइरालाले १२ लाख करदाता रहेकामा अब १५ लाख करदातासम्म पुर्याउने लक्ष्य लिएको जानकारी गराए ।
अर्थसचिव शान्तराम सुवेदीले भद्रपुर विमानस्थलको स्तर सुधार गरी रात्रिको समयमा पनि विमान अवतरणका लागि स्थानीय उद्योगपतिहरूको माग सम्बन्धमा पश्चिम बङ्गाल र सिक्किम धेरै नजिक झापामा पर्यटकीय आगमनलाई बढावा दिनका लागि यस विमानस्थलको स्तरमा सुधार ल्याउन विषयमा सहमति प्रकट गरे ।
प्रतिक्रिया