काठमाडौं, ७ मंसिर । औपचारिकरुपमा प्राप्त ५६ क्षेत्रको मत परिणाममा अनुसार कांग्रेसका शेरबहादुर देउवा सबैभन्दा बढी उमेरका संविधानसभा सदस्य रहेको निर्वाचन आयोगले जनाएको छ ।
डडेल्धुरा र कञ्चनपुरबाट निर्वाचित देउवा ६८ वर्ष पुगेका छन् । नेता देउवा पटक पटक प्रधानमन्त्री बनिसकेका छन् ।
यस्तै, वर्दिया–१ र प्युठानबाट विजयी एमालेका उपाध्यक्ष बामदेव गौतमपनि जेष्ठ सदस्यमा परेका छन् । गौतम ६५ वर्ष पुगेका छन् ।
दाङ–४ बाट विजयी कांग्रेसका बुद्धिराम भण्डारी पनि जेष्ठ सदस्य हुन् । उनको उमेर ६४ वर्ष पुगेको छ । ललितपुर–३ बाट निर्वाचित कांग्रेसका उम्मेदवार मदन अमात्य पनि जेष्ठ सदस्य हुन् । उनको उमेर ६३ वर्ष रहेको छ ।
त्यस्तै, रौतहट–१ र काठमाडौं–२ बाट निर्वाचित माधवकुमार नेपाल, प्यूठान–२ बाट विजयी हीराबहादुर केसी, तथा पाल्पा-३ बाट विजयी हरिप्रसाद नेपालको उमेर ६१ वर्ष छ । उनीहरु सबै जेष्ठ सदस्य रहेको आयोगको बुलेटिनमा उल्लेख छ ।
काठमाडौ–५ बाट विजयी कांग्रेसका उम्मेदवार नरहरि आचार्य, मोरङ–८ बाट विजयी एमालेका उम्मेदवार चन्द्रबहादुर गुरुङ, सिन्धुली–३ बाट विजयी एमाओवादी) का हरिबोल गजुरेलको उमेर ६० वर्ष छ ।
प्रतिक्रिया