काठमाडौं, ७ मंसिर । एमाओवादीले दोस्रो संविधानसभा चुनावको मतगणना रोक्न माग गरेको छ ।
मतगणनाको प्रारम्भिक परिणामपछि आत्तिएको एमाओवादीले चुनावमा धादली भएको भन्दै मतगणना रोकेर समग्र प्रक्रियाको पुनरावलोकन र निष्पक्ष छानबिन गर्न माग गरेको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै प्रक्रियाको पुनरावलोकन गरेर मात्र चुनावी प्रक्रियालाई अघि बढाउनुपर्ने भन्दै त्यसो नगरेको खण्डमा भने आफूहरु संविधानसभाबाटै अलग हुने चेतावनी दिएका छन् । ‘जनताको अभिमतलाई सम्मान गर्न भनेर चुनावमा आएका हौं,’ पार्टी कार्यालय कोटेश्वरमा बिहीबार आयोजित पत्रकार सम्मेलनम दाहालले भने, ‘धादली र षडयन्त्रलाई स्वीकार गर्न आएको होइन ।’
उनले चुनावी प्रक्रियालाई स्थगन गरी समग्र प्रक्रियाको पुनरावलोकन र निष्पक्ष छानविन गरेर मात्र अगाडिको कदम निर्धारण गर्नुपर्ने भन्दै सबैलाई गम्भीर बन्न पनि आग्रह गरे । ‘चुनावको सिलसिलामा देशव्यापी रुपमा योजनाबद्ध ढंगले दृश्य र अदृश्य धाँदलीका रुपहरु अपनाइएको, ठूलो मात्रामा आर्थिक चलखेलहरु भएको, मतपेटीकाहरु सार्ने क्रममा रहस्यमय हर्कतहरु भएको, सिल तोडिएका मतपेटीकाहरुलाई समेत स्वीकार्न पर्ने निर्देशन गरिएको बुझिन आयो,’ उनले भने, ‘मतगणनाको क्रममा अस्वाभाविक ढंगले राखिएका मतपत्रहरुको संख्या र स्वरुप फेला परेको आदि घटनाले यो चुनावी प्रक्रिया जनताको अभिमत र अपेक्षाविपरीत धाँदलीपूर्ण र षड्यन्त्रमूलक रहेको स्पष्ट भएको छ ।‘
उनले संविधानसभामा सहभागी नभए पनि विगतमा भएका समझदारी र सहमतिअनुसार शान्तिपूर्ण र लोकतान्त्रिक विधिद्वारा राज्यको अग्रगामी पुर्नसंरचना गर्न सबै राजनीतिक पक्षसाग वार्ता र सहकार्यको प्रक्रिया भने जारी नै रहने बताए । पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासा मेटाउदै उनले मोहन वैद्यको लाइन कि आफ्नो ठिक भन्ने आफ्नो पार्टीको केन्द्रिय समितिको बैठक बसेर टुंगोमा छलफल गरिने उल्लेखसमेत गरे ।
दोस्रो संविधानसभा गठनका लागि मंगलबार मतदान सम्पन्न भएपछि बुधबार बिहानदेखि मतगणना भएको थियो । बुधबार बेलुकी देशभरको सयभन्दा बढी क्षेत्रको मतगणना भईरहंदा प्रारम्भिक नजितामा उपत्यकाका १५ क्षेत्रसहित देशभर नै एमाओवादी तेस्रो स्थानमा परेपछि उसले राति नै मतगणना बहिष्कार गरेको थियो । देशभर नै बिहीबार भने एमाओवादीका कोही पनि प्रतिनिधि मतगणनास्थलमा प्रक्रियाबाटै बाहिरिएको भन्दै सहभागी नभए पनि मतगणना भने जारी छ ।
प्रतिक्रिया