चुनाव निष्पक्ष भएको युरोपियन युनियनको निष्कर्ष

EUकाठमाडौं, ७ मंसिर । युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (ईयु ईओएम)ले दोस्रो संविधानसभा चुनाव शान्तिपूर्ण र निष्पक्ष सम्पन्न भएको प्रतिवेदन सावजनिक गरेको छ ।

मिसनले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी चुनाव पर्यवेक्षणको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा मिसनका प्रमुख पर्यवेक्षक इभा जोलीले मतदान निश्पक्ष, व्यवस्थित र शान्त वातावरणमा सम्पन्न भएको बताइन् । मिसनका पर्यवेक्षकले अवलोकन गरेका मतदान केन्द्रमा मतदान प्रक्रिया एकनासले भएको र चुनावमा खटिएका कर्मचारीको काम अधिकांश राम्रो पाइएको जोली उल्लेख गरिन् ।
‘निर्वाचन आयोगले स्वतन्त्र र निश्पक्ष रुपबाट काम सम्पन्न गरेको छ,’ उनले पत्रकार सम्मेलनमा भनिन् । उनले सरसामान ढुवानीसम्वन्धी उल्लेख्य चुनौति र समयसीमाका बाबजूद चुनावको तयारी समयमै पुरा भएकोमा खुसी व्यक्त गरिन् ।
चुनावी अभियानको अवधिमा बोल्न तथा भेला हुन पाउने स्वतन्त्रताको राम्रोसँग सम्मान भएको र म्मेदवारहरु देशभर चुनावी अभियानमा सक्रियतापूर्वक सहभागी भएको मिसनको निष्कर्ष छ । उनले चुनाव अवधिभर हिंसात्मक प्रकृतिका कतिपय घटना भए पनि चुनावी अभियान सकिदा यसले खासै असर नपारेको बताइन् ।
१८ असोजमा नेपाल आएको मिसनमा २८ इयु सदस्य तथा नर्वे र स्वीट्जरल्याण्डका गरी १ सय १२ पर्यवेक्षकलाई देशभर परिचालन गरिएको थियो । मतगणना र परिणामको तालिका बनाउने र सम्भावित उजुरी र आवेदनको अवलोकन गर्न मिसन नेपालमा रहिरहने कार्यक्रममा जानकारी दिइयो । मिसनले सम्पूर्ण चुनाव प्रक्रिया पुरा भएको दुई महिनाभित्र भविष्यमा हुने निर्वाचनको सिफारिससहित अन्तिम मूल्याङ्कन र निष्कर्ष जारी गर्ने जोलीले जानकारी दिइन् ।

प्रतिक्रिया