विदेशी कामदारमाथिको धरपकडको असर

labour-dpartmentरियाद, ४ मंसिर । अवैध रूपले साउदी अरबमा बस्ने कामदारलाई साउदी अरब सरकारले पक्रन सुरु गरेपछि यहाँका कामदारहरू स्वदेश फर्केका छन् भने केही अटेर बस्नेलाई पक्राउ गरेपछि साउदीमा कामदारको चर्को अभाव परेको छ । दश लाखभन्दा बढी गैरकानुनी विदेशी कामदार स्वदेश फिर्ता गरेपछि त्यहाँ कामदारको चर्को अभाव देखिएको स्थानीय समाचार संस्थाले जनाएका छन् । त्यसो त यो घटनालाई लिएर यहाँका पत्रपत्रिकाले समेत कामदारको अभावलाई प्रमुख समाचारको रूपमा छापेका छन् । ‘जेद्दामा सडकमा फोहर थुप्रिएको छ, उठाउने मान्छे छैनन्, निम्न तहको काम गर्ने कामदारको संकट परेको छ,’ उल्लेख गर्दै अरब टाइम्सले लेखेको छ ।

गत ३ नोभेम्बरसम्मको सात महिने आममाफी समाप्त भएपछि साउदी सरकारले ठीक त्यसैको भोलिपल्टबाट धरपकड अभियान सञ्चालन गरेको छ । ‘ड्राइभरको अभावले विद्यालय बन्द छन्, सपिङ मल शून्य छन, ड्राइभर नभएकाले महिला घरबाहिर आउन पाएका छैनन्,’ समाचारमा भनिएको छ ।
तीन लाख गैरकानुनी आप्रवासीलाई साउदी सरकारले अहिलेसम्म पक्रिसकेको छ । साउदी अरबको दुई करोड ८० लाख जनसंख्यामा एक तिहाई विदेशी कामदार छन् । पछिल्लो साउदीको अवस्थाका बारेमा ह्युमन राइट्स वाचका मध्यपूर्व अनुसन्धानकर्ता एडम कुग्लेले भने, ‘साउदी अरबमा कामदारको संकटले चरमरूप लिएको छ । अझै धरपकड भयो भने यसले अस्थिरताको रूप लिन्छ ।’ कामदार धरपकड शान्ति रूपले गर्ने भनिए पनि अहिलसम्म एक इथिपियोयनसहित तीनजनाको मृत्यु भइसकेको अरब न्युजले जनाएको छ ।
साउदी अरबमा काफला प्रणालीका कारण कामदार रोजगारदाताको अधिनमा हुने भएकाले उनीहरूमाथिको कारवाही ज्यादती भएको वाचले जनाएको छ । ‘आप्रवास र कामको अनुमति दिनुपर्ने दायित्व रोजगारदाताको हो । रोजगारदातालाई थप कडाइ गर्नुपर्छ,’ कुग्लेले भने ।
वाचले रोजगारदाताको ज्यादतीमा परेका धेरै कामदार गैरकानुनी भएको बताएको छ । ‘विदेशी कामदारका कारण अनुशासनहीनता बढेको कुरा पत्याउन सकिँदैन । ‘रोजगार प्रणालीमै सुधार आवश्यक छ,’ मिडलइस्ट सेन्टरका अनुसन्धानकर्ता डा. मादवी अलरसिदले भने ।
नेपाली कामदारको गन्तव्य यहाँ मानिन्छ । साउदी अरबमा करिब तीन लाख ५० हजार नेपाली कार्यरत भएको अनुमान छ । आममाफीको क्रममा करिब ३५ हजार नेपाली स्वदेश फर्के पनि अहिले पनि त्यत्तिकै संख्यामा नेपाली गैरकानुनीरूपमा यहाँ बसिरहेका छन् ।
धेरै महिला कामदारले आममाफीको फाइदा लिन नसकेको वाचले जनाएको छ । घरभित्र काम गर्ने कारण उनीहरूसम्म सूचना नै पुग्न सकेन । साउदी अरबमा करिब ७० हजार नेपाली महिला घरेलु कामदारका रूपमा काम गर्ने गरेको विश्वास गरिन्छ ।
युएन वुमनको सन् २०११ को प्रतिवेदनअनुसार, करिब ६३ हजार नेपाली महिला यहा आइपुगेका थिए । अधिकांश भारतको बाटो भइ साउदी अरब पुगेका हुन् ।

प्रतिक्रिया