चुनाव पर्यवेक्षणमा २३५ विदेशी

काठमाडौं, ३ मंसिर । मंगलबार हुने दोस्रो संविधानसभा चुनावको पर्यवेक्षण गर्न तीनवटा विदेशी संस्थाका २ सय ३५ जना नेपाल आएका छन् ।

निर्वाचन आयोगले आइतबार मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरी २ सय ३५ विदेशीले चुनावको पर्यवेक्षण गर्ने जानकारी दिएको हो । आयोगका अनुसार नेपालबाट १८ हजार २ सय २२ पर्यवेक्षकले परिचयपत्र लिएका छन् । आयोगको आमन्त्रणमा पनि विभिन्न देशबाट अतिथिहरू चुनाव अवलोकनका लागि आएका छन् । चुनाव अवलोकनका लागि आयोगको निम्तोमा कार्टर सेन्टर प्रमुख एवम् पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरसहित २७ जना आएका छन् । त्यसैगरी, अफगानिस्तान, माल्दिभ र भुटानका प्रमुख निर्वाचन आयुक्तहरू आयोगको निम्तोमा नेपाल आएको आयोगले जनाएको छ ।
‘बंगलादेश, श्रीलंका, भारत, थाइलैन्डका निर्वाचन आयुक्तहरू पनि नेपाल आइसक्नुभएको छ,’ निर्वाचन आयुक्त डा. रामभक्त पिबी ठाकुरले भने, ‘अन्य अधिकारी ११ र विभिन्न देशका सरकारका २ जना प्रतिनिधि पनि नेपाल आउनुभएको छ ।’ उनले बेलायतका–६ र अस्ट्ेरलियाका–२ सभासद् पनि नेपाल आएको उनले जानकारी दिए ।
आयोगको आमन्त्रणमा राजदुतहरूले समेत चुनाव अवलोकन गर्ने भएका छन् । अस्ट्रेलिया, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, भारत, इजरायल, जापान, नर्वे, रसिया, श्रीलंका, स्विटजरल्याण्ड, वेलायत, अमेरिका र यूरोपिएन यूनियनका राजदुत तथा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिले चुनावको अवलोकन गर्ने आयोगले जनाएको छ । राष्ट्रिय पर्यवेक्षक संस्थाहरूमध्ये नियोकले २६ र केओफले ८ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकसमेत अनुमतिमा परिचालन गरेका छन् ।
१४४ उजुरीमाथि कारबाही
निर्वाचन आयोगले ७ साउनदेखि हालसम्म परेका १ सय ८७ वटा आचारसंहिता उल्लंघनका उजुरीमध्ये १ सय ४४ वटामाथि कारवाही गरेको छ ।
आयोगका अनुसार ४ राजनीतिक दल र १३ जना उम्मेदवारविरुद्ध परेको उजुरीमा सबैलाई कारबाही गरिएको छ । ३ कर्मचारी र २३ जना शिक्षक र विद्यालयउपर परेको उजुरीमा पनि आयोगले कारवाही गरेको छ । विद्यालय संचालक समिति गठन सम्बन्धमा परेका २२ र सञ्चारमाध्यमविरुद्ध परेका ४ उजुरीमाथि पनि कारवाही भएको आयोगले जनाएको छ ।
गैरसरकारी संस्थासम्वन्धी परेको १ र राजनीतिक दलको भातृसंगठन सम्वन्धी परेको २ उजुरीमाथि आयोगले कारवाही गरेको छ । अन्तराष्ट्रिय गैरसरकारी संस्थाउपर परेको एक र विविध खाले ७१ वटा उजुरीउपर पनि कारवाही गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ । ४३ उजुरी तामेलीमा छन् ।
अनुमति नलिई हेलिकप्टर प्रयोग गरेका ३३ मध्ये ३१ जनालाई कारवाही गरिएको पनि आयोगले जनाएको छ । अनुमतिविना सवारी साधन प्रयोग गरेका २९ जना कारवाहीमा परेका छन् ।
सम्बन्धित मुख्य/निर्वाचन अधिकृतबाट १ सय ७७ ओटा उजुरीउपर कारवाही भएको आयोगले जनाएको छ । कारवाही भोग्नेमा राजनीतिक दल, भ्रातृसंगठन एवं उम्मेदवारलगायत अन्य विभिन्न सरोकारवाला पक्ष छन् । कस्तो कारबाही गरेको भन्ने बारेमा चाहिँ आयोगले उल्लेख गरेको छैन ।

प्रतिक्रिया