भारतीय बैंकमा कारोबार गर्न बाध्य

वीरगन्ज : औद्योगिक तथा व्यापारिक केन्द्र वीरगन्ज बैंक तथा वित्तीय संस्थाको प्रमुख आकर्षणको थलो भए पनि जिल्लाका सीमावर्ती ग्रामीण क्षेत्रमा बैंकिङ सेवा नपाएपछि त्यस क्षेत्रका स्थानीयवासी भारतीय बैंकमा कारोबार गर्न बाध्य भएका छन् । उदार आर्थिक व्यवस्थाका कारण मोफसलका ठूला सहरमा बैंक धमाधम सञ्चालनमा आइराखेका छन् तर सीमावर्ती ग्रामीण क्षेत्रमा बैंकिङ सेवा अभाव छ । सो क्षेत्रका बासिन्दाले दैनिक लाखौं रुपिँया भारतीय बैंकमा जम्मा गर्न थालेका छन् । वीरगन्जमा मात्र दुई दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् । सबै बैंकले वीरगन्जमा आ–आफ्नो शाखा खोलेर व्यापारिक कारोबार सुरु गरेपनि ग्रामीण क्षेत्रका जनताले त्यसबाट फाइदा लिन सकेको छैनन् । जिल्लाको बहुसङ्ख्यक नागरिक बसोबास गर्ने ग्रामीण क्षेत्रमा कुनै पनि बैंकको शाखा सञ्चालनमा नरहेकाले उनीहरु बैंकिङ सेवाको पहुँचबाट टाढा रहन बाध्य भएका हुन् । .(सौस)

प्रतिक्रिया