काठमाडौं : नेकपा (माले–समाजवादी)ले देशलाई कोसी, बागमती, गण्डकी, कर्णाली र खप्तड गरी पाँच संघीय प्रदेशमा विभाजन गर्नुपर्ने धारणा राखेको छ । सो पार्टीद्वारा प्रकाशित निर्वाचन घोषणापत्रमा बढी जनसङ्ख्या भएका तराईका जिल्लाहरू र केही चुरे क्षेत्रको भू–भाग समावेश गरी तराईका २० जिल्लालाई पुर्नगठन गरी ३६ वटा स्वायत्त विकास परिषद् बनाउने र जनघनत्व कम भएका ठूलो भूगोल भएका हिमाली १५ जिल्लाका केही पहाडी जिल्लाको भाग समावेश गरी पुर्नगठन गरी २४ स्वायत्त विकास परिषद् निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्ने, स्वतन्त्र न्यायपालिकाका तीनवटा तह हुनुपर्ने, राष्ट्रियता, राष्ट्रिय अखण्डता र युवा रोजगारलाई प्राथमिकता दिइएको सो घोषणापत्रमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन माग गरिएको छ । पार्टीका अध्यक्ष विष्णुराज अर्यालले राष्ट्रियता, सार्वभौमसत्ता, संविधानका मूलभूत कुराहरू र देशको आर्थिक विकासका आधारहरूलाई आफ्नो पार्टीले स्पष्टसँग राखेकाले जनताले बहुमत दिने आशा ब्यक्त गरे । सुकुन्दा चुनाव चिह्न लिएर सो पार्टीले देशभर प्रत्यक्षमा ५० र समानुपातिकमा ५२ जना उम्मेदवारहरूलाई प्रतिस्पर्धा गराएको छ । घोषणापत्रमा लोकतन्त्रलाई संस्थागत गर्ने, मानव अधिकार, प्रेस स्वतन्त्रता र कृषि क्रान्तिको माध्यमबाट गरिबी निवारण गरिने कुरा उल्लेख गरिएको छ ।
प्रतिक्रिया