खोटाङ, २८ कात्तिक । वर्षाले विगारेको खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल मर्मत पछि हप्ताको एक चोटी उडान भर्न थालेको छ ।
वर्षाले धावनमार्ग खाल्डाखुल्डी परेपछि विमानस्थल बन्द गरिएको थियो । असार १५ देखि बन्द गरिएको विमानस्थल हाल हप्ताको एक पटक उडान भर्न थालिएको हो ।
संविधानसभाको दोश्रो निर्वाचन नजिकिएसँगै जिल्ला भित्रने सर्वसाधारणको चाप बढेकोले तत्कालका लागि हप्तामा एकपल्ट नेपाल वायु सेवा निगमले उडान शुरु गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेले बताएका छन् । घिमिरेले हप्तामा एक पटक भएपनि सर्वसाधारणको समस्यालाई ध्यानमा राखेर उडान भर्न थालेका बताए । सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने विमानस्थलमा उडान शुरु भएसँगै जिल्ला भित्रने सर्वसाधारणलाई केही सहज भएको छ ।
जिल्लाका तीन वटा विमानस्थलहरुमध्ये सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थलमा उडान शुरु भएपछि जिल्ला भित्रने सर्वसाधारणको घुइंचो बढेको टिकट विक्रेताहरुले जनाएका छन् । उनीहरुका अनुसार, ‘हप्तामा एक चोटी फ्लाईट हुने उडानका लागि टिकट वितरण गर्न समस्या भएको छ ।
उक्त धावन मागमा हाल पनि मर्मत तथा संभारकार्य गर्नुका साथै कालोपत्रेको काम भइरहेको छ । तत्कालका लागि निर्माण कार्यलाई अवरुद्ध नगर्नेगरी उडान शुरु गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । जिल्लाका सबैभन्दा नजिक रहेको विमानस्थलबाट उडान शुरु भएसँगै जिल्ला अस्पताल खोटाङबाट रेफर गरिएका विरामीहरुका लागि भने केही सहज भएको सर्वसाधरणको भनाइ छ । यसअघि विमानस्थलमा उडान बन्द हुँदा चर्को मुल्य तिरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता थियो ।
जिल्लाका लामीडाँडा र थामखर्क विमानस्थल सदरमुकाम दिक्तेलदेखि टाढा भएपछि जिल्लामा दैनिकजसो हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । उपचार गराउन जिल्ला अस्पताल आउने सामान्यदेखि जटिल किसिमका बिरामीलाई अस्पतालले रेफर गरिदिएपछि एक लाख २० हजारदेखि एक लाख ७० हजारसम्ममा हेलिकोप्टर चार्टर गरेर बिरामी लानु पर्ने बाध्यता रहेको स्थानीय व्यापारी दैवराम राईले बताए ।
मतदाता परिचय–पत्र वितरण भोलिदेखि
खोटाङ : खोटाङमा भोलि कात्तिक २९ गतेबाट मतदाता परिचय–पत्र बितरण गरिने भएको छ । निर्वाचन आयोगले मतदान लागि परिचय–पत्र अनिवार्य गरेपछि मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले यस्तो तयारी गरेको हो ।
यसका लागि प्रत्यक मतदान केन्द्रमा परिचय–पत्रसहित कर्मचारी खटाइएको जिल्ला निर्वाचन अधिकारी श्रीकुमार राईले जानकारी दिए । उनका अनुसार प्रत्येक गाविसको प्रत्येक मतदान केन्द्रमा कर्मचारी खटाइएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले आगामी कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म मतदाताहरुलाई परिचय–पत्र बितरण गर्नेछ ।
यसैबीच, मतदाता परिचय–पत्र बितरणलाई कसरी सहज तथा सुविधायुक्त तवरले वितरण गर्न सकिन्छ भन्नेबारेमा सर्वपक्षीय बैठक बसेको छ । जिल्लाका राजनीतिक दल, कार्यालय प्रमुख तथा पत्रकारहरु उपस्थित बैठकमा सम्बन्धित व्यक्तिलाई मात्र मतदाता परिचय–पत्र प्रदान गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सम्बन्धित व्यक्ति बाहेक अन्यलाई नदिने निर्णय गरेको छ । सर्वपक्षीय बैठकले गरेको निर्णय अनुसार कात्तिक २९ गते बिहानदेखि मंसिर २ गते बेलुकासम्म मतदाताहरुले आफ्नो परिचय–पत्र लिन पाउनेछन् । फर्जी मतलाई नियन्त्रण गर्ने आयोगको निर्णय अनुसार कार्यालयले परिचय–पत्र अनिवार्य गरेका हो । यस पटकको निर्वाचनमा मतदाता परिचय–पत्र बाहेकका व्यक्तिले मतदान गर्न नपाउने निर्वाचन आयोगले जनाएको
छ । (सौस)
प्रतिक्रिया