अलबिदा दयानन्द !

Dayananda Bajracharyaकाठमाडौं, २६ कात्तिक । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का पूर्वउपकुलपति तथा नेपाली वैज्ञानिक प्रा.डा. दयानन्द बज्राचार्यको निधन भएको छ ।

श्वासप्रश्वाससम्बन्धी जटिल खालको ब्रोंकेलाज्मा रोगबाट पीडित वैज्ञानिक प्रा.डा. बज्राचार्यको सोमबार ६८ वर्षको उमेरमा निधन भएको हो । श्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा लैजादै गर्दा उनको निधन भएको थियो । २००२ सालमा काठमाडौंमा जन्मिएका वनस्पतिशास्त्री बज्राचार्य सन् १९९८ देखि ८ वर्ष नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको उपकुलपति भएका थिए । नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना हुदा उनी प्राज्ञ थिए । प्रतिष्ठानमा सुरुमा १५ जना प्राज्ञ थिए ।
भारतबाट स्नातकोत्तर प्रा.डा. बज्राचार्यले जर्मनीमा विद्यावारिधि गरेका थिए । उनले ४२ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । त्रिविमा रेक्टर र डिनको जिम्मेवारीसमेत उनले सम्हालेका थिए । उनका आध्यारोमा एक काटी सलाई, वैज्ञानिक गोरेटोमा र चेतनाको यात्रासहित ९ वटा पुस्तक प्रकाशित छन् भने ४० भन्दा बढी रिसर्च र सयभन्दा बढी लेख प्रकाशित छन् ।
बज्राचार्यले १० वर्षको भएपछि एकैपटक ९ कक्षामा भर्ना भएर १२ वर्षको उमेरमै एसएलसी उत्तीर्ण गरेका थिए । ३१ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालयको प्राध्यापक बनेका उनी ४१ वर्षको उमेरमा रेक्टर बनेका थिए । जर्मनीको फ्राइबुर्ग विश्वविद्यालयबाट फिजियोलोजीमा विद्यावारिधि गरेका उनले सन् १९७५ नेपाल फर्केर अध्यापन र अनुसन्धान पेसालाई निरन्तरता दिएका थिए । जर्मनीबाट विद्यावारिधि गर्ने उनी पहिलो नेपाली हुन् । उनले ४० भन्दा बढी देशको भ्रमण गर्नुका साथै ३१ भन्दा बढी पुरस्कार प्राप्त गरेका थिए ।
बज्राचार्यले नेपालको जंगलमा पाइने ऐसेलु, पौयु, लब्सी, काफलजस्ता खानयोग्य फलफूलमा पाइने पौष्टिक तत्वबारे अनुसन्धान गरेका थिए । उनका एक छोरा र एक छोरी छन् । उनकी पत्नी कोकिला त्रिविमा प्राध्यापक छिन् । छोरी स्विडेनमा र छोरा अमेरिकमा अध्ययनरत छन् । उनको सोमबार नै काठमाडौंको शोभाभगवतीमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया