बन्द, हड्ताल र हिंसा अन्त्य गर्न आग्रह

baluwatarकाठमाडौं, १८ कात्तिक । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभा चुनाव र तयारीका विषयमा एमाओवादी, कांग्रेस, एमालेसहितका प्रमुख दलहरुसँग परामर्श गरेका छन् ।

बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आज (सोमबार) प्रमुख राजनीतिक दलका पदाधिकारीहरुसँग आसन्न संविधान सभाको निर्वाचनको तयारी र निर्वाचनसंग सम्बन्धित विविध विषयमा छलफल भएको रेग्मीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले संविधान सभाको निर्वाचनको तयारीको समग्र मूल्याङ्ककन गर्दै निर्वाचनमा सहभागी भएका राजनीतिक दलहरुकावीचमा प्रतिश्पर्धा स्वस्थ हुनुपर्ने निश्कर्ष निकालेको छ । निर्वाचनलाई राष्ट्रिय अभियानको रुपमा लिई सम्पन्न गर्ने सहमति भएको छ ।

संविधान सभाको निर्वाचन बहिष्कार गर्ने दलहरुले संविधान सभाको निर्वाचनलाई लक्षित गरी मतदान गर्ने नागरिकको अधिकारलाई कुण्ठित हुने कार्य नगर्न पनि आह्वान गरेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।

‘चुनाव विपरितका कुनै किसिमको बन्द, हडताल, हिंसात्मक गतिविधि नगर्न नगराउन बैठकले आव्हान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो काम कारवाही निर्वाचन आयोगबाट जारी भएको आचार संहिता र प्रचलित कानून विपरित हुने भएकाले कानून बमोजिम कारवाही हुने छ ।’

नेकपा–माओवादीको दश दिने आमहड्ताल आउन एकसाता मात्रै बाँकी रहँदा सरकारले प्रमुख दलहरुलाई बोलाई सो बिषयमा छलफल गरेको हो ।

छलफलका क्रममा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सरकार उल्लिखित समग्र स्थितिको मूल्याङ्कन गर्दै संविधान सभाको निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखी दृढतापूर्वक लागि परेको बताए । उनले निर्धक्क भएर संविधान सभाको निर्वाचनमा भाग लिन आम जनसमुदायलाई आग्रह पनि गरे ।

प्रतिक्रिया