संवैधानिक आधारमा देश चलेकै छैन : झा

parmananda jhaकाठमाडौ, १८ कात्तिक । उपराष्ट्रपति परमानन्द झाले मुलुकमा संवैधानिक रुपमा केही पनि कार्य नभएको टिप्पणी गरेका छन् ।

काठमाडौंस्थित आफ्नै निवासमा आज (सोमबार) पत्रकारसँग कुरा गर्दै झाले राजनीतिक दलहरुको सहमतिमा सबै कुरा हुने गरेको बताए । ‘मुलुकमा संविधानका कुरा एकातीर छन्,’ उनले भने, ‘संविधानको आधारमा केही भएको छैन ।’ उनले राष्ट्रपति र दलहरुको निर्णय आ–आफ्नो स्थानमा रहेको बताए ।

उपराष्ट्रपति झाले पछिल्लो पटक संविधान संशोधन संविधान अनुसार नभई दलहरुको आग्रहका अधारमा भएको बताए ।

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकालका विषयमा संविधानमा के लेखिएको छ भन्ने कुराको कुनै अर्थ नहुने झाले बताए । ‘अब भविष्यमा पनि संविधान अनुसार चल्छ जस्तो लाग्दैन,’ उनले भने ।

उनले दलहरुले चाहँदासम्म राष्ट्रपति डा.रामवरण यादव र आफु पदमा कायम रहने बताए । ‘अहिलेसम्म मुलुक संबैधानिक हिसावमा भन्दा पनि राजनीतिक दलहरुको सहमतिका आधारमा चलेको छ,’ उनले भने, ‘दलहरुले चाहँदासम्म म र राष्ट्रपति पदमा कायम रहन्छौं ।’

उपराष्ट्रपति झाले नेकपा–माओवादीका पक्षमा देश नभएको बताए । उनले भने, ‘कालान्तरमा उनीहरु आफै बहिस्कृत हुने छन् ।’ उपराष्ट्रपति झाले नेकपा–माओवादी नआउँदैमा देशलाई घाटा नहुने बताए ।

प्रतिक्रिया