माओवादीले अवसर गुमाएको छ : देउवा

Sher-Bahadur-Deubaकैलाली, १७ कात्तिक । नेपाली कांग्रेसका नेता शेरवहादुर देउवाले अघिल्लो संविधानसभामा ठूलो पार्टी भएर पनि माओवादीले जनतालाई छल गरेको बताएका छन् । उनले माओवादीले अघिल्लो चुनावमा गरेको वाचा पुरा नगरेका कारण पुन: जनता कांग्रेस तर्फ फर्किएको बताए ।

चुनावी प्रचार–प्रसारका क्रममा आज (आइतबार) कैलालीको क्षेत्र नम्बर ३ को भजनीमा नते देउवाले अघिल्लो निर्वाचनमा जनताले माओवादीलाई भोट दिएर विजयी बनाए पनि उसको छलीका कारण जनता निरास भएको बताए । ‘जनताको नजरमा माओवादी अनुत्तीर्ण भएको छ,’ उनले भने, ‘जनता अब माओवादीलाई भोट दिने पक्षमा छैन ।’

जनताले दिएको अवसर माओवादीले दुरुपयोग गरेको नेता देउवाले आरोप लगाए । ‘फेरि पनि माओवादीले अवसर पाउँदैन,’ उनले भने, ‘जनता कांग्रेसलाई नै जिम्मेवारी दिने मनस्थितिमा छन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सुदूरपश्चिममा विकासको लहर कांग्रेसले ल्याएको दावी गरे । उनले अन्य पार्टीका प्रधानमन्त्री भएका बेला सुदूरपश्चिमले केही नपाएको बताए ।

नेता देउवाले मुक्तकमैयाहरुलाई पनि भेटेका छन् । कैलालीका विभिन्न शिविरहरुमा पुगेका देउवाले कांग्रेसले बहुमत पाए मुक्त कमैयालाई पुन:स्थापना गर्ने प्रतिवद्धता जनाए ।

यसैबीच, कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य मोहनराज मल्ल र जिविस कैलालीका पूर्वउपसभापति सूर्यवहादुर मल्ल, माओवादीका पूर्व लडाकूसहित झण्डै एकहजार बढी नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया