काठमाडौं, १७ कात्तिक । यमपञ्चकको तेस्रो दिन आज देशभरि धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिंदैछ ।
बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज (आइतबार) घरको चारैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौंसी, अटाली, भर्याङ्लगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ ।
साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहिणीहरु साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् ।
लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक मान्यता छ ।
साँझ किशोर किशोरीले समूह बनाई घरघरमा भैलो खेल्छन् । यसरी भैलो माग्दै हिंड्ने समूहलाई धान, चामल, पैसा र नैद्य दिने चलन छ ।
आजै गाई तिहारपनि भएकाले घरघरमा लक्ष्मीको प्रतीक मानिने गाईको पूजा गरिएको छ । गाईको गोबर र गहुँतलाई धार्मिक हिसाबले पनि पवित्र मानिन्छ ।
जनै पूर्णिमामा लगाएको डोरो आजका दिन गाईको पुच्छरमा बाँधे सजिलै बैतरिणी तर्न सकिने विश्वास पनि छ । शहरमा गाई पाल्नेहरु निकै कम भएकाले मनिसहरु गाईको गोठ खोजी खोजी पूजा गर्छन् ।
प्रतिक्रिया