चुनाव कुनै हालतमा भाँडिन्न : एमाओवादी

Agni-Sapkotaकाठमाडौं, १७ कात्तिक । एमाओवादीले दोस्रो संविधानसभा चुनाव ४ मंसिरको निर्धारित मितिमै हुने जनाएको छ ।

एमाओवादी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार नियमित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले चुनाव प्रचारका क्रममा छिटफुट घटना भए पनि तोकिएको मितिमा चुनाव भएरै छाड्ने बताएका हुन् । सुरक्षा कमजोरीका कारण केही स्थानमा उम्मेदवारका सवारीसाधन आगजनी, राजमार्ग र यातायात सञ्चालनमा अवरोध भए पनि चुनाव भाँडिने वातावरण नरहेको प्रवक्ता सापकोटाले बताए ।
छिटफुट घटना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक दल, सरोकारवाला निकाय सबैको उत्तिकै साथसहयोग रहने हो भने चुनावविरोधी गतिविधि पूर्णरूपमा नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । चुनावको विरोधमा गतिविधि सञ्चालन गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई राजनीतिक रूपमा प्रस्तुत हुन आग्रह गर्दै उनले गैरराजनीतिक चरित्र देखाउँदै गए जनताले प्रतिकार गर्ने चेतावनी दिए ।
‘चुनावी अभियान अगाडि बढ्दै जाँदा सरकार, निर्वाचन आयोग, सुरक्षा निकायको प्रभावकारी परिचालन गरिए कुनै पनि विरोधी गतिविधि हुन सक्दैन,’ उनले भने, ‘त्यसका लागि सबैको साथसहयोग रहनुपर्छ ।’
एमाओवादी उम्मेदवारको सवारीसाधन आगजनीमा अपरिचित व्यक्तिहरूको संलग्नता रहेको पाइएको उल्लेख गर्दै उनले यस्तो गतिविधि रोक्न सरकार कुनै हालतमा पन्छिन नमिल्ने जिकिर गरे । ‘आगामी दिनमा पनि त्यस खालको गतिविधि जारी रहे हाम्रो पार्टी गम्भीर भएर सोच्न बाध्य हुनेछ,’ उनले भने ।
उनले आफूहरूले चुनावी अभियान देशव्यापी रूपमा जारी राखेको जानकारी दिँदै हालसम्मको अवस्था सकारात्मक पाइएको उल्लेख गरे ।

प्रतिक्रिया