दश नयाँ सहरमा १५ अर्ब लगानी

simhadarbarकाठमाडौं : सरकारले मुलुकभर विकास गर्न लागेको १० वटा नयाँ सहरमा कुल १५ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको नयाँ सहर आयोजना समन्वय कार्यालय काठमाडौंले ती सहरको भौतिक संरचना निर्माणका लागि सरकारी कोषबाट पाँच अर्ब र निजी तथा दातृ निकायबाट करिब १० अर्ब गरी १५ अर्ब लगानी गर्न लागेको हो ।
नयाँ सहर आयोजना समन्वय कार्यालयका कामु आयोजना संयोजक रवि शाहका अनुसार मुलुकमा नयाँ व्यवस्थित सहर निर्माणका लागि सो रकम खर्च लागिएको हो । प्रत्येक सहर निर्माण तथा विकास गर्नका लागि कम्तीमा पनि दश वर्ष लाग्ने अनुमान गरिएको छ । पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे बजार, बाग्लुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर, बैतडीको पाटनलाई नयाँ सहरको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
सरकारले प्रस्तावित गरेको ती १० वटै सहरमा हाल सम्भाव्यता अध्ययनको काम गरिरहेको आयोजना संयोजक शाहले जानकारी दिए । चौरजहारी, खुर्कोट र फिदिममा नयाँ सहर कार्यान्वयन गरिने जग्गा विकासको सम्भाव्यता अध्ययनको काम भइरहेको र पाटन, साँफेबगर, बुर्तिवाङ, डुम्रे र फिदिममा भौतिक निर्माणको काम भइरहेको जनाइएको छ । दश नयाँ सहरको विकास र निर्माणका लागि चालु आवमा फिदिममा १.५ किलोमिटर, वसन्तपुरमा दुई किलोमिटर, खुर्कोटमा बसपार्क, बैरेनी गल्छीमा २.४ किलोमिटर, डुम्रेमा तीन किलोमिटर सडक, बुर्तिवाङमा बसपार्क, चौरजहारीमा सडक, राकम कर्णालीमा २.६ किलोमिटर सडक, साँफेबगरमा १.४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएको छ ।
सरकारले प्रत्येक सहर विकासका लागि हाल ४/४ जना र आयोजना समन्वय कार्यालयमा १३ जना गरी ५३ जना कर्मचारीको व्यवस्था गरेको संयोजक साहले जानकारी दिए । निर्माणाधीन मध्य पहाडी लोकमार्गमा अवस्थित ती सहरहरूले मुलुकमा नयाँ आर्थिक केन्द्रको निर्माण गर्ने लक्ष्य राखेको छ । मध्य पहाडी लोकमार्ग र उत्तर–दक्षिण सहायक मार्गको मिलनबिन्दु वा यसको करिब तीन तीन किलोमिटर आसपासका क्षेत्रका बस्तीलाई समेटेर निर्माण गरिने ती सहरमा ०९० सालसम्म प्रत्येक सहरमा एक लाख जनसंख्या पुर्‍याउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया