कामले चिनाउने अभियानमा एमालेका युवा उम्मेदवार

Mahesh_Basnetकाठमाडौं, १६ कात्तिक । कुरा होइन काम गरौँ, अब देशलाई सम्वृद्ध बनाउन युवाहरूले नै विशेष भूमिका खेल्नुपर्छ भन्ने तर्कसहित संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका युवा नेता चुनावी अभियानमा जुटेका छन् । मुलुकको नेतृत्व गर्ने जिम्मा युवाको काँधमा आएकाले त्यसलाई प्रमाणित गर्न पनि आफूहरूले जित्नुपर्ने तर्क एमालेका युवा उम्मेदवारहरूको छ । नेपाललाई सामाजिक र आर्थिक क्रान्तिको दिशातर्फ लैजाने योजनासहित चुनावी मैदानमा ओर्लेको युवा नेताहरू बताउँछन् । नेकपा एमालेले पनि यो पटक उल्लेख्य संख्यामा युवालाई चुनावी मैदानमा उतारेको छ । घनश्याम भुषाल, योगेश भट्टराई, रवीन्द्र अधिकारी, महेश बस्नेतलगायत चर्चित युवा अनुहार यस पटक चुनावी मैदानमा छन् ।

रूपन्देही क्षेत्र नं. ३ का उम्मेदवार घनश्याम भुषाल समाजवादउन्मुख विचारसँग देशको विकासलाई जोड्ने हो भने केही वर्षभित्रमा मुलुकलाई संवृद्धिको बाटोतर्फ लैजान सकिने बताउँछन् । विचार र सिद्धान्त भएन भने राजनीति बिग्रने भुषालको ठम्याई छ । नेपालको राजनीति बिग्रनुको मुख्य कारण पनि त्यही भएको उनको सोच छ । ‘सिद्धान्त र विचारमा टेकेर सिद्धान्त अनुकुलको संगठन निर्माण गर्ने हो भने त्यो राजनीति उन्नत खालको हुन्छ,’ उनले भने, ‘रंगीचंगी खालका मार्गचित्रले मात्र नेपाल संवृद्धिको बाटोमा जान सक्दैन ।’ पार्टीभित्रको गुटवन्दी र पार्टी बाहिरको सत्ता राजनीतिले देश बिग्रिएको उनको निष्कर्ष छ ।
काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार हुने अवसर पाएका योगेश भट्टराई पनि कुराभन्दा काम गर्नुपर्छ भन्ने मान्यता आफूसँग रहेको बताउँछन् । ताप्लेजुङ जिल्लामा जन्मिएर राजधानीको राजनीतिमा सक्रिय बनेका भट्टराई आफूसँग मुलुक परिवर्तनको स्पष्ट खाका भएको दाबी गर्छन् । ‘अब मुलुकलाई सामाजिक र आर्थिक क्रान्तिको बाटोमा लैजानुको विकल्प छैन,’ भट्टराईले भने, ‘कृषि पर्यटन, जलविद्युत र मानव संशाधनलाई अधिकतम् उपयोग गरेर अघि बढ्ने हो भने यो संभव छ ।’ राष्ट्रिय, औद्योगिक, नीजि र वैदेशिक पूँजीको प्रयोग गरेर स्वदेशमै प्रसस्त रोजगारीको अवसर सिर्जना गर्न सकिने उनको तर्क छ । आयात र निर्यातमा सन्तुलन ल्याउने, रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नेजस्ता नीतिलाई समेत आत्मसात गरेर अघि बढ्ने हो भने मुलुकलाई संवृद्धिको बाटोमा लैजान कुनै मुस्किल नहुने उनको तर्क छ । एमालेको घोषणपत्र पनि त्यसैमा केन्द्रित रहेको उनको ठम्याई छ । अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका उनी हाल एमालेका केन्द्रीय सदस्य हुन् । युवाहरू माझ भट्टराई लोकप्रिय नेताका रूपमा परिचित छन् ।
कास्की क्षेत्र नं ३ बाट उम्मेदवार बनेका रवीन्द्र अधिकारी पनि अर्का चर्चित युवा अनुहार हुन् । अधिकारी पनि नेपालको राजनीतिलाई कामभन्दा कुरा बढी गर्ने क्षेत्रका रूपमा परिभाषित गर्छन् । उनी नेपालको राजनीति ‘कुराको खेती’ मात्र भएको तर्क गर्छन् । ‘हामीले राजनीतिलाई कुराको खेतीभन्दा माथि बुझ्न सकेका छैनौँ,’ उनले भने, ‘अब सबै युवाहरू विकास निर्माणका काममा योगदान गरेर आर्थिक विकासको अभियान चलाउनतिर लाग्नुपर्छ । उनले मुलुकमा सुशासन कायम गर्न नसक्ने हो भने हजारौं वर्षसम्म पनि मुलुकमा परिवर्तन गर्न नसकिने ठोकुवा गरे । ‘हामीसँग प्रशस्त स्रोत–साधन छ तर त्यसलाई उपयोग गर्न सकेका छैनौँ,’ अधिकारीले भने, ‘सबैभन्दा पहिला मुलुकको विकासका लागि हाम्रो सोँचमा परिवर्तन ल्याउन आवश्यक छ ।’ अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका अधिकारी पहिलो संविधानसभाका निर्वाचित सदस्य पनि हुन् । उनी पनि युवाबीच लोकप्रिय छन् । ‘मुलुक विगार्ने र बनाउने दुबै युवाका हातमा छ,’ उनले भने ।
भक्तपुर क्षेत्र नं. २ मा एमालेका तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार महेश बस्नेत पछिल्लो समय युवा माझ लोकप्रिय नेता बन्न सफल भएका छन् । उनी सबल, सम्बृद्ध र समुन्नत नेपाल निर्माण गर्न युवा जाग्नु पर्ने बताउँछन् । नेपालमा प्रत्येक वर्ष तीन लाख नेपाली युवालाई रोजगारी सिर्जना गर्ने एमालेको निर्णयलाई कार्यान्वयन गर्न आफूले विशेष भूमिका खेल्ने बताउँछन्, बस्नेत । तीब्र आर्थिक विकासमार्फत संवृद्ध नेपाल निर्माण गर्ने योजनामा सबै युवा लाग्नुपर्ने सुझाव पनि बस्नेतको छ । सुशासन सहितको स्थिर सरकार निर्माण गर्ने हो भने नेपालमा नसोचेको परिवर्तन आउने दाबी उनको छ । कृषि पेशालाई आधुनिकीकरण गर्नु पर्ने, भ्रष्टाचार उन्मुलन गर्नुपर्ने, रेमिट्यान्सलाई सदुपयोग गर्न नेपालमा युवा बैंकको स्थापना गर्नुपर्ने, धार्मिक पर्यटनको विकास गर्नुपर्ने जस्ता सुझाव बस्नेतको छ । बस्नेत युवा संघ नेपालका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया