चुनाव प्रचारमा कलाकार

Neer-Shahaकाठमाडौ, १३ कात्तिक । संविधानसभाको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता मात्र होइन, कलाकार पनि क्रियाशील हुन थालेका छन् । आफूनिकटका राजनीतिक दलका उम्मेदवारलाई जिताउन थुप्रै कलाकार दिन–रात खट्ने गरेका छन् । यसरी खट्नेमा अभिनेता भुवन केसीदेखि मदनदास श्रेष्ठसम्म छन् ।

४ मंसिरमा हुने संविधानसभाको निर्वाचनमा आºनो दलनिकटका उम्मेदवारलाई चुनाव जिताउन झन्डा बोकेर घरदैलो कार्यक्रम तथा चुनावीसभामा उपस्थित हुने गरेका छन् । एमाओवादी, कांग्रेस, एमाले र राप्रपा नेपालको चुनावी अभियानमा धैरै कलाकार लागेका छन् । कलाकारलाई चुनावी कार्यक्रममा सहभागी गराउँदा मत प्रभावित पार्न सकिने आँकलन गर्दै राजनीतिक दलले उनीहरूलाई प्रयोग गरेको हास्यकलाकार मनोज गजुरेल बताउँछन् ।
यतिबेला एमालेका प्रभावशाली नेता तथा उम्मेदवारलाई जिताउन थुप्रै कलाकारले कम्मर कसेका छन् । अभिनेता भुवन केसी, मनोज गजुरेल, नारद खतिवडा, सुदर्शन सिवाकोटीलगायत कलाकार चुनाव प्रचारमा होमिएका छन् । एमाले उम्मेदवारको घेरदैलो कार्यक्रम, पदयात्रा र कोणसभामा उनीहरूको नियमित उपस्थित हुने गरेको छ । काठमाडौं–२ बाट उम्मेदवार भएका नेता माधव नेपालको चुनावी प्रचार अभियानमा कलाकार दैनिक उपस्थित हुने गरेका छन् । त्यस्तै, एमालेका उम्मेदवार तथा महासचिव ईश्वर पोखरेल, रामेश्वर फुँयाल, निर्मल कुइँकेल र योगेश भट्टराईको चुनावी कार्यक्रममा कलाकार सक्रिय रूपमा लागेका छन् ।
त्यस्तै, एमाओवादीको चुनावी अभियानमा अभिनेत्री रेखा थापा, मौसमी मल्ल, चेतन सापकोटा, केपी पाठक, राजु केसी र लक्ष्मण श्रेष्ठ छन् । उनीहरूले अध्यक्ष पुष्पकमल दाहाल, दाहालपुत्री रेणु दाहाल, नन्दकिशोर पुन, हिसिला यमी, लीलामणि पोखरेललगायत एमाओवादी उम्मेदवारको प्रचारमा जुटेका छन् । राजधानीबाहिर क्रियाशील नभए पनि उनीहरू राजधानीमा भने दैनिक क्रियाशील हुने गरेका छन् ।
त्यसैगरी, कांग्रेसका उम्मेदवारलाई जिताउन नीर शाह, मदनदास श्रेष्ठ, किरण खरेल, नन्दकृष्ण जोशी, दीपकराज गिरीलगायत कलाकार प्रचार अभियानमा लागेका छन् । कलाक्षेत्रको संरक्षण कांग्रेसले मात्र गर्न सक्ने भन्दै उनीहरू कांग्रेस महामन्त्री तथा काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार प्रकाशमान सिंहको चुनावी अभियानमा जुटेका छन् । मंगलबार सिंहको घरदैलो कार्यक्रममा नीर शाह, मदनदास श्रेष्ठ, किरण खरेललगायत उपस्थित भएका थिए । त्यसैगरी, काठमाडौं–४ का उम्मेदवार गगन थापाको प्रचारमा पनि कलाकार दैनिक पुग्ने गरेका छन् ।

प्रतिक्रिया