निर्माता पौडेलका लागि भोट माग्दै कलाकारहरु

Uddab-Poudelकाठमाडौं : चलचित्र निर्माता उद्धव पौडेलको दैनिकी पछिल्ला दिनमा फेरिएको छ । अधिकांश समय चलचित्र निर्माणमै केन्द्रीत हुने गोपीकृष्ण मुभिजका मालिक समेत रहेका निर्माता पौडेल अहिले पनि दैनिक जसो जनताको घर दैलोमा देखिने गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर चार बाट उम्मेदवार बनेका पौडेल सधैं भोट माग्दै घर दैलो कार्यक्रममा व्यस्त छन् । पौडेललाई चलचित्रकर्मीहरुले पनि साथ दिएका छन् । बुधबारको घरदैलो कार्यक्रममा पनि उल्लेख्य संख्यामा चलचित्रकर्मीहरु निर्माता पौडेलसंगै घर दैलो कार्यक्रममा सहभागि थिए ।
बुधबार बरिष्ठ चलचित्रकर्मी अशोक शर्मा सहित कलाकारहरु गजित बिष्ट, एसराज गराच, रुपा राना, निर्देशकद्धय सुमन दाहाल, गोविन्द राई लगायतका चलचित्रकर्मीहरु पौडेलको घरदैलो कार्यक्रममा सहभागि भए ।
चलचित्रकर्मीहरुले मैतिदेवी, डिल्लीबजारलगायतका स्थानका मतदाताको घर घरमा गएर पौडेललाई भोट हाल्न आग्रह गरेका थिए । बरिष्ठ चलचित्रकर्मी शर्माले हरेक घर घरमा गई मतदातालाई देश बचाउन र धर्मको रक्षा गर्नका लागि भए पनि पौडेललाई मत दिन आग्रह गरिरहेका थिए ।
कलाकार रुपा रानाले समेत मतदातालाई राप्रपा नेपालका तर्फबाट उम्मेदवार बनेका निर्माता पौडेललाई मतदान दिन मतदातालाई आग्रह गरिन् । केहि दिन अघि कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल, आयुष रिजाल, सुमन सिंह, ज्ञानेन्द्र देउजा, गरिमा पन्त, नीता ढुंगाना, रमेश बुढाथोकी, सुरवीर पण्डित, सुनिल दत्त पाण्डे, सुब्रत आचार्य, अशोक धिताल, रबिन्द्र बराल, निर्मल शर्मा, माधव पण्डित लगायतका कलाकारहरुले पौडेलको पक्षमा भोट माग्दै घरदैलो कार्यक्रममा साथ दिएका थिए । उनीहरुले फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै देश, समाजसंगै फिल्म क्षेत्रकै हितका लागि संबिधान सभा निर्वाचनमा उम्मेदवारी दिएका पौडेललाई सबैले साथ दिनुपर्ने धारणा राखेका थिए । उम्मेदवार पौडेलले आफ्नो पक्षमा जनताको समर्थन रहेको दावी गरे । घरदैलो कार्यक्रममा सहभागि कलाकारहरुले पौडेललाई मतदान दिन आग्रह गरिएका पर्चाहरु वितरण गरेका थिए ।

प्रतिक्रिया