क्रिकेट एकेडेमीको उद्घाटन

Cricket-shankarकाठमाडौं, २१ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइराला, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य–सचिव युवराज लामाले हिमालयन क्रिेकट एकेडेमीको संयुक्त उद्घाटन गरेका छन् । बत्तीसपुतलीस्थित अंकुर विद्याश्रममा बनेको एकेडेमीको छेत्रफल ६ रोपनी चार आनामा फैलिएको छ । एकेडेमीमा तीनवटा पिच निर्माण गरिएको छ । स्कुलको समयमा स्कुलका खेलाडी तथा बाँकी समयमा अन्य इच्छुकले प्रशिक्षण लिने पाउनेछन् । करिब १२ लाखमा निर्मित एकेडेमीको सम्पूर्ण लगानी अंकुर विद्याश्रमले गरेको एनप्याब्सनका महासचिव एवं अंकुरका संस्थापक प्रिन्सिपल ऋतुराज सापकोटाले जनाएका छन् ।

कार्यक्रममा बोल्दै अर्थ मन्त्री कोइरालाले अन्तर्राष्ट्रिय पदकको सम्भावना रहेको खेललाई राज्यले विशेष प्राथमिकतामा राख्नु पर्ने बताउँदै क्रिकेट पनि धेरै सम्भावना बोकेको खेल भएकाले दुई ठाउँमा क्रिकेटको रंगशाला बनाउन तत्काललाई सांकेतिक रूपमा ५–५ करोड विनियोजन गरिएको जानकारी गराए । उनले खेलकुदलाई अत्तिरिक्त कृयाकलापका रूपमा हेर्ने धारणाबाट माथि उठेर अनिवार्य शिक्षाका रूपमा अगाडि बढाउनु पर्ने आवश्यकता औँल्याए । उनले वर्तमान खेलकुदको नेतृत्वले आशा लाग्दो काम गरिहेको बताउँदै खेलाडीले पनि खेलेरै बाच्न सक्ने वातवरण बन्दै गइरहेको बताए । उनले सम्मान गर्ने परम्पराले खेलाडीलाई उत्साहित तुल्याएको बताउँदै दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण विजेतालाई आवासका लागि २५ लाख दिने व्यवस्था अत्यन्त सराहनीय भएको बताए । उनले उक्त व्यवस्था अब जित्ने खेलाडीका लागि लक्षित हुनु त्रूतिपूर्ण भएको बताउँदै विगतामा तीन स्वर्ण जित्नेले पनि सो पुरस्कार पाउने गरी निर्णय सच्चयाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले राखेपले यस्का लागि आवश्यक कदम चाल्नु पर्ने बताए । सदस्य–सचिव लामाले खेलकुदलाई रूपान्तरण गर्नुपर्ने बताउँदै प्रत्येक विद्यार्थीलाई खेलकुदमा प्रवेश गराउन सके खेलकुदले उल्लेखनीय फड्को मार्ने विचार व्यक्त गरे । उनले एकेडेमीबाट राष्ट्रको प्रतिनिधित्व गर्न सक्ने प्रतिभावन खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । अंकुरका प्रिन्सिपल पुष्पराज सापकोटा एकेडेमीका अध्यक्ष छन् भने राष्ट्रिय क्रिेकट टोलीका पूर्वकप्तान विनोद दास र श्यामशनजंग थापाले एकेडेमीमा प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया