डेड अर्ब राजस्व संकलन

भक्तपुर, २१ असोज । आन्तरिक राजस्व कार्यालयले आव २०६९/०७० देखि आव २०७०/०७१ भदौ महिनासम्ममा एक अर्ब ६४ करोड ८९ लाख ६२ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले कुल एक अर्ब २७ करोड ३९ लाख ४५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ३४ करोड ६० लाख ७७ हजार राजस्व संकलन गरेको थियो ।
चालु आवको साउन र भदौ महिनामा मात्र कार्यालयले २८ करोड २७ लाख १३ हजार संकलन गर्ने लक्ष्य राखेकामा ३० करोड २८ लाख ८५ हजार राजस्व संकलन गर्न सफल भएको कार्यालयका प्रमुख उत्तमभक्त वाग्लेले बताए ।
आव २०६९/०७० देखि आव २०७०/०७१ असार मसान्तसम्म कार्यालयले आयकरतर्फ ५५ करोड २६ लाख पाँच हजारको लक्ष्य राखेकामा ६२ करोड ४० लाख ७६ हजार संकलन गरेको तथा बहाल करतर्फ तीन करोड ३४ लाख ७० हजार लक्ष्य राखेकामा तीन करोड ९७ लाख ५२ हजार संकलन भएको छ । त्यसैगरी ब्याज करतर्फ नौ करोड ३५ लाख लक्ष्य राखेकामा १२ करोड ९२ लाख नौ हजार संकलन भएको, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ४० करोड २२ लाख तीन हजार लक्ष्य राखेकामा ४० करोड १३ हजार संकलन भएको, अन्त: शुल्क करतर्फ १८ करोड ६७ लाख ७४ हजार लक्ष्य राखेकामा १४ करोड ६० लाख १० हजार संकलन भएको र शिक्षा सेवा करतर्फ ५३ लाख ९३ हजार लक्ष्य राखेकामा ७० लाख १७ हजार संकलन भएको उनले बताए ।
आव २०७०/०७१ सुरु भएको दुई महिना साउन र भदौमा कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । साउन र भदौ महिनामा कार्यालयले आयकरतर्फ १० करोड १२ लाख १८ हजारको लक्ष्य राखेकामा १३ करोड ६० लाख दुई हजार संकलन गरेको तथा बहाल करतर्फ ६६ लाख ६५ हजार लक्ष्य राखेकामा ८६ लाख ६९ हजार संकलन भएको छ ।
ब्याज करतर्फ दुई करोड ६१ लाख ६ हजार लक्ष्य राखेकामा तीन करोड ७९ लाख ७१ हजार सङ्कलन भएको, मूल्य अभिवृद्धि कर(भ्याट)तर्फ १२ करोड ३२ लाख ६४ हजार लक्ष्य राखेकामा नौ करोड २२ लाख ७९ हजार संकलन भएको, अन्त: शुल्क करतर्फ दुई करोड ५४ लाख १५ हजार लक्ष्य राखेकामा दुई करोड ३१ लाख ६५ हजार संकलन भएका, शिक्षा सेवा करतर्फ नौ लाख ७७ हजार लक्ष्य राखेकामा ३४ लाख २२ हजार संकलन भएको र स्वास्थ्य सेवा शुल्कतर्फ ८८ हजार लक्ष्य राखेकामा १३ लाख ९७ हजार संकलन भएको प्रमुख वाग्लेले बताए ।

प्रतिक्रिया