सुपरस्टारकै कारण चलचित्र चल्ने दिन गए

Akshya Kumarकुनै समय थियो, चलचित्रको कथावस्तुभन्दा पनि अभिनेता र अभिनेत्रीकै कारण दर्शकहरू हलसम्म पुग्थे । नयाँ कलाकारभन्दा पुराना र नाम चलेका कलाकारको अभिनय भए दर्शकहरूको ओइरो लाग्थ्यो । तर, समय अहिले उस्तै छैन । दर्शकहरू चलचित्रप्रति निकै सचेत भइसकेका छन् । अब उनीहरू चलचित्रमा कुन नायक नायिकाको अभिनय छ भनेर हेर्दैनन्, चलचित्रले कस्तो कथावस्तु समेटेको छ, त्यही आधारमा चलचित्रको मूल्यांकन गर्ने गरेको स्वीकार गर्छन्, बलिउडका सुपरस्टार अक्षर कुमार पनि । सुपरस्टार अक्षय भन्छन्, ‘अब सुपरस्टारको अभिनयकै कारण दर्शकहरू हलसम्म आउँदैनन् ।’ उनी अभिनित चलचित्र बोसको प्रमोसनमा रहेका नायक अक्षय सुपरस्टारका कारण नभई चलचित्र कथावस्तुकै कारण चल्ने गरेको बताउँछन् । स्टार अभिनेता अभिनेत्रीकै कारण चलचित्र चल्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताउने बलिउड स्टार अक्षय भन्छन्, ‘चलचित्र राम्रो हुनुपर्छ, कथा दमदार हुनुपर्‍यो नकी सुपरस्टारको चलचित्र भनेर हुन्छ ।
हो पहिला पहिला यस्तो हुन्थ्यो, सुपरस्टारको चलचित्र हलमा लागे मान्छे हेर्न आउँथे, बक्स अफिसमा धमाका पनि मच्चाउँथे । अब त्यस्तो छैन,’ बलिउड सुपरस्टार अक्षयअगाडि भन्छन्, ‘नयाँ कलाकारको चलचित्र भए त्यसले पनि अब धमाका मच्चाउन सक्छ ।’ त्यसैले कलाकारबीच विभेद हुनु ठीक नभएको उनी तर्क गर्छन् । नयाँ कलाकारहरूले समेत बलिउडमा दमदार उपस्थिति जनाइहेको स्वीकार गर्छन्, अक्षय ।
१६ अक्टुबरमा प्रदर्शनम आउन लागेको बोसमा अक्षयका साथै शिव पण्डित र अभिनेत्री अदिती राय हैदरी पनि प्रमुख भूमीकामा छिन् ।
एक्सन कमेडी चलचित्र बोसको निर्देशन एन्थनी डिसुजाले गरेका हुन् । उक्त चलचित्रको एक गीतमा सोनाक्षी सिन्हाको समेत अभिनय रहेको छ । (एजेन्सी)

प्रतिक्रिया